बाँकेमा बाघको संख्या दोब्बर, वनमा निर्भर बस्तीमा बढ्दो त्रास

रूपा गहतराज
२८ भदौ, नेपालगञ्ज ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुमचौरीका ६१ वर्षीय मरिचमान भण्डारी १९ पुस, २०८२ मा चौरी सामुदायिक वनमा गोरू चराउन गएका थिए । बिहान खाना खाएर करिब १२ बजे घरबाट निस्केका उनी रात पर्दासम्म पनि फर्किएनन् । बाघको आक्रमणमा उनको ज्यान गयो ।

३ छोरा र २ छोरीका पिता मरिचमानको मृत्यु भएको १ वर्ष पुग्न लाग्दासमेत उनको परिवार त्यही गाउँमा त्रासमा बाँचिरहेको छ । मरिचमानका भाइ चुर्न भण्डारी त्यो दिन अझै बिर्सन सकेका छैनन् । ‘दाइ त मरेर जानुभयो, जे नहुनु भइगयो । तर अहिले पनि हामी त्रासमै बाँचिरहेका छौं,’ उनले भने, ‘बाघ बढ्यो भन्ने खबरले अहिले गाउँमै त्रास बढेको छ ।’

वडा सदस्यसमेत रहेका चुर्न भण्डारीका अनुसार सरकारले बाघको संख्या बढाउन धेरै मेहनत गरे पनि स्थानीयको सुरक्षा सुनिश्चित गर्न पर्याप्त ध्यान दिएको छैन । गाउँमा करिब १ हजार ४ सय घरधुरी छन् । आसपास सामुदायिक वन र निकुञ्ज क्षेत्र भएकाले स्थानीयको दैनिकी वनसँग जोडिएको छ ।

‘जोखिम स्थानको पहिचान गरी जोखिम स्थानमा राम्रोसँग तारजाली गर्न आवश्यक छ,’ उनले भने, ‘सबैजना किसान घाँसदाउरा गर्न जंगल जानैपर्छ । त्यो जोखिम कम गर्न राज्यले जीविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम ल्याउन जरूरी छ ।’

राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष एमबहादुर खड्का बाघको आक्रमणको जोखिमबाट जोगिन बस्ती व्यवस्थापनबारे पनि सरकारले सोच्नुपर्ने बताउँछन् । ‘बाघ संरक्षण गर्नु राम्रो कुरा हो । यसमा मध्यवर्ती क्षेत्रको लगानी बढी छ । राज्यले यो कुरा मनन गर्नुपर्छ ।

तर बाघको संख्या बढ्दा मध्यवर्ती क्षेत्रका जनता नै प्रभावित भइरहेका छन्,’ उनले भने, ‘त्यसैले सुरक्षित ठाउँमा हामीहरूलाई स्थापित गर्न जरूरी छ । यो कुराको पनि लेखाजोखा हुन जरूरी छ । बाघ किन र केका लागि जोगाउने भन्ने कुरा जनतालाई बुझाउन पनि जरूरी छ ।’

मरिचमानको मृत्यु र उनको परिवारको त्रास एउटा उदाहरण मात्र हो । स्थानीय समुदाय, सामुदायिक वन र मध्यवर्ती क्षेत्रका बासिन्दाको योगदानले बाँकेमा बाघ संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यही संरक्षणका कारण बाँकेमा बाघको संख्या उल्लेख्य बढेको छ । तर संरक्षणको सफलता बढ्दै जाँदा बाघ र मानिसबीचको द्वन्द्वको चुनौती पनि सँगसँगै बढेको छ ।

बाँकेमा बाघको संख्या २५ बाट ५१ पुग्नु संरक्षणको ठूलो उपलब्धि हो । तर अब चुनौती बाघको संख्या बढाउनु मात्र होइन, बाघसँगै बसिरहेका मानिसको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने बनेको छ । नेपालले बाघको संख्या वृद्धि गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा संरक्षणको छवि बलियो बनाएको छ । तर संरक्षणकै स्तरमा वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षति रोक्न प्रभावकारी पहल नहुँदा निकुञ्ज आसपासका बासिन्दाको सरकारमाथिको विश्वास कम हुँदै गएको र आलोचना बढ्दै गएको स्थानीयको गुनासो छ ।

पछिल्ला वर्षका तथ्यांकले वन्यजन्तुको आक्रमणबाट मृत्यु र घाइते हुने घटना तथा खेतीबालीमा हुने क्षति बढ्दै गएको देखाउँछन् । बाघको आक्रमणको जोखिम भएका क्षेत्रमा बस्ने मानिसको वनजंगलप्रतिको निर्भरता कम गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज पहिलेदेखि उठ्दै आएको छ ।

तर स्थानीय ममता थापा मगरका अनुसार त्यसमा प्रभावकारी पहल हुन सकेको छैन । ‘सरकारी निकायहरू ‘मान्छेको मृत्यु भएमा राहत र घाइतेलाई औषधि उपचार खर्च दिने व्यवस्था छँदै छ त’ भनेर आक्रमणका घटनामा खासै गम्भीर देखिँदैनन्,’ उनले भनिन् ।

आर्थिक वर्ष २०८२/८३ मा बाँकेमा ३ जनाले बाघको आक्रमणबाट ज्यान गुमाइसकेका छन् । तर स्थानीय तह, प्रदेश र संघीय सरकारले सञ्चालन गरेका कार्यक्रम दीर्घकालीन समाधानभन्दा ‘तत्काल थामथुम’मा केन्द्रित रहेको स्थानीयको गुनासो छ । संघीय सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ दिने व्यवस्था गरेको छ । तर जोखिम न्यूनीकरणका प्रभावकारी उपाय पर्याप्त नभएको उनीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेश वन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि १ करोड २४ लाख ३८ हजार रूपैयाँ खर्च गरिएको थियो । चालु आर्थिक वर्षमा करिब २ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त रकमबाट प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

बाँके निकुञ्जमा सन् २०२२ मा २५ बाघ थिए । राष्ट्रिय बाघ सर्वेक्षण २०२६ को नतिजाअनुसार अहिले बाँकेमा बाघको संख्या ५१ पुगेको छ । बाँके र आसपासका वन क्षेत्रलाई कम्प्लेक्समा विभाजन गरी बाघको गणना गरिएको थियो ।

बाँकेमा सन् २०१३ मा बाघको संख्या ४ थियो । सन् २०१८ मा बढेर २१ पुगेको थियो । त्यसपछि सन् २०२२ मा २५ पुगेको संख्या अहिले ५१ पुगेको हो । बाँके निकुञ्ज प्रमुख वीरेन्द्र कँडेलका अनुसार बाघको आहारा प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापन गरिएकाले बाघको संख्या बढेको हो ।

घाँसे मैदान र बासस्थान व्यवस्थापनले बाघका लागि आवश्यक चितल, नीलगाई, चौका र जरायोजस्ता आहारा प्रजातिको संख्या बढाउन सहयोग पुगेको उनले बताए । ‘हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौं र केही स्थानमा सोलार प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौँ,’ उनले भने ।

बाघबाट हुने क्षति कम गर्न र चोरी–सिकार नियन्त्रणका लागि निकुञ्ज सधैं चनाखो रहेको कँडेलले बताए । बाघको बासस्थान आसपास कृत्रिम पानीपोखरी निर्माण गरी वन्यजन्तुलाई निकुञ्जभित्रै पानी उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ ।
सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा २८ असार, २०६७ मा घोषणा भएको हो ।

निकुञ्ज ५ सय ५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ भने यसको मध्यवर्ती क्षेत्र ३ सय ४३ वर्गकिलोमिटर छ । निकुञ्ज बाँके, दाङ र सल्यान जिल्लामा फैलिएको छ । यसको पूर्वी सिमाना शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत राजमार्ग, उत्तरमा चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्ग रहेको छ । यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण बासस्थानका रूपमा रहेको छ ।

यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिस्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३ सय भन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा, २२ प्रजातिका सरीसृप तथा ६ प्रजातिका उभयचर पाइन्छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन् ।

निकुञ्ज स्थापनाको मुख्य उद्देश्य पाटेबाघको बासस्थान तथा जैविक मार्ग संरक्षण गर्नु हो । संरक्षणका प्रयाससँगै बाघको संख्या वृद्धि भएपछि बाँके पछिल्लो समय नेपालको महत्वपूर्ण बाघ बासस्थानका रूपमा स्थापित हुँदै गएको छ ।


संरक्षणको सफलता, द्वन्द्वको चुनौती

प्रभावकारी संरक्षण, बासस्थान सुधार तथा जैविक मार्ग संरक्षणका कारण बाँके निकुञ्जमा बाघको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको हो । बाघ संरक्षणलाई प्राथमिकतामा राख्दै बासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने करिडोर संरक्षणका प्रयासले बाघको संख्या बढाउन सहयोग पुगेको छ ।

संरक्षणकर्मी आशिष चौधरीका अनुसार सामुदायिक वन, गैरसरकारी संस्था, साझेदारी संस्था, विज्ञ तथा डिभिजन वन कार्यालयलगायत निकायको संयुक्त पहलले बाघ संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ । चुरे–भावरको भौगोलिक बनोट, खोलानाला, बासस्थान सुधार र संरक्षणका कार्यक्रमका कारण बाघको संख्या बढेको उनको भनाइ छ । ‘बाघको संख्या २५ बाट ५१ पुग्नु संरक्षणको महत्वपूर्ण उपलब्धि हो । बाघ बढेसँगै बाँकेलाई वाइल्डलाइफको नक्सामा स्थापित गर्ने अवसर पनि प्राप्त भएको छ,’ चौधरीले भने ।

तर बाघको संख्या बढेसँगै संरक्षणमा नयाँ चुनौतीसमेत थपिएको उनले बताए। विशेषगरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्र पहिचान गरी समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

चौधरीका अनुसार बाघको उपस्थिति निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मात्र सीमित छैन । निकुञ्जबाहिरका डिभिजन वन कार्यालयअन्तर्गतका वन क्षेत्रमा समेत बाघ देखिन थालेकाले संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको दायरा विस्तार गर्न आवश्यक छ । ‘अब मध्यवर्ती क्षेत्रमा मात्र लगानी गरेर पुग्दैन । बाघको उपस्थिति भएका क्षेत्र पहिचान गरी डिभिजन वन कार्यालयमार्फत मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ,’ उनले भने ।

बाघको बासस्थान र आवतजावत गर्ने जैविक मार्गमा बढ्दो मानवीय गतिविधि अर्को चुनौतीका रूपमा देखिएको संरक्षणकर्मीहरूको भनाइ छ । ‘जहाँ जोखिम बढी छ, त्यहाँ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम बढाउनुपर्छ । त्यसबाट संरक्षणमा लाग्न समुदायलाई उत्प्रेरणा मिल्छ,’ उनले भने ।

वन्यजन्तुबाट हुने दुःखद घटना कम गर्न वनमा आश्रित हुने परिपाटी घटाउनुपर्ने, आवश्यक परेको समयमा वन क्षेत्रमा जाँदा सावधानी अपनाउनुपर्ने चौधरीको भनाइ छ । मध्यवर्ती वनमा हुने अनियन्त्रित प्रवेश नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए । ‘घाँसदाउरा गर्न जाने हो भने त्यो क्षेत्र अलि खुला हुनुप-यो । वन समितिले अनावश्यक झाडी राख्न भएन ।

बाघ बस्ने क्षेत्र र स्थानीयले घाँसदाउरा गर्ने क्षेत्र अलग बनाउने र त्यो दायरा नाघेर नजाने हो भने बाघसँग जम्काभेट हुने खतरा घट्छ,’ चौधरीले भने, ‘एक्लै नभएर समूहमा जाने, बिहान र साँझभन्दा दिउँसो जंगल जाने गरे आक्रमणको जोखिम कम हुन्छ । आयआर्जनको वैकल्पिक उपाय अपनाउन र सचेतना बढाउन आवश्यक छ ।’ उनले सामुदायिक वनले ब्लक नै छुट्याएर स्थानीयको वन प्रयोग व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

बाघको बासस्थान र आवतजावत गर्ने करिडोर संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने चौधरीको भनाइ छ । ‘बाघ हिँड्ने करिडोर संरक्षण गर्न जरूरी छ । सहरीकरण, नहर, विकास र खानेपानी योजनाका कारण करिडोरहरू अतिक्रमित हुँदै गएका छन् । त्यसैले वैज्ञानिक आधारमा बाघको बासस्थान र करिडोर सीमांकन गर्नुपर्छ,’ उनले भने ।

समस्याग्रस्त क्षेत्रमा उद्धार, पुनःस्थापना र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए। बाघ बढ्दै जाँदा उत्पन्न हुने मानव–वन्यजन्तु द्वन्द्वलाई एकीकृत रूपमा सम्बोधन गर्न संरक्षणमा संलग्न सबै निकायबीच एउटै नीति र प्रभावकारी समन्वय आवश्यक रहेको चौधरीको भनाइ छ ।

उनले बाँके र बर्दियामा बाघ संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय, सामुदायिक वन तथा अन्य साझेदार संस्थाबीच समन्वय अझ बलियो बनाउनुपर्ने बताए । संरक्षणका कार्यक्रम बाघमा मात्र केन्द्रित नभई समग्र वन्यजन्तुको बासस्थान, आहारा प्रजाति, घाँसे मैदान र पानीका स्रोतको व्यवस्थापनमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

वनमा पानी र आहाराको व्यवस्थापन

बाघको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बाँके निकुञ्ज चुरे र भावर पारिस्थितिक प्रणालीको प्रतिनिधि क्षेत्र हो । यहाँको भौगोलिक बनावटका कारण सतहमा पानीको उपलब्धता न्यून रहने भएकाले सुक्खायाममा वन्यजन्तुले पानीको अभाव झेल्ने गरेका थिए । बाँके राष्ट्रिय निकुञ्जले निर्माण गरेका ३० वटा कृत्रिम पोखरीले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहेको पानी अभावको समस्या समाधान गर्न सहयोग पुगेको निकुञ्जको भनाइ छ ।

निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको संख्या घटेको दाबी गरिएको छ । निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्था पनि सुधार आएको छ । निकुञ्जमा प्राकृतिक रूपमा पानीका मुहान चगाई नाला र मुगुवा खोला रहेका छन् । यसबाहेक वर्षभरि पानी रहने भरपर्दो प्राकृतिक स्रोत नहुँदा वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्कने अवस्था थियो ।

यस समस्यालाई समाधान गर्न निकुञ्जले सौर्य ऊर्जामा आधारित डिप बोरिङ प्रणाली जडान गरी कृत्रिम पोखरीमा पानी भर्ने व्यवस्था गरेको छ । यस प्रविधिमार्फत निकुञ्जको करिब ७२ किलोमिटर क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गरिएको छ । पानीसँगै घाँसे मैदानको व्यवस्थापनमा सुधार भएपछि वन्यजन्तुका लागि आवश्यक आहारा र बासस्थान दुवैको अवस्था सुदृढ बनेको छ ।

निकुञ्ज प्रमुख कँडेलका अनुसार निकुञ्जभित्र पानी र आहाराको पर्याप्त व्यवस्था भएपछि बाघको मुख्य आहारा मानिने चितल, चौका, रतुवा, नीलगाई र जरायोलगायत वन्यजन्तुको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । ‘विगतमा पानी र आहाराको अभावका कारण बाँके, दाङ र सल्यानका मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा पुग्ने वन्यजन्तु अहिले निकुञ्जको कोर क्षेत्रमै केन्द्रित हुन थालेका छन्,’ उनले भने, ‘यसले मानव–वन्यजन्तु द्वन्द्व घटाउनुका साथै स्थानीय बासिन्दामा सुरक्षा र विश्वासको भावना बढाएको छ । कृत्रिम पोखरी निर्माणको यो अभ्यासले वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन र स्थानीय समुदायको सुरक्षालाई मजबुत बनाएको छ ।’

बाघको आक्रमणबाट हुने मृत्युका घटना निकुञ्जभित्रभन्दा मध्यवर्ती र अन्य राष्ट्रिय वन क्षेत्रमा बढी हुने एक अध्ययनले देखाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा उप–महानिर्देशक बेदकुमार ढकाल, वन्यजन्तु विज्ञ बाबुराम लामिछानेसहित नरेश सुवेदी, ठाकुर सिलवाल, सञ्जय कँडेल र अन्य अनुसन्धानकर्ताको अगस्ट १६ मा ‘इकोलोजी एण्ड इभोलुसन’ जर्नलमा प्रकाशित संयुक्त अनुसन्धान लेखमा निकुञ्जभन्दा मध्यवर्ती र अन्य राष्ट्रिय वनमा बाघ आक्रमणका घटना बढी भएको उल्लेख छ ।

देशव्यापी रूपमा गरिएको उक्त अध्ययनले मानिस घाँसदाउरा गर्न, गाईवस्तु चराउन वा वनबाट अन्य स्रोत संकलन गर्न जाने मध्यवर्ती र राष्ट्रिय वनमै बाघ आक्रमणका अधिकांश घटना हुने गरेको देखाएको छ । अध्ययनमा सन् २०१० देखि २०२४ सम्म देशभर भएका २ सय ४५ बाघ आक्रमणका घटनामा १ सय ४१ जनाले ज्यान गुमाएका छन्। बाघको आक्रमणमा पर्ने पुरूष धेरै भए पनि मृत्युको जोखिम महिलामा बढी देखिएको अध्ययनमा उल्लेख छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेका अनुसार संरक्षणका लागि गरिएका पहलकै कारण पछिल्ला वर्षमा बाघको संख्या बढेको हो । ‘संरक्षण बढेपछि बाघको संख्या पनि बढेको छ,’ उनले भने, ‘बाघले मानिसलाई आक्रमण गर्न स्वाभाविक रूपमा चाहँदैन । तर विशेष परिस्थितिमा आक्रमणका घटना बढेका छन्, तिनले संरक्षणमा चुनौती थपेका छन् ।’

बाँके, बर्दियाका निकुञ्ज र वन क्षेत्र आसपासका बासिन्दाको दैनिकी वनमा निर्भर छ । आक्रमणका घटनाहरू केलाउँदा घाँस काट्न, दाउरा खोज्न, तरकारी टिप्न जंगल पसेका मानिसहरू नै बाघको निशानामा सबैभन्दा बढी परेको देखिन्छ । तुम्बाहाम्फेका अनुसार यस्ता घटनामा प्रायः जंगल क्षेत्र र मध्यवर्ती क्षेत्र आसपास एक्लै काम गर्ने व्यक्ति र महिलाहरू बढी जोखिममा पर्छन् ।

बाघको संख्या वृद्धि कायम राख्न बासस्थानसँगै आहारा प्रजाति, घाँसे मैदान र पानीका स्रोतको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । ‘बाघले खाने आहारा प्रजातिको संख्या बढाउन मात्र होइन, ती आहारा प्रजातिले खाने घाँसे मैदान पनि बढाउन जरूरी छ । पानीपोखरी पर्याप्त मात्रामा निर्माण तथा संरक्षण गर्नुपर्छ,’ उनले भने ।

उनका अनुसार बाघको उपस्थितिले प्राकृतिक सन्तुलन कायम राख्न, पानीका स्रोत संरक्षण गर्न तथा वनजंगल र चोरी–सिकारी नियन्त्रणमा समेत सकारात्मक प्रभाव पार्छ। त्यसैले समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाघप्रति सकारात्मक धारणा निर्माण गर्न आवश्यक रहेको उनले बताए ।

‘बाघ बढेसँगै वन्यजन्तुको आहारा व्यवस्थापनमा थप काम गर्नुपर्ने देखिएको छ । पानीपोखरी पर्याप्त मात्रामा बढाउनुपर्छ र आहारा प्रजातिको संख्या पनि बढाउन लाग्नुपर्छ,’ उनले भने, ‘बाघले खाने आहारा प्रजाति बढाउनु मात्र पर्याप्त हुँदैन । ती प्रजातिका लागि आवश्यक घाँसे मैदान र बासस्थानको व्यवस्थापन पनि सँगसँगै गर्नुपर्छ ।’

देशभर ४ सय २९ बाघ

राष्ट्रिय बाघ सर्वेक्षणको पछिल्लो नतिजाअनुसार नेपालमा पाटेबाघको संख्या ४ सय २९ पुगेको छ । अघिल्लो गणनामा देशभर ३ सय ५५ बाघ थिए । यसपटक ७४ बाघ थपिएका हुन् । बर्दियाबाहेक अन्य सबै निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२२ को गणनामा ४१ बाघ रहेकामा अहिले ७१ पुगेका छन् । बाँकेमा २५ बाट बढेर ५१ र शुक्लाफाँटामा ३६ बाट बढेर ५० पुगेका छन् ।

बर्दियामा भने अघिल्लो गणनामा १ सय २५ बाघ रहेकामा अहिले १ सय १२ मा झरेको छ । चितवन निकुञ्ज र आसपासको क्षेत्रमा बाघको संख्या १ सय २८ बाट बढेर १ सय ४५ पुगेको छ ।

समस्याग्रस्त बाघको अर्को चुनौती

बाघको संख्या बढेसँगै समस्याग्रस्त वा घाइते अवस्थामा उद्धार गरिएका बाघको व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको छ । वन्यजन्तु संरक्षणका लागि उद्धार गरिएका बाघलाई सुरक्षित रूपमा राख्नु आवश्यक भए पनि प्राकृतिक बासस्थानमा स्वतन्त्र रूपमा विचरण गर्ने बाघलाई लामो समय केजमा राख्नुपर्दा व्यवस्थापन, स्वास्थ्य, व्यवहार तथा आर्थिक पक्ष चुनौतीका विषय बन्ने गरेका छन् ।

बाँके निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार समस्याग्रस्त वा घाइते अवस्थामा उद्धार गरिएका बाघलाई केजमा राख्नु बाध्यता भए पनि यो दीर्घकालीन समाधान होइन। उनका अनुसार एकपटक उद्धार गरेर केजमा राखिएको बाघलाई पुनः जंगलमा फर्काउन निकै कठिन हुन्छ । ‘वन्यजन्तुलाई केजमा राख्नु भनेको उसलाई आजीवन कारावास दिनुजस्तै हो,’ उनले भने, ‘विशेषगरी बाघजस्तो ठूलो र स्वच्छन्द जीवनशैली भएको जनावरका लागि यस्तो अवस्था आउनु कठोर यातना दिनु हो ।’

हाल बाँके निकुञ्जको उद्धार केन्द्रमा एउटा पाटेबाघ र २ वटा चितुवा राखिएका छन् । यस्ता वन्यजन्तुको दैनिक हेरचाह, आहारा व्यवस्थापन, स्वास्थ्य निगरानी तथा सुरक्षाका लागि पर्याप्त जनशक्ति र बजेट आवश्यक पर्ने कँडेलले बताए । सीमित साधन–स्रोतका कारण हाल सञ्चालनमा रहेका होल्डिङ केज पूर्ण रूपमा व्यवस्थित नभएकाले व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।

यही आवश्यकता महसुस गर्दै बाँके राष्ट्रिय निकुञ्जले खुला प्रकृतिको नयाँ होल्डिङ केज निर्माण सुरू गरेको छ । कँडेलका अनुसार नयाँ संरचनामा बाघले प्राकृतिक वातावरणको अनुभूति गर्न सक्ने गरी खुला क्षेत्र, विश्रामस्थल तथा पानीको स्रोतको व्यवस्था गरिनेछ ।

‘वन्यजन्तु विज्ञका अनुसार प्राकृतिक वातावरणमा विशाल क्षेत्र ओगटेर विचरण गर्ने बाघलाई साँघुरो संरचनामा लामो समय राख्दा उसको स्वाभाविक व्यवहारमा परिवर्तन आउन सक्छ,’ उनले भने, ‘यसले मानसिक तनावदेखि स्वास्थ्य समस्यासम्म निम्त्याउने जोखिम रहन्छ । त्यसैले उद्धार गरिएका बाघलाई सकेसम्म प्राकृतिक वातावरणसँग मिल्दोजुल्दो संरचनामा राख्ने अभ्यासलाई विश्वभर प्राथमिकता दिइँदै आएको छ ।’

कँडेलका अनुसार नेपालका विभिन्न निकुञ्ज तथा संरक्षण क्षेत्रमा हाल करिब १९ वटा समस्याग्रस्त बाघ केजमा राखिएका छन् । यस्ता बाघको संरक्षण आवश्यक भए पनि दीर्घकालीन व्यवस्थापन राज्यका लागि खर्चिलो र जटिल बन्दै गएको छ । बाँकेमा बाघको संख्या दोब्बरभन्दा बढी पुग्नु संरक्षणको उल्लेखनीय सफलता भए पनि अबको चुनौती मानिसको ज्यान र जीविकोपार्जन कसरी सुरक्षित गर्ने भन्ने भएको कँडेल बताउँछन् ।

२८ भदौमा कान्तिपुर अनलाइनमा प्रकाशित । यो समाचार नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार