सागर बुढाथोकी
२८ भदौ, काठमाडौँ ।
अपराधको दुनियाँमा ‘बिकिनी किलर’का उपनामले कुख्यात चाल्स शोभराजले भनेका थिए, ‘टीआईए (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) बाट हात्ती पनि छिराइदिन सक्छु ।’
नेपालको कमसल सुरक्षा संयन्त्र दर्साउने बिम्बजस्तै बनेको छ, शोभराजको यो उक्ति । हात्ती नै छिराएको हालसम्म पुष्टि भएको छैन । तर जंगलको राजा भनिने जीवित सिंहलाई भने वन्यजन्तु तस्करीका अन्तर्राष्ट्रिय कारोबारीले टीआईबाटै वारपार गराइरहेको तथ्य फेला परेको छ ।
‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सन्धि’ (साइटीस)को डेटाबेसअनुसार, सन् २००७ देखि २०२० सम्म दक्षिण अफ्रिकाबाट ३७ वटा सिंह नेपाल भित्रिएका छन्, जसमध्ये ३३ वटा जीवित थिए भने २ वटा सिंहका आखेटोपहार । सन् २०१७ मा सबैभन्दा धेरै १८ वटा सिंह भित्राइएको थियो ।
साइटीसको डेटाबेसमा आयातकर्ता, निर्यातकर्ता, मिति र वन्यजन्तुको नाम राखेर खोज्दा तान्जानिया र जाम्बियाका जंगलमा शिकार गरिएका दुइटा सिंहका अंग दक्षिण अफ्रिका हुँदै नेपाल भित्र्याइएको देखिन्छ । ३३ वटा भने फार्ममा मानिसले हुर्काएका जीवित सिंह छन् । तीमध्ये १२ वटा चिडियाखानामा राख्न र २१ वटा व्यापारिक प्रयोजनका नाममा ल्याइएको डेटाबेसमा उल्लेख छ ।
तर यी सिंह भित्रिएको अभिलेख नेपालका कुनै सरकारी निकायसँग छैन । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौला र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले यस्तो अभिलेख नभएको पुष्टि गरे । यसको मतलब यी सिंह अवैध तवरमा नेपाल हुँदै अन्य मुलुक पु-याइएका हुन् ।
साइटीसको डेटाबेसअनुसार, सन् २००७ देखि २०२० सम्म दक्षिण अफ्रिकाबाट ३७ वटा सिंह नेपाल भित्रिएका छन् । सिंह साइटीसको अनुसूची १ मा सूचीकृत वन्यजन्तु हो । यो सूचीमा दुर्लभ जनवारलाई राखिन्छ, जसको व्यापार तथा ओसारपसार पूर्णतः बन्देज छ ।
तर अध्ययन, अनुसन्धानजस्ता प्राज्ञिक कार्य एवं नमूना उत्पादनका लागि भने अनुमति लिएर ओसारपसार गर्न पाइन्छ । ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार, यस्ता वन्यजन्तु नेपाल ल्याउन वा नेपालको बाटो भएर तेस्रो मुलुक लैजान वन्यजन्तु संरक्षण विभागको स्वीकृति र ‘साइटीस अनुमति पत्र’ चाहिन्छ ।
अनुमतिबिना ओसारपसार गरेमा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा ५ लाख रूपैयाँदेखि १० लाख रूपैयाँसम्म जरिबाना वा दुवै दण्ड हुने व्यवस्था छ । तर, यी सिंह ओसारपसार गर्न सरकारी निकायबाट अनुमति लिइएको अभिलेख भेटिँदैन । ‘हाम्रो अभिलेखमा नदेखिने गरी तस्करले अर्को देश लैजान ट्रान्जिट बनाएर ल्याएको हुनसक्छ, तर डेटामा आयातकर्ताको नाम नेपाल उल्लेख नहुनुपर्ने हो,’ विभागका आचार्य भन्छन् ।
आचार्यले भनेजस्तै नेपाललाई गन्तव्य बनाएर भित्रिएका जीवित सिंह त वन्यजन्तुको अवैध कारोबारको ‘ट्रान्जिट’ भएको प्रतिनिधि घटना मात्र हो । नेपालमा पछिल्लो १५ वर्षमा २ लाख किलो रक्तचन्दन र हजारौँको संख्यामा वन्यजन्तुका अंग बरामद भएको सरकारी अभिलेख छ । साइटीस सन्धिको हस्ताक्षरकर्ताका रूपमा अवैध व्यापार रोक्नु अनिवार्य दायित्व भए पनि त्यसमा नेपाल असफल बनिरहेको बरामदी तथ्यांकले पुष्टि गर्छ ।
आखेटोपहारको ट्रान्जिट हब
२०८० पुसमा भैरहवा भन्सारमा ३७ वटा बोरामा २ हजार ८ सय ६० केजी हरियो टाउके हाँस नामक पन्छीको प्वाँख बरामद भयो । उक्त प्वाँख सुनौलीसम्म भारतीय व्यापारीले ल्याएका थिए भने त्यहाँबाट नेपाल भित्राउने क्रममा एक नेपाली ड्राइभर पक्राउ परे । नेपालमा भण्डारण गर्ने व्यक्ति भने भारत र नेपाल दुवैतिर बसोबास गर्थे ।
डिभिजन वन कार्यालय रूपन्देहीमा छँदा उक्त मुद्दाका अनुसन्धान अधिकृत रहेका सिद्धान्त बराल तस्करहरूले त्यो प्वाँख कुखुराको भनेर नेपाल ल्याएको बताउँछन् । बराल अहिले डिभिजन वन कार्यालय अर्घाखाँचीमा छन् । प्वाँख ओसारपसारमा संलग्न ड्राइभरलाई वन कार्यालयले जिम्मा जमानीमा छाडेको छ ।
यो परिमाणको प्वाँख जुटाउन हजारौँ हाँस मार्नुपर्ने बराल बताउँछन् । हाँसको प्वाँख जफत भएको एक वर्ष बितिसक्दा पनि मूल कारोबारी पक्राउ परेका छैनन् । बराल भन्छन्, ‘प्वाँख प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौँ, त्यसको नतिजा आउन १० दिन लाग्यो, त्यतिन्जेल तस्करहरूले लुक्ने समय पाए ।’
नेपाली भूमि प्रयोग गरी दुर्लभ वन्यजन्तुका अंग तस्करीको ‘ग्लोबल’ सञ्जाल अफ्रिकादेखि चीनसम्म सक्रिय देखिन्छ । २०७४ सालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टीआईएबाटै बरामद गरेको १ सय ६३ किलोग्राम सालकको खपटा अफ्रिकी देश कंगोबाट ल्याइएको थियो, जुन टर्की, नेपाल हुँदै चीन पु-याउन खोजिएको थियो । त्यसको स्रोत मुलुक र गन्तव्य मुलुक खुले पनि अन्तर्राष्ट्रिय सञ्जाल खुलेन ।
वन्यजन्तु एवं त्यसको आखेटोपहारको अवैध कारोबारको ट्रान्जिट बनेको नेपालमा बाघ, गैँडा, छेपारो, समुद्री घोडा, रक्तचन्दन, चराचुरुङ्गी, चिरू, भालुको पित्त, चिम्पान्जीका अंगसमेत पटक–पटक जफत भइरहेका छन् ।
काठमाडौँ, रूपन्देही र रसुवाका डिभिजन वन कार्यालय र सीआईबीले पछिल्लो १५ वर्षको अवधिमा नेपाल ट्रान्जिट भएका विभिन्न वनस्पति र जनावर ठूलो परिमाणमा जफत गरेका छन् । जफतमध्ये अधिकांश वन्यजन्तु नेपालमा पाइँदैनन् । भालु नेपालमा पाइने जनावर हो, तर तस्करले पछिल्लो १० वर्षमा मात्रै ६ सय १२ ग्राम भालुको पित्त विदेशबाट ल्याएको डिभिजन वन कार्यालय काठमाडौँको तथ्यांकमा देखिन्छ ।
बाघ तथा चितुवाको दाँत र छाला, बाघको दाराबाट बनेको ब्रासलेट र हाइना लगायतका वन्यजन्तु मात्र होइनन्, सुनाखरी, रूद्राक्ष, रक्तचन्दनको माला र श्रीखण्डजस्ता वनस्पति पनि विदेशबाट ल्याउने क्रममा बरामद भएका छन् । यी नेपालमा पाइने वन्यजन्तु तथा वनस्पति हुन् ।
नेपालमा नपाउने वन्यजन्तु तथा वनस्पति पनि पटक–पटक जफत भइरहेकै छन् । पछिल्लो १५ वर्षमा ५ पटक गरेर ५३ केजी समुद्री घोडा र अर्को पटक २ वटा ग्यासको सिलिन्डरमा भरेको समुद्री घोडा चीन लैजानै क्रममा जफत गरिएको थियो थियो । त्यस्तै, २ पटक गरेर १ हजार ५ सय ५० केजी चिरूको रौँ र १ पटक १४ केजी सुकेको छेपारो जफत गरिएको थियो ।
२०७४ असोजमा एकै पटकमा २ वटा चिम्पान्जी, आठ वटा बाँदर र १ सय १२ वटा चरा जफत गरिएको थियो । नाइजेरियाबाट नेपाल ल्याउने क्रममा ती जनावर र चरा बरामद गरिएको थियो । तिनलाई भारत लैजान लागिएको थियो । त्यस्तै, पछिल्लो १५ वर्षमा बागमती प्रदेशमा मात्रै देशको कूल अवैध वन्यजन्तु व्यापारमध्ये ५९ प्रतिशत जफत भएको थियो । यसमध्ये अधिकांश चिनियाँ सीमा नजिकका जिल्लामा बरामद भएका थिए ।
सिंहदेखि सालकसम्म र रक्तचन्दनदेखि हाँसको प्वाँखसम्मका वस्तु बरामदले एउटै प्रश्न उब्जाउँछ अन्तर्राष्ट्रिय तस्करका लागि नेपाल किन ‘सुरक्षित ट्रान्जिट’ बनिरहेको छ ?
राष्ट्रिय निकुञ्ज विभागका प्रवक्ता आचार्य थुप्रै वन्यजन्तुको स्रोत मुलुक रहेको भारतसँगको खुला सिमाना र उत्तरी छिमेकी चीन यस्ता अवैध वस्तुको बजार भएकाले नेपाल ट्रान्जिट बनिरहेको बताउँछन् । उनका अनुसार, परम्परागत औषधि र विलासिताका सामग्रीका लागि चीनमा वन्यजन्तुका आखेटोपहारदेखि वनस्पतिको उच्च माग छ ।
यी २ विशाल बजारबीचको भौगोलिक अवस्थिति र कमजोर निगरानी संयन्त्रको फाइदा उठाउँदै तस्करले नेपाललाई सुरक्षित मार्गका रूपमा प्रयोग गरिरहेको आचार्यको भनाइ छ ।
भारत र चीनजस्ता स्रोत र उपभोग मुलुकको बीचमा रहेको नेपालको सीमा तथा भन्सारमा कडा नियमन नगरिँदा त्यसको फाइदा तस्करले उठाउने पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल बताउँछन् । ‘यी ठूला देशका तस्करका बीच भएको व्यापारमा वर्षौँदेखि नेपाल ट्रान्जिट हबका रूपमा प्रयोग भइरहेको छ,’ उनी भन्छन् ।
अनुसन्धान गर्न नसक्दा हाइसन्चो
वन्यजन्तु अपराधमा संग्लग्न भएका अभियुक्तको बयानबाट पत्ता लाग्ने समान निष्कर्ष के छ भने उनीहरू प्रविधिको प्रयोगमा अब्बल हुन्छन् । नेपालका नियामक निकायले प्रयोग नगर्ने माध्यम प्रयोग गरेर उनीहरूले संगठित रूपमा संवाद गरिरहेका हुन्छन् । जस्तो कि, कुराकानीका लागि ह्वाटसप, टेलिग्राम र सिग्नलजस्ता म्यासेजिङ एप प्रयोग गर्छन् । जसमा पहिचान लुकाउन सहज हुन्छ ।
क्रिप्टो र सुनजस्ता माध्यमबाट भुक्तानी लिन्छन् । सुरक्षित मार्ग पहिचान गर्नका लागि ड्रोन र जीपीएस प्रयोग गर्नुका साथै सामाजिक सञ्जालमा विभिन्न इमोजी प्रयोग गरेर विज्ञापन गर्छन् । उनीहरूले पहिचान सुरक्षित राख्न र लोकेसन लुकाउनका लागि भीपीएन प्रयोग गर्ने सीआईबीमा काम गरिसकेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबरा बताउँछन् ।
फलस्वरूप, अरबौँको कारोबार गर्ने मुख्य योजनाकार र अन्तर्राष्ट्रिय गिरोह सधैँ कारबाहीको घेराभन्दा बाहिर रहँदा केही हजारको लोभमा फसेका विपन्न नेपाली भरिया मात्र पक्राउ पर्छन् । यसले एकातिर वन्यजन्तु संरक्षणमा नेपालले कमाएको ख्याति गुम्ने जोखिम बढाएको छ भने अर्कोतिर ट्रान्जिट मार्गकै रूपमा प्रयोग भइरहँदा नेपालकै रैथाने प्रजाति पनि तस्करको निशानामा पर्ने खतरा छ ।
वन्यजन्तु विभागका प्रवक्ता आचार्य वन्यजन्तुका अंग तथा वनस्पति पहिचान गर्नका लागि अत्याधुनिक प्रविधि नहुँदा तस्करले नेपाललाई सुरक्षित मार्गका रूपमा प्रयोग गरिरहेको बताउँछन् । ‘तस्करले नयाँ प्रविधि प्रयोग गरिरहँदा हामीसँग आखेटोपहार पहिचान गर्नका लागि नै समस्या छ । हामी प्रविधिमा तस्करभन्दा निकै पछि छौँ,’ उनी भन्छन् ।
अनुसन्धानको यही सीमितताको पछिल्लो कडी हो– २०८१ माघमा काठमाडौँमा बरामद ४ सय ३१ किलो रक्तचन्दन । यो घटनामा पनि प्रहरीले २ जना नेपाली भरियालाई त पक्राउ ग-यो । तर तस्करीका मुख्य योजनाकार मानिएका भारतीय र चिनियाँ नागरिकसम्म अनुसन्धान पुग्नै सकेन ।
यो घटनामा पेप्सीकोलाको गोदामभित्र १३ वटा बोरामा प्याक गरिएको अवस्थामा रक्तचन्दनसहित ज्ञानबहादुर तिमिल्सिना र रमेश थापा पक्राउ परेका थिए । भारतबाट ल्याइएको उक्त रक्तचन्दन नेपाली भूमि हुँदै चीन पु-याउन लागिएको डिभिजन वन कार्यालय, काठमाडौँका अधिकृत प्रेमकुमार शाह बताउँछन् । शाह यो घटनाको अनुसन्धान अधिकृतसमेत हुन् ।
पक्राउ परेका थापाले भारतबाट यो रक्तचन्दन नेपाल ल्याएर तिमिल्सिनालाई लुकाउन दिएका थिए । यसबापत थापाले एक लाख रुपैयाँ पाउने शर्त थियो । सिन्धुपाल्चोकका थापाले यो सामग्री काठमाडौँमा अर्को एक नेपालीलाई दिनुपर्ने थियो । ती व्यक्तिलाई दिन नपाउँदै प्रहरीले रक्तचन्दन बरामद ग-यो ।
तर थापाले बुझाउनुपर्ने व्यक्ति को थिए भन्ने अनुसन्धान नै भएन । अनुसन्धान अधिकृत शाहका अनुसार थापाले काठमाडौँमा हस्तान्तरण गर्ने व्यक्तिले रक्तचन्दन चिनियाँ पक्षलाई दिनुपर्ने ‘डिल’ भएको थियो । भारत बैंगलौरका लक्की नामक व्यापारीले चिनियाँलाई प्रतिकिलो ४ हजार भारूमा बिक्री गर्ने तयारी रहेको शाह बताउँछन् । ‘अन्तर्देशीय संगठित सञ्जाल बनाएको देखिन्छ,’ उनी भन्छन् ।
२५ माघ काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रबाट पनि संगठित जालो बनाएर रक्तचन्दन तस्करी भएको खुल्छ । भारतीय व्यापारी भनिएका लक्की र चिनियाँ साझेदार भनिएका व्यक्तिले चलाउने मोबाइल नम्बर अभियोगपत्रमा राखिएको छ । चिनियाँ भाषा अनुवाद गर्न दोभाषे सोनाम भन्ने व्यक्तिसमेत यो घटनामा थिए ।
कानूनी दायराबाट उम्किन सकियोस् भनेर सोनामले सरू शेर्पा भुजेलको नाममा रहेको नेपाली मोबाइल चलाउँथे । अनुसन्धानमा तानिने पर्याप्त आधार देखिए पनि उनीहरूलाई अभियुक्त बनाइएको छैन । यसरी अनुसन्धानकारी निकायको गैरजिम्मेवारीले यो घटनामा जोडिएका भारतीय र चिनियाँ आपराधिक सञ्जाल खुलेन ।
बरू केही रकमको लोभमा ओसारपसारमा संलग्न नेपाली भरियाद्वय थापा र तिमिल्सिनालाई भने २६ दिन कैद र १ लाख जरिबानाको सजाय भयो । ‘अरू ३ जनालाई अनुसन्धान गर्न सकिएन,’ शाह सजिलै भन्छन्, ‘उनीहरूले चिनियाँ र भारतीय सिम प्रयोग गरेकाले त्यो हाम्रो अधिकार क्षेत्रको विषय भएन । फेरि अनुसन्धानका लागि हामीसँग बजेट, जनशक्ति तथा स्रोतसाधन पनि पुग्दो छैन ।’
औषधीय गुण भएकाले बहुमूल्य मानिने रक्तचन्दन साइटीसको लोपोन्मुख प्रजातिमा पर्ने वनस्पति हो । लोपोन्मुख वनस्पति र वन्यजन्तुलाई साइटीसको अनुसूची २ मा राखिएको छ, जसको व्यापार गर्न पाइन्छ । तर नियन्त्रित रूपमा ।
अन्र्तदेशीय अपराध, देशीय अनुसन्धान
२०८२ भदौमा दिल्लीमा बस्ने ३४ वर्षीय भारतीय नागरिक शहान मिर्जा दुवईबाट सुकुटी बनाइएको १४ केजी छेपारो बोकेर एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।
प्रहरी अनुसन्धानमा लामो समयदेखि खुट्टामा घाउ भएर थलिएका उनले ‘दिल्लीका एक आयुर्वेदिक चिकित्सकले छेपारोको तेल लगाएमा घाउ निको हुने भनेकाले आफूले दुवई गएका बेला ल्याएको’ दाबी गरेका छन् । पक्राउ परेका मिर्जा काठमाडौँको वन कार्यालयबाट भागिसकेका छन् ।
यो मुद्दाको अनुसन्धान गरेका डिभिजन वन कार्यालय काठमाडौँका अधिकृत शंकर थापाका अनुसार, मिर्जालाई वन कार्यालयको भ्यानमा राखेर अदालत लैजादै गर्दा २३ भदौमा भागेका थिए । त्यो दिन जेनजी आन्दोलन भएर तोडफोड र गोली चलेर माहौला बिग्रिएपछि उनी भागेको थापाको भनाइ छ ।
मिर्जाले ल्याएको छेपारो स्यान्ड फिस हो । यो साइटीस सन्धिअन्तर्गत पर्दैन । मिर्जालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को दफा २६ को उपदफा ६ अन्तर्गत मुद्दा चलाउनुपथ्र्यो । यो दफामा बिगोको दोब्बर जरिबाना र एक वर्षसम्म कैदको व्यवस्था छ ।
यो दफाअनुसार कुनै पनि वन्यजन्तु वा वन्यजन्तुको आखेटोपहार आयात वा निर्यातका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुमति लिनुपर्छ । मिर्जाले अनुमति लिएका थिएनन् । त्यसैले यो मुद्दामा बिगो कायम हुन नसकेमा कसुरको मात्रा हेरी २० हजार रूपैयाँसम्म जरिबाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्थ्यो ।
उनी किन नेपाल आएका थिए भन्ने कुरा रहस्यमय भएको थापा बताउँछन् । कुनै पनि व्यक्ति घुम्नका लागि १४ केजी सुकेको छेपारो बोकेर नहिँड्ने उनको दाबी छ । यो प्रजाति साइटीस सूचीमा नपरेकाले आफूहरूले ‘सामान्य केस’का रूपमा लिएको उनी बताउँछन् । ‘यो सामान्य केस हो। त्यसैले खास फलोअप पनि गरिएको छैन,’ उनी निर्धक्क भन्छन् ।
वन्यजन्तु विभागका प्रवक्ता आचार्य साइटीसको सूचीमा नपर्ने भन्दैमा आखेटोपहार तस्करीलाई सामान्य भन्न नमिल्ने बताउँछन् । ‘यस्ता किसिमको तस्करीमा अन्तरदेशीय सञ्जाल जोडिएको हुन्छ । कहिलेकाहीँ सानो अपराधमा पक्राउ परेका तस्कर ठूलो अपराधसँग जोडिएको भेटिनसक्छ। अनुसन्धान गर्नुपर्छ,’ उनी भन्छन् ।
जफत गरेका सामग्री बेवारिसे
नेपालमा जफत भएका प्रजाति पहिचानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ । हरेक वर्ष करिब २ सय हाराहारी वन्यजन्तु तथा वनस्पतिका केस परीक्षण हुने गरेको प्रयोगशालाका वरिष्ठ वैज्ञानिक नीराजन थापा क्षेत्री बताउँछन् । तर, परीक्षण गरिएका वनस्पति एवं वन्यजन्तुको स्रोत मुलुक खुलाउन कठिन हुने उनी बताउँछन् ।
कुनै प्रजाति एउटा मात्र देशमा पाइन्छ भने त्यसको भौगोलिक उत्पत्ति पत्ता लगाउन सजिलो हुने उनको अनुभव छ । ‘२ वा बढी देशमा पाइने प्रजातिको भौगोलिक उत्पत्ति अनुसन्धानका लागि नेपालसँग तथ्यांक नै छैन,’ उनी भन्छन् । क्षेत्रीका अनुसार घरपालुवा र जंगली जनावरबीच फरक खुट्याउन झन् ठूलो चुनौती छ ।
एकातिर स्रोतमुलुक ठम्याउन गा-हो छ भने अर्कातिर सामान्य परीक्षण गर्न पनि महिनौँ लाग्छ । यसले गर्दा अनुसन्धानमै समस्या हुन्छ । ‘अपराधी भाग्ने जोखिम छ,’ उनी भन्छन् ।
कानूनतः बरामद भएका वन्यजन्तुका आखेटोपहार र वनस्पति जुन मुलुकबाट आएको हो, त्यहीँ फिर्ता पठाउनुपर्छ । नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ ।
यसको खर्च फिर्ता लैजाने मुलुकले व्यहोर्नुपर्छ । तर अवैधानिक रूपमा भित्राइएका त्यस्ता प्रजातिलाई कुनै पनि स्रोतदेशले फिर्ता लैजान नचाहने वन तथा भू–संरक्षण विभागकी सूचना अधिकारी सबनम पाठक बताउँछिन् ।
सोही कारण नेपालमा जफत भएका रक्तचन्दन कुहिएर खेर जाने गरेको छ । अहिले पनि १८ जिल्लामा करिब २ लाख ७२ हजार ४ सय ६० केजी रक्तचन्दन काठ बरामद गरेर राखिएको छ । रक्तचन्दन बरामद भएका जिल्ला सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, संखुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङ छन् ।
बरामद रक्तचन्दन भारतमा फिर्ता लैजानका लागि पटक पटक मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । २०६५ सालको मन्त्रिपरिषद्को निर्णयले ५४ हजार एक सय १२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर ३६ हजार नौ सय २८ किलो रक्तचन्दन मात्र भारतले फिर्ता लग्यो । त्यसपछि २०७१ फागुन, २०७६ पुस र २०८१ को मन्त्रिपरिषदको बैठकले पनि बरामद रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय भए । तर फिर्ता भएन ।
जिउँदा जनवार पनि फिर्ता नभएको उदाहरण छन् । २०७४ कात्तिकमा नाइजेरियाबाट जिउँदै ल्याइएका २ वटा चिम्पान्जी, ८ वटा बाँदर र चरा नाइजेरियाले लैजान नमानेपछि जावालाखेलको चिडियाखानामा राखिएको छ ।
पञ्चायतदेखि सुरू
नेपाली मार्ग हुँदै वन्यजन्तुको अवैध कारोबार अहिले मात्रै भएको होइन । राणा शासनकालदेखि नै भारतबाट चोरीसिकारी गरिएका जनावरका भुत्ला काठमाडौँका पसलमा बिक्री हुने गरेको देखिन्छ । ‘फाइटिङ द इल्लिगल फर ट्रेड इन् काठमाडौँ, नेपाल’ नामको अध्ययनले राजा त्रिभुवन र महेन्द्रको शासनकालमा भारत र तिब्बतसँगको व्यापारिक आवागमन विस्तार भएसँगै सीमापार वस्तु ओसारपसार गर्न थप सहज बनेको उल्लेख गरेको छ ।
उक्त अध्ययनका अनुसार, विसं १९९० को दशकको अन्त्यतिर चीनमा जनावरका छालाको माग बढेसँगै संरक्षित भारतीय हिउँ चितुवा र बाघको छाला काठमाडौँ हुँदै चीन तस्करी हुने क्रम तीव्र भयो । भुत्लाबाट सुरू भएको अवैध व्यापार फैलिँदै छाला, सिङ, जीवित जनावर, कत्ला र दुर्लभ काठसम्ममा पुगेको देखिन्छ । तस्करीको त्यही ऐतिहासिक मार्गमा नेपाल स्रोतभन्दा बढी ट्रान्जिटको मलुकको भूमिकामा देखिएको प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. चिरञ्जीवी पोखरेल बताउँछन् ।
पोखरेलले भनेजस्तै वर्षौँदेखि यी चिज नियमित रूपमा यसरी नै तस्करी भइरहेका छन् । जस्तो कि, २०६९ सालमा अरनिको राजमार्ग हुँदै चीन लैजाने क्रममा साढे २८ केजी समुद्री घोडा, २९ केजी शालकको खपटा र २ केजी सुनाखरी बरामद भएको थियो । त्यो घटनामा ट्रकचालक तातोपानीका साङ्बो शेर्पा पक्राउ परेका थिए ।
उनले २० हजार रूपैयाँ पाउने लोभमा चिनियाँ व्यक्तिका सामग्री तातोपानी पु-याउने जिम्मा लिएको बयान दिएका थिए । त्यसपछि २०७० सालमा तातोपानी चेकपोस्टमै समुद्री घोडाले भरिएको २ ग्यास सिलिन्डर चीनतर्फ लैजाँदै गर्दा शाङ्गे शेर्पा पक्राउ परे ।
चीनमा मात्रै होइन, यस्ता वन्यजन्तु नेपालबाट भारत पनि पु-याइएका छन् । २०६९ सालमा तिब्बतबाट भारत लैजान तयार गरिएको १ हजार २ सय ६२ केजी चिरूको रौँ गोरखा र धादिङमा बरामद भएको थियो ।
२८ भदौमा उकालो अनलाइनमा प्रकाशित । यो समाचार नेपाल वातावरण पत्रकार समूहको सहयोगमा प्रकाशन भएको हो ।





