Tuesday, April 22, 2025

पाकिस्तानमा तातो हावाका कारण ६५ को मृत्यु

पाकिस्तान– पाकिस्तानको दक्षिणी शहर कराँचीमा तातो हावाको कारण तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको छ ।

सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ ।

उक्त इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मङ्गलबार जानकारी दिए अनुसार ती क्षेत्रमा अहिले पनि कडारुपमा तातो हावा चलेको छ । यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् ।

इदहीका अनुसार तातो हावाको कारण ज्यान गुमाउने आफ्नै घरमा कुनै चिकित्सकीय उपचार बिना बस्ने गरेका स्थानीय नागरिकहरु रहेका छन् । यस प्रकारका ज्यान गुमाउने सबैभन्दा कम उमेरकामा छ वर्षीय बालकदेखि बढी उमेरकामा ७८ वर्षीया वृद्धसमेत रहेका बताइएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागले कराँचीमा एक हप्तासम्म ४३ वा ४४ डिग्री सेल्सियससम्म तापक्रम रहने चेतावनी दिएको छ । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सन् २०१५ मा तातो हावाबाट कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार