काठमाडौं– आँधीखोलाको स्याङ्जा गल्याङस्थित खण्डमा गत वैशाख २१ गते राति एमोनियायुक्त विषाक्त कुखुराको सुली मिसाउँदा एक करोड बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भीक ठहर गरेको छ।
भिरकोट नगरपालिका–६ मा सञ्चालित खिलुङ कालिका एग्रो फार्मले सुली मिसाएपछि छानबिनका लागि गठीत समितिले १२ देखि १३ टन माछासहित जलचर प्राणी सखाप भएको र १ करोड १७ लाख बराबरको क्षति भएको ठहर गरेको हो।
‘आँधीखोलामा स्थानीयसँगै विकसित जातका माछा थिए। तर, खोलामा कति मात्रामा थिए भनेर एकीन गर्न नै गाह्रो भयो,’ छानबिन समितिकी संयोजक एवं गल्याङ नगरपालिकाकी उपमेयर देवीसरा थापाले भनिन्, ‘प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र सरोकारवालासँगको छलफल एंव तथ्यांक केलाएर क्षतिको अनुमान गरेका हौं।’
उनका अनुसार फार्मबाट निस्कने सुली आँधीखोलामा मिसाउँदा गल्याङको वडा नम्बर ३, ७ र ११ प्रभावित भएका थिए।
‘अब नगरपालिका जलचर संरक्षणलाई प्राथमिकतामा राखेर अगाडि बढछ।’
तीनवटै वडाका अध्यक्ष र सरोकारवालाले आँधीखोलामा भएको क्षतिको विवरण संकलन गरेका थिए। जसमा वडा नम्बर ३ ले १२ देखि १३ टन माछासहित जलचर सखाप भएको र १ करोडको क्षति भएको विवरण छानबिन समितिलाई दिएको छ, भने वडा नम्बर ७ ले १ करोड १७ लाख तथा वडा नम्बर ११ ले १ करोड बराबरको क्षति भएको विवरण उपलब्ध गराएको समितिकी संयोजक थापाले बताइन्। तीनवटै वडाले समग्र क्षतिको विवरण उपलब्ध गराएका हुन्।
तीनवटै वडाका अध्यक्ष जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा गठीत छानबिन समितिमा छन्। ‘तीनवटै वडाले उपलब्ध गराएको क्षतिको विवरणलाई आधार मानेर थप छानबिन भइरहेको छ,’ उनले भनिन्, ‘मत्स्य विज्ञलाई पनि बोलाएका छौं। केही दिनमै प्रशासनमा प्रतिवेदन बुझाउँछौं।’
केही महिना अघि आँधीखोला जलविद्युत आयोजनाले आँधीखोलामा एक लाख ५० हजार माछाका भुरा हालेको थियो।
उपमेयर थापाले नदीमा विषादीको प्रयोग गरी माछा मार्ने प्रवृत्तिलाई पनि निरुत्साहत गर्न नीति अबलम्बन गरिने बताइन्। ‘नसोचेको घटना भयो, दोषीमाथि कारबाही र जलचर संरक्षणका लागि प्रतिवेदन बुझाउनेछौं,’ उनले भनिन्, ‘अब नगरपालिका जलचर संरक्षणलाई प्राथमिकतामा राखेर अगाडि बढछ।’
फार्मले खोलामा सुली मिसाएर माछा मरेपछि पानी सफा गर्न चुना हालिएको थियो।
‘कारक एमोनिया’
अक्सिजनको मात्रा न्यून र एमोनियाको मात्रा अधिक हुँदा आँधीखोलामा माछासहित जलचर मरेको केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंले पुष्टि गरेका बेला मिर्मीस्थित मत्स्य विकास केन्द्रले पनि सोही अनुसारको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाउने तयारी गरेको छ।
घटना भएको ४८ घण्टा पछि लिएको ड्यामसाइडको पानीको नमूना परीक्षण गर्दा अक्सिजनको मात्रा प्रतिलिटर १ मिलिग्राम, एमोनिया १ दशमलव शुन्य ८ देखि २ दशमलव २ मिलिग्रामसम्म र धमिलोपन प्रतिलिटर १५ मिलिग्रामसम्म पाइएको मिर्मीस्थित मत्स्य विकास केन्द्रका मत्स्य विकास अधिकृत भीम पाण्डेले जानकारी दिए। ‘क्षतिको विवरण प्रतिवेदन तयार भएपछि प्रशासनलाई बुझाउने छौं,’ उनले भने।
मिर्मीले गरेको परीक्षण नै आधिकारिक हुन्छ।
२७ वैशाखमा केन्द्रीय प्रयोगशालाले परीक्षण गर्दा एमोनियमको मात्रा प्रतिलिटर ० दशमलव ०५ मिलिग्राम, एमोनियाको ० दशमलव ०१७ मिलिग्राम, धमिलोपना ३८ दशमलव ७ मिलिग्राम र अक्सिजन ३ दशमलव ५ मिलिग्राम रहेको पाइएको थियो।
केन्द्रीय मत्स्य प्रयोगशाला काठमाडौंका वरिष्ठ मत्स्य विकास अधिकृत श्रवणकुमार चौधरी भन्छन्, ‘संकलन गरेर ल्याएको पानीको नमूना परीक्षण गर्दा वास्तविक विवरण आउँदैन। मिर्मीले गरेको परीक्षण नै आधिकारिक हुन्छ।’
उनका अनुसार सामान्यतः एमोनियम र एमोनियाको मात्रा प्रतिलिटर ० दशमलव ०२५ देखि ० दशमलव ०३० मिलिग्राम, धमिलोपना २५ दशमलव ६ मिलिग्राम र अक्सिजनको मात्रा कम्तिमा ५ मिलिग्राम हुनुपर्छ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रतिवेदन आएपछि कारबाही अगाडि बढाइने बताए। प्रशासनले खिलुङ कालिका एग्रो फर्मका कार्यकारी प्रमुख शोभाकान्त ढकाल, स्काभेटर चालक कृष्ण परियार, डिल्लीराम अधिकारी र सन्तोष अर्याललाई जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको छ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोमा पनि ‘नगरपालिकाको जिम्मामा छोडिएको’ प्रजिअ निरौलाले बताए। उनका अनुसार जलचर संरक्षण ऐन २०१७ ले नियन्त्रणमा लिएको व्यक्तिलाई स्थानीय सरकारमा बुझाउने व्यवस्था भए अनुसार बुझाइएको हो।
जलसंरक्षण ऐन २०१७ (संशोधन २०७४ मंसिर) अनुसार हानिनोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। हानि नोक्सानीको मूल्यांकन गर्दा प्राविधिक अधिकारीलाई संलग्न गराउनुपर्नेछ। स्थानीय सरकारको फोहोरमैला ऐनअनुसार कसुर हेरेर पनि कारबाही तथा जरिवाना गर्न सक्नेछ।
यो पनि पढ्नुस्
कसले मिसायो आँधीखोलामा एमोनिया?
आँधीखोलाका माछा एमोनियाले मरेकोे पुष्टि