Tuesday, April 22, 2025

काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौं–काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने एक अध्ययनले देखाएको छ। फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो।

केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा प्रसिद्धि कमाएका फान्सेली कम्पनीद्वय एडिपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौँ उपत्यकामा सञ्चालन गर्न सकिने स्पष्ट देखिएको छ।

फ्रान्स सरकारले द्विपक्षीय सहयोग अन्तर्गत तीन करोड ४० लाख खर्च गरेर तयार पारेको काठमाडौँ उपत्यका केबलकार परियोजना सम्भव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले अध्ययन टोलीका सदस्य, नेपाली निर्माण प्रतिष्ठानका प्रतिनिधि तथा फ्रान्सेली प्रतिनिधिमण्डलको उपस्थितिमा वुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका छन्।

संभाव्यता अध्ययन प्रतिवेदनका मुख्य विषयवस्तुबारे सम्बन्धित इन्जिनिर र दुईपक्षीय सहायताबारे राजदूत कार्मोनाको मन्तव्य सुनेपछि मन्त्री महासेठले केही सातापछि नेपाल सरकारको निर्णय सुनाउने वताए। ‘प्रतिवेदनबारे हामी गहन अध्ययन र छलफल गर्छाैं, सम्माननीय प्रधानमन्त्री र लगानी बोर्डमा पनि यसबारे विचारविमर्श गरिनेछ’, आगामी एक महिनाभित्र केबलकार निर्माण परियोजना टुंगो लगाइसक्ने दृढता व्यक्त गर्दै उनले भने।

कालीका समूहका प्रमुख कार्यकारी निर्देशक वत्सल पाण्डेले सार्वजनिक निजी साझेदारीअन्तर्गत उक्त परियोजना कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले आफ्नो समूहलाई फ्रान्सले अध्ययनमा समावेश गरेको जानकारी दिए। ब्लूलाइन केबलकार सेवा विष्णुमतिबाट प्रारम्भ भई हनुमानढोका दरबार क्षेत्र–रत्नपार्क–डिल्लीबजार–भण्डारखाल–चाबहिलहुँदै बौद्धनाथमा टुंगिनेछ।

जुनसुकै स्टेशनबाट यात्रा प्रारम्भ गरी जहाँ उत्रिए पनि हरेक नेपाली यात्रीले रु ४० भाडा तिर्नुपर्नेछ भने पर्यटकलाई त्यसैकिसिमको सेवाका निम्ति रु १५० शुल्क लाग्नेछ। त्यसैगरी गङ्गबु – बालाजु– सोह्रखुट्टे–कालिमाटी बल्खु– त्रिभुवन विश्वविद्यालय ‘रुट’ कायम हुनेछ भने कलंकी–टेकु–थापाथली–रत्नपार्क अर्को केबलकार मार्ग हुनेछ। लगनखेल–पुल्चोक–थापाथली–रत्नपार्कलाई पनि उक्त परियोजनाले समेटेको छ।

विश्व बैंक, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, युरोपेली लगानी बैंकजस्ता बहुपक्षीय संस्थाले काठमाडौँ उपत्यका केबलकार परियोजनामा लगानी गर्न अभिरुचि देखाएका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार