Friday, September 20, 2024

ढुंगा, गिट्टी, बालुवा उत्खनन सम्बन्धी मापदण्ड तयार हुँदैछ : सहसचिव अधिकारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुंगा, गिट्टी, बालुवा, ढुंगा लगायतका प्राकृतिक उत्खननको जिम्मा स्थानीय तहलाई दिने तयारी सुरु गरेको छ । यसअघि जिल्ला समन्वय समिति मार्फत ढुंगा,गिट्टी बालुवाको ठेक्का दिदै आएको थियो । नदीजन्य वस्तुको बाडफाँटको अधिकारको विषयमा केन्द्रित रहेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीसँ हाकाहाकीरेडियो सगरमाथाका लागि नवीन लुईटेलले गरेको कुराकानीः

नदीजन्य उत्खननको अधिकार स्थानीय तहले कहिलेदेखि पाउँछन् ?
स्थानीय शासन ऐन २०५५ ले नदीजन्य वस्तु गिट्टी, ढुंगा, बालुवा, लगायत सबैको ठेक्का दिने र कर लगाउने अधिकार तत्कालीन जिल्ला विकास समितिलाई दिएको थियो ।

नयाँ संविधान अनुसार अब यो स्थानीय सरकारको अधिकार क्षेत्रभित्र परेको छ । तर, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले त्यस्तो अधिकार गाउँपालिका अथवा नगरपालिकालाई प्रदान गरेको छ ।

गतवर्ष निर्वाचन सम्पन्न भएपछि यो अधिकारको प्रयोग कसरी गर्ने भन्ने सम्वन्धमा केही विषय थिए किनभने सबै तहको निर्वाचन सम्पन्न भईसकेको थिएन् । तर अहिले सबै स्थानीय तहले काम सुरु गरिसकेको छ । त्यसैले आउँदो आर्थिक वर्षदेखि नदिजन्य वस्तुको ठेक्का लगाउने काम नगरपालिका तथा गाउँपालिकाबाटै हुन्छ ।

दूरुपयोग रोक्न मन्त्रालयले के गर्छ ?
दूरुपयोगको कल्पना हामीले गरेका छैनौँ । जनप्रतिनिधीहरु आफैँमा सक्षम हुनुहुन्छ, उहाँहरुले यसको दूरुपयोग हुन दिनुहुन्न भन्ने हाम्रो विश्वास छ ।

त्यस्तो अवस्था देखियो भने हामीले एउटा निश्चित मापदण्ड बनाएर काम गर्नुपर्ने हुन्छ । ऐनले सो अधिकार दिईसकेको अवस्थामा कसरी उठाउने, कुन आधारले उठाउने, ठेक्का लगाउने प्रक्रियाहरु लगायतका विषयमा हामीले कार्यविधी र मापदण्ड तयार पारिरहेका छौं । कुनै पनि ढंगले दुरुपयोग नहुने र मापदण्ड या कार्यविधीको निर्माण भएको छ त्यसलाई फलो गरेपछि दुरुपयोग रोकिन्छ ।

नदीजन्य वस्तुका विषयमा स्थानीय तहहरुले कसरी समन्वय गर्छन् ?
कतिपय स्थानीय सरकारले समन्वय समेत गरीरहेका छन् । मोरङको उत्तर भेगमा रहेका गाउँपालिका र नगरपालिकाहरुका बीचमा नदीजन्य वस्तुहरुको उत्खनन् गर्ने, अनुमति दिने र कर उठाउने विषयमा राम्रो समन्वय भएको रहेछ । धेरै विषय मापदण्ड तथा कार्यविधीले नै निर्धारण गर्दछ ।

तेस्रो कुरा चाँही कुनै विवाद उत्पन्न भए त्यसलाई जिल्ला समन्वय समितिले यसलाई समन्वय गर्ने भन्ने व्यवस्था रहेको छ । त्यो भन्दा बढी विषय भएमा मन्त्रालयले समस्या समाधानको पहल गर्दछ ।

यसमा प्रदेश सरकारको भूमिका के रहन्छ ?
संविधानको अनुसूचीमा ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको कर निर्धारण प्रदेश कानूुन अनुसार हुने उल्लेख छ ।
त्यसैले प्रदेश सरकारले त्यसको करको निर्धारण गर्नुपर्ने हुन्छ र उठाउने काम कार्य स्थानीय तहले गर्नुपर्ने हुन्छ । प्रदेशमा कानुन बनेपछि सबै विषयको निक्यौल हुन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार