Friday, October 25, 2024

नेपालको मनमोहक सुन्दरताले मलाई मोहित बनायो : अन्तरिक्ष यात्री मैगनस

लामो समयदेखि अन्तरिक्षको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं खोजलाई नै आफ्नो मुख्या पेशा बनाएकी डा. सान्द्रा मैगनस यति बेला नेपाल भ्रमणमा छिन्।

विशेषत ट्रेकिङ गर्ने र पर्यटकीय स्थलहरुको भ्रमण गर्ने उद्देश्यले उनी नेपाल भ्रमणमा आएकी हुन्। यतिबेला उनी काठमाडौंका स्कुल तथा कलेजका विद्यार्थीहरुलाई आफ्नो ज्ञान बाँडन व्यस्त छिन्।

उनले सन् २०१२ देखि सन् २०१८ जनवरीसम्म अमेरिकन इंस्टिच्युट अफ एयरोनाँटिक्स एण्ड एस्ट्रोनाँटिक्सको कार्यकारी निर्देशकको रुपमा समेत काम गरिन्। उनीसँग अमेरिकी स्पेस एजेन्सी ‘नासा’ मा पनि लामो समय काम गरेको अनुभव छ। त्यसैगरी हवाई यातायात र अन्तरिक्ष प्रशासनमा समेत उनले लामो समय काम गरिन्।

सन् १९९६ मा उनी नासाको एस्ट्रोनाँट्सको एक सदस्यको रुपमा चयन भइन र उनले पटक–पटक अन्तरिक्षमा  पुगेकी छन्। नासामा हुँदा उनले युरोपियन स्पेस एजेन्सी, जापानको एयर स्पेस एजेन्सीसँग पनि लामो समय काम गरिन्। उनी विभिन्न पुरस्कारबाट समेत सम्मानित भएकी छन्।  अन्तरिक्ष यात्री मागनससँग हाकाहाकीले गरेको कुराकानीको सम्पादीत अंशः

–तपाईको नेपाल भ्रमणको मुख्य उद्देश्य के हो?
म मुख्यतः ट्रेकिङ गर्ने र नेपालको सुन्दर स्थलहरुको अवलोकन गर्ने उद्देश्यले आएकी हुँ। नेपालमा रहेका हिमालहरु वास्तावमा नै राम्रा र मनमोहक छन्। र, तिनीहरुलाई नजिकबाट हेर्ने उद्देश्यले आएको हुँ।

–अहिलेसम्म कुन–कुन स्थानको भ्रमण गर्नुभयो?
मैले लाङटाङ उपत्यका र अन्नपूर्ण बेस क्याम्पसम्मको भ्रमण गरें। यी दुवै स्थान एकदमै सुन्दर र मनमोहक थिए। अन्नपूर्ण आधार क्षेत्र त वास्तवमै गजब छ। यी स्थानहरुको वर्णन गर्नका लागि मैले ‘मेजेस्टिक’ शब्दको प्रयोग गरें ।

–यो तपाईँको पहिलो नेपाल भ्रमण हो?
हो, यो मेरो पहिलो भ्रमण हो। दुवै क्षेत्रको भ्रमण गरेपछि मैले केही ठाउँ र स्कुलका विद्यार्थीहरुसँग साक्षात्कार गर्ने अवसर प्राप्त गरें। नेपालीहरु धेरै मित्रवत र सहयोगी पाएँ। विशेषगरी मैले केही हिमाली क्षेत्र, पोखरा र काठमाडौ उपत्यकाका विभिन्न स्थानहरुको भ्रमण गरेँ, त्यो सुन्दरताले मलाई निश्चय नै मोहित बनायो।

–तपाईले अन्तरिक्षको क्षेत्रमा धेरै काम गर्नुभएको छ, नेपालमा पनि केही गर्न चाहनुहुन्छ?
मेरो अहिले कतै पनि आवद्ध छैन र अवकाश पाइसकेको छु। अहिले म एउटा पर्यटकको रुपमा नेपाल आएको छु र केही विद्यालय तथा संस्थाहरुसँग काम गरिरहेको छु। विभिन्न स्कुलमा मैले पाएको ज्ञान बाँडिरहेको छु।

–अन्तरिक्षको क्षेत्रमा नेपालले के गर्न सक्छ?
वास्तवमा मैले के पाएँ भने अन्तरिक्षका विभिन्न ज्ञानले विद्यार्थीहरुलाई बढी नै उत्साहित बनाउने रहेछ।

त्यसले उनीहरुलाई विज्ञान र इन्जिनियरिङ लगायतका विषय अध्ययन गर्न प्रोत्साहन गर्छ। विज्ञान र इन्जिनियरिङ विषय पढेर सोही पेशामा नलागेपनि यो विषयमा केही ज्ञान हुनु र संसार कसरी चलिरहेको छ भन्ने ज्ञान हुनु आफैंमा निकै राम्रो कुरा हो।  खासमा यो विषयले विद्यार्थीहरुलाई उत्साहित वनाउने र प्रेरणा दिने काम गर्ने रहेछ।

–नेपाल यस क्षेत्रमा के–के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ?
सरकारले के गर्नुपर्छ र गरिरहेको छ भन्ने विषयमा म टिप्पणी गर्न सक्दिन्। सामुदायिक क्षेत्रले विद्यार्थीलाई यस विषयमा जानकारी दिनको लागि हामीले केही योगदान गर्नसक्छौं। विद्यार्थीहरुलाई यस विषयमा ज्ञान हुने हो भने उनीहरुले यो विषयलाई आफ्नो अध्ययनको विषय बनाउन सक्छन्।

ताजा समाचार

सम्बन्धित समाचार