Friday, October 25, 2024

पत्रपत्रिकामा वातवारण : पहिरोको जोखिममा बस्ती, आरोहीलाई अक्सिजनमै धोका

काठमाडौं– आजका दैनिक पत्रपत्रिकाले सगरमाथा लगायत अन्य हिमाल र यससँग सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

नारायणगढ –मुग्लिन सडक विस्तारको क्रममा देखिएको पहिरोको जोखिम र बालुवा, गिटी, ढुंगाजस्ता प्राकृतिक उत्खननको जिम्मा स्थानीय तहलाई दिने तयारी गरेको खबर पनि प्रकाशित छ ।

कान्तिपुर दैनिकमा नारायणगढ –मुग्लिन सडक विस्तारको काममा वरपरका घरमा पहिरोको जेखिम बढेको समाचार प्रकाशित छ । ‘पहिरोको जोखिममा बस्ती’ शीर्षकमा रमेशकुमार पौडेलले लेखेको समाचारमा सडक विस्तारको काम सुरु भएसँगै पहिरोको जोखिममा परेका घरहरु सार्न तत्कालीन संसदको विकास समितिले दिएको निर्देशन अझै कार्यान्वयनमा नआएको उल्लेख छ। पहिरोको उच्च जोखिम रहेको कालिखोला क्षेत्र वरपरका बासिन्दा नै ठाउँ सर्न मानेका छैनन्।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले ५ वर्षमा दोब्बर पानी उत्पादन गरेर नगरवासीलाई वितरण गर्दै आएको खबर पनि कान्तिपुरमै छ। यता पानीको अभाव भएको ललितपुरको फोटोलाई कान्तिपुरले स्थान दिएको छ।

कान्तिपुरमा ‘२८ आरोही कञ्चनजंघा चुचुरोमा’ शीर्षकमा ताप्लेजुङबाट आनन्द गौतमले समाचार लेखेका छन्। यो सिजनको ३ दिनमा २८ जना आरोहीले ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको आरोहण गरेका हुन्। नेपाल, भारत, जर्मनी, ग्रिस र अष्ट्रेलिया लगायतका नागरिकले आरोहण गरेका छन्।

यसैगरी हिउँले गर्दा रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिकामा यार्चा टिप्न ढिलाइ भएको खबर पनि प्रकाशित छ।

‘आक्रमणकारीको खोजी तीव्र’ शीर्षकमा धनगढीबाट मोहन बुढाऐरले कान्तिपुरमा अघिल्लो दिनको फलोअप समाचार लेखेका छन्। कैलालीको बसन्ता जैविक मार्गमा अतिक्रमणकारीले आक्रमण गरी एक रेन्जर सहित २ जनालाई घाइते बनाएका थिए । ती आक्रमणकारीको खोजी तीव्र बनाउन त्यहाँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जिल्ला प्रहरी कार्यलयलाई निर्देशन दिइसकेको समाचारमा उल्लेख छ। यही खबरसँगै ‘जोखिममा जैविक मार्ग’ शीर्षकको खबर पनि कान्तिपुरमा छ।

‘हिमाल आरोहीलाई अक्सिजनमै धोका’ शीर्षकमा अन्नपूर्णमा समाचार प्रकाशित छ।

अक्सिजनकै कारण चुचुरो नजिकैबाट १९ आरोही फर्किएको सो खबरलाई छेटु शेर्पाले लेखेका हुन् । न्यूनतम आवश्यकता र सय प्रतिशत ग्यारेन्टी मानिने अक्सिजनले धोखा दिएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो नजिकैबाट १९ आरोही आधार शिविरमा ओर्लिएको समाचारमा उल्लेख छ। ज्यान जोखिममा परेपछि उनीहरू ८ हजार ६ सय मिटरबाट आधार शिविरमा ओर्लिएका हुन्। केही आरोहीले अरूले लगेको अक्सिजन प्रयोग गरी ज्यान बचाएको बताए। ज्यान जोखिममा परेर फर्किनेमा दशजना अमेरिकी आरोही र ९ जना शेर्पा गाइड छन्। आरोहणका क्रममा ८ हजार ६ सय मिटरमा पु¥याइएको समिट नामको अक्सिजनको ३९ बोटलमध्ये १० वटामा रेगुलेटरमा समस्या उत्पन्न भएको थियो ।

‘कार प्रयोगसँगै प्रदूषण घटाउने उपाय’ शीर्षकमा प्रदूषण न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने सुझाव सहितको सामग्री अन्नपूर्णमा प्रकाशित भएको छ । यस्तै मध्यतराईका इँटा व्यवसायी करको दायरामा आउन नसकेको समाचार पनि अन्नपूर्णमै छ ।

राजधानी दैनिकमा सगरमाथामा सात पटक चढेका दावाछिरी शेर्पा क्यान्सर रोगले थलिएको खबर छापिएको छ।

नागरिक दैनिकमा ‘स्थानीय तहलाई नदीजन्य उत्खनन जिम्मा दिइने’ शीर्षकमा समाचार छापिएको छ। खिलक बुढाथोकीले लेखेको समाचारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालुवा, गिटी, ढुंगाजस्ता प्राकृतिक उत्खननको जिम्मा स्थानीय तहलाई दिने तयारी गरेको उल्लेख छ । खोटाङको क्तिेल बजारमा प्रशोधित पानी आपूर्ति गरिने खबर नागरिकले प्रकाशित गरेको छ।

यसैगरी ‘सम्भावित जोखिम न्यूनिकरणका लागि तयारी’ शीर्षकमा लमजुङको खबर नयाँ पत्रिकामा प्रकाशित छ। यस्तै बाघको छाला कारोबारी र फिरौती असुली आरोपमा ६ जना पक्राउ परेको समाचार पनि सोही पत्रिकामा प्रकाशित छ।

ताजा समाचार

सम्बन्धित समाचार