Friday, October 25, 2024

वाग्मती प्रदूषित हुनुमा सरकार र महानगर गैरजिम्मेवार रहेको आरोप

काठमाडौँ– चलचित्रकर्मीले सरकार र महानगरको गैरजिम्मेवारीले वाग्मती प्रदूषित बन्दै गएको आरोप लगाएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र चलचित्र निर्देशक समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘चलचित्रमा वाग्मती’ विषयक अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मीले नगरपालिकाले घरको नक्सा पास सेफ्टी ट्यांकी नभएकाको पनि गरिदिने र सरकारले आँखा चिम्लेर समर्थन गर्नाले वाग्मती प्रदूषित बन्दै गएको बताएका हुन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले वाग्मती किनारको जग्गा बेचेर खानेमा नापी कार्यालय र पशुपतिका विभिन्न गुठीका कर्मचारीको हात रहेको बताए ।
उनले भने, ‘राजनीतिक दलले वाग्मती किनारमा मत बैंकका रुपमा कार्यकर्ता राखेका छन, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीले दलका नेताको सहयोग नभई तिनलाई हटाउन सक्दैन, सरकारमा समेत जाने दलले हटाउन खोज्दैन,’ उनले भने ।
अधिकार सम्पन्न वाग्मतीले शिक्षा र सूचनामा बजेट खर्च नगर्दा पनि नदी स्वच्छ बनाउने काम हुन नसकेको खरेलको भनाइ थियो । चलचित्र निर्देशक मोहन निरौलाले वाग्मती प्रदूषित गर्नमा पहिलो जिम्मेवार सरकार त्यसपछि नगरपालिका रहेको ठोकुवा गरे ।
नदी अतिक्रमणमा नेता र प्रशासक दुवै संलग्न भएको निर्देशक निरौलाको भनाइ थियो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक नवल खड्का लगायतले नगरपालिकाले घरको नक्सा पास गर्दा ढल कहाँ हाल्ने भन्ने ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।
रासस

ताजा समाचार

सम्बन्धित समाचार