रञ्जिता अधिकारी
१७ साउन, दाङ।
घोराही उपमहानगरपालिका–१ र २ को चेपे जलाशय घोराही–सिमलतारा सडकको छेउमा २०७३ सालसम्म सानो खोल्सो थियो । रामपुरबाट पूर्वतिर जाने साना ट्याक्सी अप्ठ्यारो र साँघुरो बाटोका कारण सो खोलामा खस्दा धेरै मानिस घाइते हुन्थे ।
झन्डै ७.५ बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र (स्थानीय भाषामा चेपे सोतो) स्थानीय मानिस तथा पशुपक्षीको खानेपानी तथा मौसमी सिँचाइको स्रोत थियो । संरक्षणको अभावले पुरिँदै जाँदा सिमसार क्षेत्रको अस्तित्व नै संकटतिर धकेलिएको थियो । यसले गर्दा स्थानीयलाई खडेरीमा त परै जाओस् बर्खामा समेत आवश्यक पर्ने पानीको अभाव पूर्ति गर्न मुस्किल भएको थियो ।
२०७४ को स्थानीय निर्वाचनपछि स्थानीय अगुवा तथा स्थानीय सरकारको पहलमा चेपे ड्याम तथा सडक विस्तार भएको स्थानीय बताउँछन् । घोराही उप–महानगरपालिका र स्थानीय समुदाय यो सिमसार क्षेत्रको संरक्षणमा जुटेपछि अहिले उक्त क्षेत्र ७.५ बिघामा विस्तार भइ चेपे तालको नामले परिचित छ ।
यो ताल अहिले स्थानीय ८ सय घरपरिवारको जीविकाको आधार मात्र बनेको छैन । जलचर संरक्षण, पर्यावरण संरक्षण तथा वन्यजन्तुको प्यास मेटाउने र आन्तरिक तथा वाह्य पर्यटकको घुमघामको थलो समेत बनेको छ ।
रामपुर गाउँको वरिपरि खोला, नदी र पानीका स्रोत छैनन् । पहिले सिँचाइको समस्याले गर्दा खेती गर्न गाह्रो थियो । अहिले तालले गर्दा वरिपरिका सबै किसानले कृषि उत्पादन तथा आयआर्जन बढाएको स्थानीयको भनाइ छ ।
स्थानीय ७८ वर्षका भीमबहादुर चौधरी बाल्यकालको गाउँ सम्झँदै भन्छन्, ‘चेपेखोला खोलाजस्तो थिएन । सानो खोल्सा थियो । फागुनदेखि जेठ असारसम्म पानीको अभाव हुन्थ्यो । खानेपानी हुँदैनथ्यो, खेती गर्ने कुरै भएन ।’
उनका अनुसार गाउँलेहरू सबै गाग्री बोकेर खोल्साको पानी ल्याउँथे र खान्थे । पानी नहुँदा वर्षाको पानीको अवसर छोपेर धान रोपाइँ गरेको उनलाई सम्झना छ । २०७४ सालमा चेपे सोतालाई जलाशय बनाउन संरक्षण गर्ने कुरा उठेपछि आफूले तालसँग साटेको जमिन जलाधार निर्माण गर्न दिएको चौधरीले बताए ।
आजभोलि हिउँद्मा समेत तालको पानी प्रयोग गरेर ढुक्कसँग सिँचाइ गर्न सकिएको उनी बताउँछन् । ‘तरकारी र अन्न बाली लगाउन बर्सातको पानी कुरिरहनु पर्दैन । गत वर्ष असारसम्मै पानी नपर्दा पनि तालको पानीले सिँचाइ गरी धान रोपेका थियौँ’, चौधरीले भने ।
घोराही उपमहानगर–२ सुर्केडाङीका नवयुग टोल विकास संस्थाका अध्यक्ष सोमप्रसाद सुवेदीका अनुसार सानो सोतालाई सबैजना मिलेर ठूलो जलाशय बनाएका हुन् । १५ मिटर गहिरो तालले अहिले ८ सय घरधुरीका २ सय बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ ।
जमिनमा सिँचाइको सुविधाले खेतीपातीलाई मात्रै होइन, चराचुरूंगी, जीवजन्तु सबैको पानीको समस्या समाधान भएको छ । गाउँका युवा सबै खेतपातीमा लागेका छन् । रोजगारीका लागि विदेश जानेको संख्या कम छ । ‘एकै याममा काउली, बन्दा र गोलभेँडा खेती गरेको सुर्केडाङी गाउँबाट झन्डै २ करोड रूपैयाँको तरकारी बिक्री भएको छ,’ उनले भने ।
बर्सातका बेला चुरे पहाडदेखि बग्दै आएको पानीलाई तालभित्र पठाउने व्यवस्था गरिएको छ । गाउँमा सिँचाइ गर्नका लागि पानी निकासको बाटो राखिएको छ । चेपे तालमा हिउँदका बेला पानीको कमी भयो भने पम्पसेटको प्रयोग गरेर पानी तान्ने गरिन्छ ।
चेपेताल संरक्षण समितिका अध्यक्ष एवं घोराही उपमहानगर–१ का अध्यक्ष राममणि पाण्डेका अनुसार तालको अस्तित्व नै संकटमा गएको बेला यसको संरक्षणबाट हुने फाइदाका विषयमा स्थानीय समुदायसँग छलफल भयो । उनले भने, ‘सुरूमा यहाँका स्थानीयले सहयोग गर्नुभएन सबैलाई पछि हुने फाइदाबारेमा जानकारी गरायौँ । स्थानीयले तालको माथिल्लो भागमा बस्ने स्थानीयले बस्ती डुबानमा पर्ने खतरा रहेको भनेर विरोध गरे । केही समयको विवादपछि उनीहरू सहमतिमा आए र छेउछाउका जमिन चेपे ताललाई दिए ।’
त्यसपछि सिमेन्ट, बालुवाबिना प्राकृतिक तरिकाले माटोको आधार बनाइ संरचना तयार भएको छ । घोराही उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको सहयोगमा ताल मर्मतसँगै संरक्षण गरिएको हो । अहिले रामपुरवासीहरूले परम्परागत बालीको उत्पादकत्व बढाउनेदेखि नयाँ कृषि उत्पादनसमेत थप्न र तालमा माछापालनसम्मका काम थालेका छन् । तालको क्षेत्र विस्तारसँगै भएका परिवर्तनले गर्दा यो ताल पर्यटकीय आकर्षण र चर्चाको विषय बन्न थालेको उनको भनाइ छ ।
कृषि उत्पादनमा वृद्धि
घोराही उपमहानगर–१७ कर्जाहीमा ५ वर्षअघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढेको थियो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारल १ करोड रूपैयाँको लागत र स्थानीयको पहलमा २०७७ सालमा जलाशय बनेको थियो । झन्डै २ बिघामा फैलिएको यस जलाशय क्षेत्रको गहिराइ ६ मिटर छ । यो जलाशय निर्माण भएपछि ९५ बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
घोराही उपमहानगर–१७ कर्जाहीका जीवन चौधरी ५५ वर्ष पुगे । उनको पेसा खेतीपाती हो । आफ्नो एक बिघा र भाडामा ल्याएको ९ कट्ठा जमिन व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । कक्षा ८ सम्मको अध्ययन गरेका चौधरीले व्यवसायिक तरकारीखेती गर्न थालेको ४ वर्ष भयो ।
पछिल्लो समय बाह्रै महिना तरकारीखेती गरेर ६०/७० हजार रूपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । ४ वर्ष अघिसम्म गाउँमा व्यवसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलाशय विस्तार भएपछि मात्रै पानीको पहुँचसँगै मानिसहरू खेतीपातीमा आकर्षित भएका छन् ।
ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको चौधरी बताउँछन् । स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने काम अभियान घोराहीले गरेको छ ।
कर्जाही गाउँबाट दैनिक ५० हजार रूपैयाँ बराबरको तरकारी बिक्री हुने गरेको छ । कर्जाही ड्याम लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष परशु चौधरीका अनुसार गाउँका २ सय ५० घरधुरीका ९५ बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । अहिले बाह्रै महिना किसान खेतबारीमा मात्रै भेटिन्छन् ।
महिलाको आम्दानीमा वृद्धि
ताल संरक्षणसँगै अप्रत्यक्ष रुपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको किसानहरू बताउँछन् । उनीहरू माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने काम र अभियानमा जोडिएका छन् । जैविक मल तथा झोल मल बनाउने र प्रयोग गर्ने तरिकाहरू सिकेपछि गाउँमा रसायनिक मल तथा विषादीहरूको प्रयोग घट्दै गएको छ । बीउ छर्नेदेखि गोडमेल गर्ने, बाली भित्र्याउने र उत्पादनलाई बजारसम्म पु-याउने काममा पालिकाले सहयोग गर्दै आएको छ ।
थारू समुदायका महिलाहरूले परापूर्वकालदेखि बुन्दै आएको ढकिया, गुन्द्री, बीणा, पटकी, चटाइ बुनेर व्यवसायिक बनेका छन् । यसले उनीहरूको सीप आयआर्जनको माध्यम बनेको छ । गुन्द्री र पटकी बुन्न प्रयोग हुने गुँद (एक प्रकारको झार) पानी भएको स्थानमा मात्र लगाउने गरिन्छ । हातले बुनेका वस्तु बिक्री गरेर महिलाहरूले आम्दानीको माध्यम बनाएको र यसबाट घरखर्च चलाउन सजिलो भएको स्थानीय रिता थारू बताउँछिन् ।
सिमसार संरक्षणले नयाँ जीवन
जमिनको सतहलाई आंशिक तथा पूर्णरूपले पानीले ढाकिएको क्षेत्र सिमसारमा वार्षिक वा केही समयसम्म पानी जम्मा हुने गर्छ । साविक जिल्ला भू–संरक्षण कार्यालय हाल भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका जलाधार निर्देशक शिवराम अधिकारी सिमसार संरक्षणले सिँचाइ व्यवस्थापन घरायसी प्रयोग, मत्स्य तथा घरेलु जनावर पालनका लागि उपयोगी भएको बताउँछन् । सिमसार संरक्षण तथा व्यवस्थापन गर्दै आएकाले हिउँद/गर्मी मौसमको समयमा पानी सञ्चय, नवीकरण र उपयोगमा सघाउ पु-याउने उनको भनाइ छ ।
जमिनको भित्री भागमा पानी सञ्चितीकरण गरी कल, बोरिङ तथा कुवाको खानेपानीको सतहलाई घट्न नदिने काम भएको छ । स्थानीय तथा बसाइँसराइ गर्ने प्रजातिहरूको बासस्थान सुरक्षित गर्न पानीको पूर्ति भएको छ । अधिकारीले भने, ‘जलवायु परिवर्तनका असरहरूसँग अनुकूल तथा न्यूनीकरण गर्न, जैविक विविधता संरक्षण कार्यमा टेवा पु-याउन सिमसार क्षेत्र संरक्षणले ठूलो योगदान गरेको छ ।’
वातावरणीय सेवा भुक्तानीको अवधारणा विकास गर्न, भूमिगत जलस्रोतको सतह वृद्धिका साथै जमिनमा चिस्यान फैलाई खेतीयोग्य जग्गाको उर्वराशक्ति वृद्धि गरी किसान लाभदायी भएको गाउँको सौन्दर्यकरणमा थप योगदान पुगेको छ ।
पहिले हिउँद सुरु भएसँगै गाउँबाट पर रहेका खोला, खोल्सा र नदीमा पु-याएर गाईबस्तुलाई पानी खुवाउनु पथ्र्यो । अहिले तालमै पानी प्रशस्त हुन थालेपछि गाउँमा सुकेका मुहानसमेत रसाउन थालेका छन् । ताल संरक्षणपछि घरको इनारको पानी पहिलेभन्दा माथिको सतहमा आइपुगेको स्थानीय भौना चौधरीको अनुभव छ ।
ताल संरक्षणपछि गाउँ वरिपरिको जमिनमा प्राकृतिक पुनःभरण भएसँगै जमिन ओसिलो एवं उर्बर भइरहने र बाली उब्जाउमा वृद्धि भएको उनी बताउँछन् । अहिले पानीमा आश्रित जलचर जीवहरु र जंगली जनावर तथा चराचुरूंगीको संख्या समेत बढेको उनको भनाइ छ । सुक्खायाममा वन जंगलमा डढेलोको जोखिम अत्यधिक हुने गरेको र यसबेला आगलागीे नियन्त्रणका लागि तालकै पानी प्रयोग गर्न सकिन्छ ।
चरा आउने क्रम बढ्दो
सिमसार क्षेत्रको संरक्षणले दाङमा पछिल्ला वर्ष आगन्तुक चराको संख्या बढेको छ । सिमसार र जलाशयहरु चराहरुका लागि उपयुक्त बासस्थान बन्न पुगेका छन् । कर्जाही गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणपछि स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको स्थानीय बताउँछन् ।
नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराकाबारेमा अध्ययन गर्दै आएका चिरञ्जीवी खनालले कृत्रिम जलाशय, सीमसारसँगै नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभ लाग्दो रहेको बताए ।
उनका अनुसार नेपालमा चीन, पूर्वी युरोप, मंगोलिया, रूस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गर्दछन् । कुनै समय सुक्खा ठाउँ अहिले जलमग्न भएका छन् । चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा ६ महिनासम्म बस्ने गर्दछन् ।
दाङमा २८ प्रजातिका जलपक्षी पाइन्छन् । कृत्रिम जलाशयले गर्दा चराको बासस्थान भएको खनालको भनाइ छ । कृत्रिम ताललाई भविष्यमा अझै प्रवद्र्धन गर्दै जलपक्षीको पनि संरक्षणमा लाग्नुपर्ने उनको बुझाइ छ ।
नेपाल पक्षीविद् संघका अनुसार गतवर्ष गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ साना क्षेत्रमा ७९ प्रजातिका ६३ हजार ९ सय जलपक्षी छन् । ती चराको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपक्षीको गणनाबाहेक अरू काम हुन नसकेको विज्ञहरूको भनाइ छ ।
उप–महानगरको प्रयास
दाङको घोराही उपमहानगरले आव २०७५/७६ मा ताल संरक्षण गर्न सुरू गरेको हो । अहिलेसम्म ४३ वटा बनिसकेका छन् । तालबाट वर्षाको पानी जम्मा गरी हिउँदमा खेतीमा सिँचाइ गर्न सजिलो हुनाका साथै स्थानीयको आयआर्जनमा सहयोग पुगेको नगरप्रमुख नरूलाल चौधरी बताउँछन् ।
पालिकाले संरक्षण गरेका ताल हेर्न आउने स्थानीय र वाह्य पर्यटक आउने भएकाले त्यस क्षेत्रमा सञ्चालन भएका होटल, पसलहरू राम्रो चलेका छन् । जलाशयमा माछापालन गरेर र मौसमी –बेमौसमी तरकारी बेचेरै पनि स्थानीयले आम्दानी गर्न थालेका छन् । पोखरीमा जम्मा गरिएको पानीले बाह्रै महिना सिँचाइ भएपछि घोराहीभित्रका नागरिकको जीवनस्तर फेरिएको छ ।
‘हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समता–मानव विकास स्वस्थ र स्वच्छ घोराही उपमहानगरपालिका’ भन्ने पालिकाको नारालाई कार्यान्वयनमा ल्याउने क्रममा यहाँका सिमसार र जलाशयको संरक्षणलाई प्रमुख प्राथमिकता दिइएको नगरप्रमुख चौधरी बताउँछन् । तालबाट जमिनमुनिको पानीको सतह पुनःभरण हुने भएकाले घोराही क्षेत्रका इनार, कुवामा हिँउद वा सुक्खा मौसममा पानीको अभाव नभएको उनको भनाइ छ ।
गत वर्ष २३ वैशाखमा राससमार्फत विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।





