दुना टपरीबाट आम्दानीसँगै हरियाली

सिर्जना बुढाथोकी

१० साउन, सुर्खेत।

माघको महिना कठ्यांग्रिदो जाडो थियो । हुस्सुले वरपरका मान्छे देखिदैँनथे । प्रत्येक दिन बिहान पात टिप्न जानु सुर्खेतको वीरेन्द्रनगरस्थित चिसापानी घर भएकी ६१ वर्षीय सेतु विकको दैनिकी हो ।

जंगल उनको घरदेखि २ किलोमिटर मात्रै टाढा छ । मध्य माघमा सधैँ झै पिठ्यूमा डोको र हातमा हँसिया बोकर बिहान ७ बजे पात टिप्न साथीहरूसँग उनी जंगल पुग्छिन् । जंगलभित्र सालका रूखहरू प्रशस्त भएकाले पात टिप्न दुःख छैन । ‘नजिक नजिकै सालका रूखहरू भएकोले पात टिप्न सजिलो हुन्छ’, विकले भनिन् ।

बिहान दुई घण्टाभित्र उनले ५ देखि ७ सयसम्म सालका पात टिप्ने गर्छिन् । टिपेका पातलाई चाङ मिलाएर प्लाष्टिकका बोराभित्र खाँद्छिन्, ९ बजेभित्रै सेतु साथीहरूसँगै घर फर्किन्छिन् । उनी घरायसी काम सकेर दैनिक व्यवसायतिर लाग्छिन् ।

शिवशक्ति सामुदायिक वनको कार्यालयमै बसेर सबै महिलाहरूले दुना टपरी बनाउँछन् । बिहान टिपेका पात बोराबाट निकालेर बरण्डामा फिजाउँदै सेतु दुना टपरी बनाउन सुरू गर्छिन् । दुना टपरी मेसिनले पनि बन्ने भएकाले हातले जस्तो धेरै मेहनत गर्नु पर्दैन । ‘दुना टपरी बनाउदै दिनको समय बितेको थाहा पाउन्न’, सेतुले उत्साहित हँुदै भनिन् ।

प्रत्येक दिन सेतुले १ सय ५० वटासम्म दुना टपरी बनाउँछिन् । सेतु र उनका साथीहरूले मिलेर बुनेका टपरीको संख्या अनुसार उद्योगले उनीहरूलाई पैसा भुक्तानी गर्छ । महिलाहरूले बुनेका प्रति टपरी १० र दुना ५ रूपैयाँका दरले वीरेन्द्रनगर बजारमा बिक्री हुन्छन् । तर, उनीहरूलाई प्रति टपरी ५ रूपैया र दुनाको २.५ रूपैयाँका दरले साहुले भुक्तानी गर्ने गर्छन् ।

सेतुले दुना टपरीबाट मासिक ८ देखि १५ हजार रूपैयाँसम्म आम्दानी गर्छिन् । एक प्याकेटमा ५ सय पिस हुन्छ । महिनाभरि धेरैजस्तो महिलाले मासिक २ सय प्याकेट दुना टपरी बनाउँछन् । सेतुजस्ता एकल महिलाका लागि दुना टपरी व्यवसाय साहारा बनेको छ । १२ वर्षअघि श्रीमान् गुमाएकी सेतु दुना टपरी व्यवसायबाट आत्मनिर्भर बनेकी छिन् ।

बिहान बेलुकाको छाक टार्न उनले छोराछोरीको मुख ताक्न पर्देन । प्लाष्टिकका प्लेटको विकल्पको रूपमा सुर्खेतका होटल तथा व्यवसायहरूमा दुना टपरीको प्रयोग बढ्दो क्रममा छ । पूजापाठ तथा धार्मिक संस्कारहरूमा दुना टपरीको आवश्यक पर्ने भएकाले बजारमा यसको माग बढ्दै गएको छ । उद्योगको रूपमा दुना टपरी व्यवसाय फस्टाउन थालेको साना तथा घरेलु उद्योगका निर्देशक पदमलाल लामिछानेले बताउँछन् ।

दुना टपरी व्यवसायले महिलाहरूलाई स्वरोजगारसँगै हरित वृत्तिका लागि पनि टेवा पु¥याएको छ । तर, स्थानीय सरकारले सुर्खेत जिल्लामा दुना टपरीको व्यवसायिक विकास, दुना टपरीबाट बन्ने फोहोरको सदुपयोग र वन जंगल विकासका लागि महिलाहरूलाई विशेष योजना तथा आर्थिक सहायता भने नदिएको सामुदायिक वनका महिलाहरू बताउँछन् ।

यद्यपि, वीरेन्द्रनगर आसपासका सहरी क्षेत्रहरूमा हरियाली विकासका लागि दुना टपरी व्यवसायले महत्वपुर्ण भूमिका खेलेको निर्देशनालयका प्रमुख शेरबहादुर श्रेष्ठले बताए ।

सुर्खेतमा दुना टपरी बनाउने व्यवसाय उद्योगको रूपमा विकास हुँदै गयो । तर, दुना टपरीबाट निस्कने फोहोर सदुपयोग गरेर आर्थिक आम्दानी गर्ने सक्ने सम्भावनाहरूकाबारेमा स्वयं सामुदायिक वन समूह र स्थानीयतह अनभिज्ञ छन् ।

सन् २०१८ मा वन अनुसन्धान ताथ सर्वेक्षण विभागले गरेको एक सर्वेक्षण अनुसार सुर्खेतको वन क्षेत्र ८० हजार दुई सय २६ हेक्टर क्षेत्रफलमा फैलिएको थियो । तर अहिले जंगलको क्षेत्रफल बढेर ८० हजार ८ सय ३१ हेक्टर पुगेको छ । यसरी वनको क्षेत्रफल बढ्नुमा सामुदायिक वनको संख्या बढ्नु र वनजंगल संरक्षणमा महिलाहरूको सक्रियता अभिवृद्धि हुनु प्रमुख कारण भएको वन कार्यालय सुर्खेतका सूचना अधिकारी निरज श्रेष्ठले बताउँछन् ।

अहिले सुर्खेतमा २ सय ७१ वटा सामुदायिक छन् । वीरेन्द्रनगर नगरपालिकामा मात्र १४ वटा सामुदायिक वनको नेतृत्व महिलाले गरेका छन् ।

दुना टपरी बनाउने सीप नयाँ होइन । तर यो सीपले सुर्खेतमा २०७० सालदेखि व्यवसायिक रूप लिन थालेको हो । सुर्खेतमा पहिलो पटक २०७३ सालमा रामजानकी दुना टपरी उद्योग दर्ता भएर सञ्चालनमा आएपछि यस व्यवसायले गति लिन थालेको हो । दुना टपरी व्यवसायले आर्थिक आम्दानी बढाउन थालेपछि अन्य ९ वटा कम्पनीले यस्ता उद्योगहरूलाई व्यवसायिक बनाउदै लगेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल बताउँछन् । अहिले सुर्खेतभरि दुना टपरी उद्योगमा १ सय ५० जना भन्दा बढी महिला सामेल छन् ।

सेतु जस्तै न्यून आय भएका अन्य एकल महिलाहरूका लागि दुना टपरी व्यवसाय आत्मनिर्भर बन्न गज्जबको उपाय बनेको छ । वीरेन्द्रनगर– ५ बस्ने ६० वर्षीया ज्ञानु अधिकारी पनि पैसा कमाउन दुना टपरी बनाउन थालेकी छिन् । उनी पनि एकल महिला हुन् । विगत ५ वर्षदेखि सुर्खेतको चिसापानीस्थित राम जानकी उद्योगमा दुना टपरी बेच्दै आएकी छिन् । उनी भन्छिन्, ‘औषधि खाना, लत्ताकपडा सबै यही दुना टपरीबाटै जोहो गर्छु ।’ अधिकारी मासिक १५ देखि २० हजार रूपैयाँसम्म कमाउने गर्छिन् । राम जानकी उद्योगमा अहिले १३ जना महिलाहरू कार्यरत छन् ।

नन्दा गुरूङ दुना टपरी बनाउने सुर्खेतकी पुराना व्यवसायी हुन् । सुर्खेतमा २०७३ सालदेखि दुना टपरी बनाउने सीप व्यवसायिक बन्दै गएको उनी बताउँछिन् । गुरूङका अनुसार वीरेन्द्रनगर बजारमा ३ वर्षदेखि दुना टपरीको माग बढ्दो छ । वीरेन्द्रनगरमा मान्छेको चहलपहल धेरै हुने भएकोले ठूला तथा साना होटलहरु सञ्चालनमा छन् । होटलहरूले अहिले अग्र्यानिक प्लेटको रूपमा दुना टपरीको प्रयोग हुने गरेको उनको अनुभव छ ।

गुरूङका अनुसार पानीपुरी पसल, ठेला तथा होटलहरूमा दुना टपरीको माग बढ्दो छ । ‘महिला दिदी–बहिनीहरूसँगै मिलेर दुना, टपरी बनाउदा कमाई र रमाई दुवै हुन्छ’, उनी भन्छिन् । ज्योतिष खगेन्द्र अधिकारी टपरी निकै शुभ र चोखो मानिने भएकाले पूजा–आजामा यसको प्रयोग अनिवार्य भएको बताउँछन् । ‘दुना टपरी आफैँ कुइएर जाने र व्यवस्थापन गर्न पनि सहज हुन्छ’, उनी भन्छन् ।

वनको संरक्षण

रामजानकी सामुदायिक वनका सचिव रामबहादुर गुरूङका अनुसार जंगलबाट पात ल्याउनेदेखि मेसिन चलाउनेसम्म काम महिलाहरूले नै गर्छन् । महिलाहरूको दुना टपरी निर्माण गर्ने कार्यसमिति बनेको छ । कार्यसमितिमा रामबहादुर मात्र एक्लो पुरूष हुन् । उनी भन्छन्, ‘म मात्रै कार्यसमितिमा पुरूष छु ।’

रामजानकी दुनाटपरी उद्योगले सामुदायका महिलाहरू व्यवसायिक बन्दै गएपछि उद्योगको लागि भवन निर्माण गरेको पनि बताउँछन् । गुरूङका अनुसार टपरीको उत्पादनलाई दोब्बर गर्ने स्थानीय सिमान्तकृत महिलाहरूको क्षमता अभिवृद्धि गर्ने काम भइराखेको छ । दुना टपरीको बजारीकरणमा पनि सामुदायिक वनले सहयोग गरिराखेको छ । ‘वनमा झरेका पातहरू बटुलेर टपरी बनाउदा जंलगमा आगलागी घटेको छ’, गुरूङ बताउँछन् ।

सामुदायिक वनको संरक्षण र चोरीनिकासी नियन्त्रण गर्ने २ जना वन हेरालु पनि राखिएको वीरेन्द्रनगर–५ का अध्यक्ष लोकबहादुर शाही बताउँछन् । गाँउमा युवा नभएकाले प्रायः धेरै काममा महिलाहरू खटिएका छन् । वनजंगलमा आगलागी हुँदा, वृक्षरोपण गर्दा महिलाहरू नै अघि सर्ने शाही बताउँछन् ।

२ सय ७३ हेक्टरको रामजानकी सामुदायिक वनभित्र ७२ हजार ८ सय वटा साल, विभिन्न घाँसका नयाँ बिरूवा लगाइएको उनले बताए । महिलाहरूले वन संरक्षण गर्ने थालेपछि चोरी सिकारी र आगलागीका घटनामा निकै कमी आएको उनको भनाइ छ । शाही भन्छन्, ‘सामुदायिक वन व्यवस्थापन र दुना टपरी उद्योगका व्यवस्थापनका लागि नगरपालिकासँग हामीले कुनै माग गरेका थिएनौ । तर अब यस व्यवसायलाई अगाडि बढाउन बजेट माग गर्ने योजना बनाएका छौँ ।’

वीरेन्द्रनगर–५ चिसापानीका ६५ वर्षीय स्थानीय दुर्गालाल सापकोटा २०७५ साल यता सामुदायिक वन फैलिदै गएको बताउँछन् । त्यसअघि वनमा काठको चोरी निकासी हुने र नियमित वनमा वृक्षरोपण नहुने समस्या रहेको उनी स्मरण गर्छन् ।

स्थानीय अर्थतन्त्र

स्थानीय होटल व्यवसायले प्लाष्टिकको प्रयोग घटाउदै गएको वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद उप–शाखा प्रमुख यामलाल गिरी बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयको वातावरण तथा जलवायु संकायका डीन सुदीप ठकुरी भन्छन्, ‘प्राकृतिक रूपमा पाइने पातको प्रयोगले प्लाष्टिकजन्य वस्तु प्रयोगमा कमी ल्याइरहेको छ । दुना टपरीले प्रयोगले जलवायुमा पनि असर पर्दैन । र व्यवस्थापन गर्न पनि सहज हुन्छ ।’

‘खबाट झरेर पात आखिर जंगलमै कुहिएर जाने हो । तर यसलाई टिपेर यसरी दुना टपरी बनाउँदा आय आर्जनसँगै वातावरणीय रूपमा पनि राम्रो हुन्छ । दुना टपरी प्रयोगपछि व्यवस्थापन गर्दा मल बन्छ । यसरी मल बनाउने र हरित गृह ग्याँस उत्पादनमा पनि सहयोग हुन्छ । तर, स्थानीय सरकारसँग फोहोरबाट ग्याँस निकाल्नेबारे कुनै योजना छैन ।

स्थानीयस्तरका बेरोजगार जनशक्तिलाई उत्पादनमा जोड्न दुना टपरी उद्योगको विशेषता रहेको उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल बताउँछन् । उनी भन्छन्, ‘सरकारले पनि सानो लगानीबाट नागरिकको जिविकोपार्जनका लागि राहत दिने यस्ता खालका उद्योगहरूलाई दर्ता गर्न सहजता हुने गरी कानूनी व्यवस्था गर्नुपर्छ ।’

वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले दुना टपरी उद्योगलाई प्रवद्र्धन गर्ने योजनाकाबारेमा छलफल भइरहेको बताउँछिन् । दुना टपरी उद्योग सञ्चालकहरुले मागसहित सहयोगका कार्यक्रमहरू प्रस्ताव पेश गर्न आग्रह गरिए पनि अहिलेसम्म त्यस्ता प्रस्तावहरू नआएको उनी बताउँछिन् । ढकालले फोहोरबाट ग्यास निकाल्नका लागि नगरपालिकासँग तत्काल कुनै योजना नभएको बताइन् ।

हरित अर्थतन्त्रमा महिला

रामजानकी दुना टपरी उद्योग सञ्चालन गरिरहेका ती महिलाहरूले पात टिपेको क्षतिपूर्तिका रूपमा सामूहिक वृक्षरोपण गर्छन् । सामुदायिक वनका अध्यक्ष जगतबहादुर भण्डारी चिसापानीको सामुदायिक वनमा महिलाहरूले अनावश्यक झारी फाँडेर सरसफाइको काम गरिरहेका बताउँछन् ।

छाडा पशु चौपाया पनि नियन्त्रणमा छन् । काठ तस्करी रोकिएको छ । भण्डारीका अनुसार महिलाहरू पात संकलनका लागि जंगल जाँदा वनपैदावर तथा वन्यजन्तुको चोरी निकासी, वन फडानी नियन्त्रणमा सघाउ पुगिरहेको छ । सरकारसँग पनि जंगलमा खेर गइरहेका वन पैदावारको स्थानीयस्तरमा खपत गर्ने नीति नभएकाको जंगल व्यवस्थापन सजिलो नभएको अध्यक्ष भण्डारीको भनाइ छ ।

कर्णाली प्रदेश वन निर्देशनालयका सूचना अधिकारी सूर्य शर्माका अनुसार महिलाहरूले वनजंगल संरक्षणको निर्णय लिँदा पुरूषहरूलाई पनि सहभागी गराउने गर्छन् । महिलाहरू प्रकृति निकट हुने भएकाले रूख कटान, बिक्री वितरण जस्ता काम नियन्त्रणमा आएका छन् । शर्मा भन्छन्, ‘महिलाले जिम्मेवारी लिएका वनहरुमा पनि आर्थिक अवस्था पारदर्शी पनि हुने गरेको छ ।’

नीति पालना गरेर काम गर्ने भएकाले सामुदायिक वन संरक्षणमा महिलाहरू सफल देखिएका वन निर्देशनालयको ठहर छ । कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक केशव बस्यालका अनुसार प्रदेश वातावरण संरक्षण ऐन २०७७ अनुसार सुर्खेत जिल्लामा पनि हरियाली क्षेत्रको प्रवद्धनको काम भइराखेको छ ।

नगर हयिाली प्रवद्धन कार्यक्रम, पार्क निर्माण, जलाधार व्यवस्थापन, महिला कृषि हरियाली वन प्रबद्र्धन कार्यक्रम कार्यन्वयनमा आएका छन् । सहरी वनका लागि मन्त्रालयले करिब १३ लाख बिरूवा सामुदायिक वनलाई उपलब्ध गराइसकेको बस्यालले जानकारी दिए ।

सुर्खेतको हरित आर्थिक वृद्धिका लागि सामुदायिक वनका महिलाहरूले श्रम र समय दुवै खर्चेको बस्याल बताउँछन् । उनकाअनुसार वीरेन्द्रनगरको पूर्वतर्फको धुलाविटदेखि पश्चिम बागेंसिमलसम्म १ हजार बिरूवा प्रदेश वन निर्देशनालयबाट वृक्षरोपण भइसकेको छ । यद्यपि, कर्णाली प्रदेशको वायुको गुणस्तरीयताको अवस्था मापन गर्ने मन्त्रालयले प्रविधिहरूको मर्मत कार्य भने गरिएको छैन ।

वनमा महिला नेतृत्व

वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष भवानीप्रसाद अधिकारकाअनुसार कर्णाली प्रदेशमा सामुदायिक वनमार्फत दुना टपरीको व्यवसाय विस्तार भइराखेको छ । वन नियमावली अन्तर्गतको सामुदायिक वन मार्गदर्शन २०६५ मा वन व्यवस्थापन, स्रोत र कोष परिचालनमा महिलाको सहभागीता बढाउने नीतिले पनि सामुदायिक वनको नेतृत्व लिन अवसर महिलाले पाएका हुन् । वन उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानीका अनुसार पनि ‘महिलाले चलाएका वनका गतिविधि विवादरहित र आर्थिक रूपमा पारदर्शी छन् ।

कर्णाली प्रदेश वन निर्देशनालयका सूचना अधिकारी सूर्य शर्माका अनुसार सामुदायिक वनको उपभोक्ता समितिमा अनिवार्य ५० प्रतिशत महिला हुनैपर्ने प्रावधानले दुना टपरी उद्योग सञ्चालन गरिरहेका महिलाहरूले नेतृत्व लिने अवसर पाएका हुन् । २०७३ देखि शिवशक्ति सामुदायिक वनमा स्थानीय मिना आर्चायले नेतृत्व लिएपछि वनमा धेरै परिवर्तन आएको स्थानीय वातावरण संरक्षणमा काम गरिरहेका अधिकारीहरू बताउँछन् ।

शिवशक्ति सामुदायिक वनमा तारबार गरेर चरिचरण रोकिएको छ । २ वटा पोखरीमा पानी पुनःभरण र ४ वटा रिचार्ज पोखरी र २ वटा खाने पानीका धारा निर्माण भइसकेका आचार्य बताउँछिन् । शवशक्ति सामुदायिक वनले जंगल फडानी र आगलागी नियन्त्रण महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको उनको भनाइ छ ।

मिना नेतृत्वको समूहले वन संरक्षणमा सक्रियता देखाएपछि पुरूषहरूको पनि वन संरक्षणमा सक्रियता बढेको अध्यक्ष आचार्य बताउँछिन् । सामुदायिक वनबाट थप आयआर्जनको लागि अम्रिसो रोप्ने र त्यसको सामूहिक संरक्षण पनि गर्दै आएका छन् । सामुदायिक वनमै रिचार्ज पोखरीहरू बनेपछि गरेपछि जंगली जनावरलाई पानी पिउन बस्तीसम्म पुग्ने जोखिम कम भएको वीरेन्द्रनगर– १० र ११ का स्थानीय बताउँछन् ।

फोहोरमैला व्यवस्थापन

सुर्खेतको वीरेन्द्रनगरमा दैनिक कुइने र नकुइने १२ टन हाराहारी फोहोर उत्पादन हुन्छ । वीरेन्द्रनगरको फोहोर व्यवस्थापन क्षेत्रमा अध्ययन गरिरहेका कृष्णप्रसाद ढकालका अनुसार प्लाष्टिक प्रशोधन गर्ने, कागज प्रशोधन गर्ने र कुहिने फोहोरको उधोग सञ्चालन गर्ने सकिन्छ । केपी व्यवसायिक केन्द्रमार्फत २०७६ सालदेखि नगरउन्मुख फोहोरबाट प्रांगारिक मल तथा ग्याँस उत्पादन उद्योग सुरू भइरहेको छ ।

उद्योगले फोहोरको प्रयोगबाट प्रांगारिक मल तथा ग्यास उत्पादन गर्दे आएको छ । ढकाल भन्छन्, ‘मल बजारमा बिक्री गर्ने गरेका छौँ भने ग्यासबाट खाना पकाउने र गाडी चलाइरहेका छौँ ।’ उनका अनुसार बजारमा हाल २ सय किलो ग्यास उत्पादन हुन्छ । त्यसैबाट दैनिक ३ वटा अटो पनि चलेका छन् । बाँकी ग्यासको खपत भइरहेको छैन । ‘हामीले ग्यास उत्पादन भइरहेको तर बजार मागअनुसार उत्पादन हुन धेरै चाहिन्छ जुन अहिले अलि सम्भव छैन । तर भएका ग्याँसको बजारीकरणमा नगरपालिकाले समन्वय गर्नुपर्छ । वन तथा जंगलबाट पनि सुकेका पातपतिंगर पनि संकलन गरेर बायो ग्यास उत्पादन गरिएको छ’, ढकालले बताए ।

वीरेन्द्रनगरमा पछिल्लो समय बस्ति विकास भएसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको वीरेन्द्रनगर नगरप्रमुख ढकाल बताउँछिन् । कुहिने फोहोर व्यवस्थापनका लागि कौशी खेती, किचन गार्डेनको कामलाई नगरपालिकाले मल, बिउ जस्ता आवश्यक वस्तुहरूका लागि सहजिकरण गर्नेदेखि राम्रो गर्नेलाई सम्मान गर्ने समेत बताएको छ । दुना, टपरी जस्ता पातपतिंगरको प्रयोगबाट वायु ग्यास उत्पादन र वितरणका गर्ने योजनाबारेमा पनि छलफल भइरहेको ढकालले बताइन् ।

सन् २०२४ मा वातावरण विपद व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनको लागि उत्कृष्ट नगरपालिका रुपमा सुर्खेत जिल्ला पुरस्कृत भएको हो । नगरक्षेत्रभित्रको वृक्षरोपण, सरसफाई, विपद् व्यवस्थापन राम्रो भएकाले उक्त पुरस्कार पाएको ढकालले बताइन् । वीरेन्द्रनगर नगरपालिका विपद् व्यवस्थापन शाखामा कार्यरत यमलाल गिरीका अनुसार नगरपालिकाबाट नकुइने फोहोर व्यवस्थापन कार्य प्रभावकारी रूपमा भइरहेको छ । उनकाअनुसार कुइने फोहोर नगरबाट बायोग्यास उत्पादक व्यवसायीलाई पठाउने गरिएको छ ।

नगर क्षेत्रबाट संकलन हुने फोहोरबाट उत्पादन भएको ग्याँसको प्रयोग गरि अटो सञ्चालन भइरहेको छ । वन डढेलो नियन्त्रणका लागि नगरमा तालिम प्राप्त जनशक्तिसहित दमकलको व्यवस्था गरिएको छ । वीरेन्द्रनगर नगरपालिका– ५ का वडा अध्यक्ष लोकबहादुर शाहीका अनुसार पहिले वनमा झर्न थालेका पातहरू जंगलमै हुन्थ्यो । आगलागी नियन्त्रण गर्न अफ्ठ्यारो हुन्थ्यो । अहिले झर्न थालेका पात दुनाटपरी बनाउन प्रयोग हुन थालेपछि जंगलमा आगलागी कम भएको छ । विपत व्यवस्थापन शाखाले डढेलो नियन्त्रणका लागि हरेक वडालाई ५० हजार रूपैयाँका दरले बजेट विनियोजन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

विगत १७ वर्षदेखि सुर्खेतमा चाट पसल सञ्चालन गर्दै आएका युवा व्यवसायी सन्दीप यादवले भने, ‘पहिले पहिले सुर्खेतमा दुना टपरी पाइँदैन थियो । प्लाष्टिक प्लेटमा चाट बिक्री वितरण गथ्र्यौँ । त्यसलाई व्यवस्थापन गर्न पनि झन्झट हुन्थ्यो । २०७४ सालदेखि दुना टपरी नै प्रयोग गर्न थालेपछि अहिले बोरामा जम्मा गरेका दुना टपरीहरू नगरले लगिदिन्छ । यसले वातावरण प्रदूषण न्यूनीकरण गर्न पनि सहयोग पुगेको छ ।’

गत वर्षको १४ चैतमा न्युजअफनेपाल अनलाइन पोर्टल र युग आह्वान दैनिकमा प्रकाशित । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार