ललितपुर– प्राकृतिक यार्सागुम्बाको गुण कायम राखेर कृत्रिम यार्सागुम्बा उत्पादन गर्न सकिने भए पनि नेपालमा भने कुनै पहल भएको छैन्।
बहुमूल्य जडीबुटी यार्सागुम्बाको कृत्रिम उत्पादन गरेर गुणस्तर कायम गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाएको छ। नाष्टमा कार्यरत वैज्ञानिक रामचन्द्र पौडेलले यार्सागुम्बा उत्पादन हुने अरू देशले कृत्रिम उत्पादन थालेको बताए। उनले भने, ‘हाम्रो देशमा धेरैलाई कृत्रिम रुपमा समेत उत्पादन हुन्छ भन्ने नै थाहा छैन।’
यार्सागुम्बाको संकलन तीव्र भएपछि कतिपय पाटन रित्तिँदै गएका छन्। रित्तिँदै गएका पाटनमा कृत्रिम रुपमा यार्सागुम्बा उत्पादन गर्न सकिन्छ। तिब्बतमा यार्सागुम्बा पाइने पाटन मरुभूमिमा परिणत भएपछि कृत्रिम उत्पादन थालेको छ। नेपालका धेरै यार्सागुम्बा पाइने ठाउँमा अहिले कम हुँदै गएको संकलकले बताउँदै आएका छन्।
उनी भन्छन, ‘विश्व बजारको माग धान्न र पाटनलाई मरुभूमि हुनबाट रोक्नका लागि कृत्रिम उत्पादन थाल्नुर्ने देखिन्छ।’ हिमाली जिल्लाका लागि बरदानका रुपमा रहेको यार्सागुम्बाले राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याएको छ। यार्सागुम्बा पाइने ठाउँमा अत्यधिक र अव्यवस्थित संकलन, जलवायु परिवर्तन लगायतका कारणले यार्सागुम्बा कम पाइन थालेको छ। रासस