धमाधम बन्द हुँदै जडिबुटी उद्योग

मीन ठकुरी
६ मंसिर, धनगढी।

सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा जडिबुटीका लागि धनी मानिन्छ । यहाँ रातोच्याउ, पदमचाल, चिराइतो, अल्लो, कुट्की, पाषणवेद, लेकपाङ्कर, टिमुर, तितेपाती, जटामसी, सुगन्धवाल जस्ता महत्वपूर्ण जडिबुटी पाइन्छन् ।

यस्तै जडिबुटीको सम्भावना देखेर ७० को दशक सुरूवातमै बाजुरामा ४ वटा जडीबुटी प्रशोधन केन्द्र खुले । ती केही समय ‘धकेलगाडी’ झैँ चले । अन्ततः अहिले बन्द छन् ।

बाजुराको हिमाली गाउँपालिका नेटामा रहेको जडिबुटी प्रशोधन केन्द्र, खप्तड छेडेदह गाउँपालिकाको काँडा गाउँको जडिबुटी प्रशोधन केन्द्र र बडिमालिका नगरपालिकाको भौनेलामा रहेको जडिबुटी प्रशोधन केन्द्र हाल बन्द अवस्थामा छन् । गौमुल गाउँपालिकाको दह गाउँको जडिबुटी प्रशोधन केन्द्र भने गत वर्ष तुषारगाढ खोलामा आएको बाढीले बगाएपछि बन्द छ ।

पर्याप्त जडिबुटी भए पनि प्रशोधन गरी निकालिएको तेलले बजार नपाउँदा जडिबुटी प्रशोधन केन्द्र बन्द अवस्थामा रहेका बाजुराका जडिबुटी व्यवसायी धनलाल रोकायाले बताए । उनले भने, ‘यहाँ उत्पादित तेलको बजार भनेको नेपालगञ्ज हो । नेपालगञ्जका व्यापारीले मनोमानी मूल्य तोकिदिँदा उद्योगहरू घाटामा गएपछि बन्द रहेका छन् ।’

सामुदायिकस्तरबाटै सञ्चालित ती चारवटै उद्योगबाट केही समय राम्रै उत्पादन भए पनि उत्पादित तेलले उचित मूल्य र बजार नपाउँदा समस्यामा परेको उनको भनाइ छ । बाजुराको जस्तै हालत यहाँका अन्य उद्योगको पनि छ । कैलालीको लम्कीचुहा नगरपालिकामा ३ जना व्यवसायी मिलेर सगरमाथा जडिबुटी उद्योग सञ्चालनमा ल्याए ।

मेन्था, क्यामोमाइललगायत प्रशोधनका लागि आउने सबै प्रकारका वनस्पतिको प्रशोधन गरेर तेल निकाल्न उद्योग सञ्चालनमा ल्याइएको थियो । सुरूको पहिलो लटमा उद्योगीले किसानमा लगानी गरेर क्यामोमाइल खेती लगाए । तर किसानले उत्पादन गरेको क्यामोमाइलबाट एक गुणा पनि फाइदा भएन । ‘किसानले ४० हजार लगानी गरेर क्यामोमाइल लगाए,’ उद्योग सञ्चालक खडानन्द सापकोटाले भने, ‘उत्पादित क्यामोमाइलबाट २ हजार रूपैयाँ बराबरको तेल उत्पादन भयो । किसानसँगै हामी पनि घाटामा गयौँ ।’ लगत्तै कोरोना आएपछि उद्योग पनि बन्दै रह्यो ।

एक करोड १० लाख रूपैयाँको लागतमा स्थापना भएको उद्योग सञ्चालनमा नआउँदै अन्ततः व्याज तिर्नमै ठिक्क भएको उनी बताउँछन् । ‘उद्योग खोल्यौँ, फाइदा भएन, लगत्तै कोरोना आयो,’ उनले भने,‘उद्योग खोल्दा लिएको बैंक ऋणको व्याज तिरिरहेका छौँ ।’

जडिबुटी व्यवसायी तथा नेचुरल हर्बल उद्योग कञ्चनपुरका प्रतिनिधि दशरथ चन्दले सरकारको स्पष्ट नीति नभएकै कारण जडीबुटी व्यवसायी मारमा परिरहेको बताए । उनले भने, ‘जडिबुटी निकासी तथा प्रशोधनका लागि सरकारको स्पष्ट नीति नै छैन । जसले गर्दा अमूल्य जडीबुटी त्यत्तिकै खेर जानुका साथै सरकारले राजस्व गुमाइरहेको छ ।’

सरकारले जडिबुटी संकलन गर्न दिने नियम ल्याए पनि निर्यात गर्न भने दिएको छैन । ‘सरकारले झ्याउ संकलनका लागि इजाजत दिएको छ,’ चन्दले भने, ‘तर, संकलित झ्याउ नेपालमा प्रशोधन हुँदैन । भारत निकासीका लागि प्रतिबन्ध छ ।’

बर्सेनि सुदूरपश्चिमका पहाडका जिल्लाबाट झ्याउ संकलन भइरहेको बताउँदै उनले भने, ‘त्यो झ्याउ व्यापारीले नेपालगञ्जसम्म वैधानिकताका साथ लैजान्छन् । तर त्यहाँबाट भने चोरीको बाटोबाट भारत निकासी हुन्छ, जसले गर्दा नेपालको राजस्व गुमिरहेको छ ।’

जडीबुटीमा सरकारको स्पष्ट नीति नभएरै पनि सञ्चालनमा आएका जडिबुटी उद्योगहरू बन्द हुँदै गइरहेका पनि चन्दले बताए । सरकारले क्वारेन्टाइनको नीति पनि सहज बनाउनुपर्ने उनी बताउँछन् । ‘सुदूरपश्चिममा जडिबुटीको गुणस्तर मापन गर्ने क्वारेन्टाइन नहुँदा पनि यहाँको गुणस्तरीय जडिबुटी कम मूल्यमा बेच्नु परिरहेको छ,’ चन्दले भने, ‘त्यही कारणले पनि जडिबुटी व्यवसायीदेखि उद्योगहरू धराशायी हुँदै गएका छन् ।’

अहिले लम्कीको सगरमाथा जडिबुटी उद्योग, गोदावरीको मेचीकाली जडीबुटी उद्योग, गोदावरीकै चौकीडाँडा प्रशोधन केन्द्र, धनगढी–३ को बडहरा प्रशोधन केन्द्र, शुक्लाफाँटाको दीपशिखा प्रशोधन केन्द्र, शुक्लाफाँटाकै शिखर सामुदायिक वन समूह प्रशोधन केन्द्र, भीमदत्त नगरपालिकाको आर्या अर्गानिक हर्बल प्रालि बन्द छन् ।

त्यसैगरी बाजुरा खप्तड छेडेदहको जडिबुटी प्रशोधन केन्द्र, बडिमालिकाको भौनेलामा रहेको जडिबुटी प्रशोधन केन्द्र, गौमूल बाजुराको जडिबुटी प्रशोधन केन्द्र, हिमाली गाउँपालिकाको जडिबुटी प्रशोधन केन्द्र र अमरगढी डडेल्धुराको सेती महाकाली जडिबुटी प्रशोधन केन्द्र बन्द अवस्थामा छन् ।

वनस्पती अुनसन्धान केन्द्र देवरिया, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुर, विष्णु सामुदायिक वन उपभोक्ता समूह प्रशोधन इकाई कैलारी, मनपिया सामुदायिक वन प्रशोधन इकाई गोदावरी र गणेश सामुदायिक वन उपभोक्ता समूह प्रशोधन इकाई धनगढी भादा पनि चालू अवस्थामा रहे पनि तर कच्चा पदार्थ नपाएर अहिले बन्द अवस्थामा छन् । सुदूरपश्चिम जडिबुटीको प्राकृतिक ‘जिन बैंक’ भएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका वरिष्ठ वैज्ञानिक अधिकृत गंगादत्त भट्ट बताउँछन् । उनका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी जडिबुटी खप्तडमा पाइने गरेको छ ।

नासिँदै जडिबुटी

जडिबुटीको अथाह भण्डार भएको सुदूरपश्चिममा जथाभावी संकलन गरिदिँदा नासिन थालेका छन् । जडिबुटी संकलकहरूले जरैबाट जडिबुटी निकालिदिने, हाँगावाला जडिबुटी भए हाँगै भाँचिदिने पनि नासिन थालेका छन् । यस्तै, गर्मी मौसममा जंगलमा डढेलो लाग्नाले पनि जडिबुटीको वंश विनाश हुन थालेको गौरीगंगा–७ का वैद्य टोपबहादुर जोगी थारू बताउँछन् ।

डढेलोले वर्षौदेखिको उनको जडीबुटी दिएर उपचार गर्ने समाजसेवामा समस्या आएको छ । ‘बिरामीलाई जडिबुटी दिन मलाई फूर्सदै हुँदैनथ्यो,’ उनले भने, ‘अहिले जंगलमा डढेलो लाग्दा जडिबुटी नासिएका छन् । जसले गर्दा दिनभरी जडिबुटी खोज्नु परेको छ ।’

डढेलोले वन सखाप हुनुका साथै वनभित्रका बहुमूल्य जडिबुटी पनि नासिने चिन्ता थपिएको उनी बताउँछन् । ‘हाम्रो यो वनमा अत्याधिक मात्रामा जडिबुटी छ,’ उनले भने, ‘हरेक वर्ष जंगलमा डढेलो लाग्दा पहिलेको जसरी जडिबुटी पाउनै सकिएको छैन ।’ जंगल जोगाउन मात्रै नभई त्यहाँ रहेका जडिबुटी संरक्षणका लागि पनि सम्बन्धित निकाय जाग्नुपर्ने थारू बताउँछन् ।

पछिल्लो समयमा सुदूरपश्चिमको जंगलमा डढेलो सल्कँदा बहुमूल्य जडिबुटी नासिने चिन्ता थपिएको संरक्षणका क्षेत्रमा काम गरिरहेकी गौरी लामा बताउँछिन् । हरेक वर्षको डढेलोले सुदूरपश्चिममा पाइने २ सय ५० भन्दा बढी जडिबुटी नासिने सम्भावना रहेको उनले बताइन् ।

सुदूरपश्चिमका तराईमा भुइँ अमला, सर्पगन्धा, अस्र्वगन्धा, हर्रो, बर्रो, अमला, वन हलेदो, असुरो, गुर्जो, पिपली पहाडी भेगमा चुत्रो, दालचिनी, टिमुर, कुटकी, चिराइतो, पाँचऔलो, यार्सागुम्बालगायतका जडिबुटी पाइने गरेको बताउँदै उनले भनिन्, ‘महत्वपूर्ण जडिबुटीहरू सुदूरपश्चिमका वनजंगलमा पाइन्छन् ।’

डढेलोका कारणले यस्ता महत्वपूर्ण जडिबुटी नासिनुका साथै वंशै विनाश हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको लामाले बताइन् । ‘डढेलोले गर्दा जडिबुटीका बोटबिरूवा पूरै डढ्छन् भने त्यसका बीजहरू पनि पोलिएर नष्टहुँदा अर्कोपटक उम्रने सम्भावना न्यून हुन्छ,’ उनले भनिन, ‘त्यसैले पनि डढेलोले जडिबुटीलाई बढी प्रभावित पारेको छ ।’

सुदूरपश्चिममा व्यवसायिक रूपमा जडिबुटीको खेती नगरिएकाले जंगलकै भर पर्नुपरेको बताउँदै उनले भनिन्, ‘घरमा व्यवसायिक रूपमा खेती गरिएको भए बीउ त जोगिन्थ्यो । तर यहाँ सबै जडिबुटी जंगलमै रहेका कारण डढेलोले सखाप हुने सम्भावना बढी छ ।’ प्राकृतिक जडिबुटी डढेर नासिने र पुनः उत्पादन हुने नहुने निश्चित नभएकाले डढेलोले जडिबुटीको वंश विनाश हुने सम्भावना बढेको लामा बताउँछिन् ।

सुदूरका जंगलमा औषधीय गुण भएका थुप्रै जडिबुटी रहेको र त्यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै लामाले भनिन्, ‘जंगललाई डढेलोबाट जोगाउन सबैभन्दा पहिले वन व्यवस्थापन र समयमै अग्नि नियन्त्रण रेखा, कन्ट्रोल फायर जस्ता विधि अपनाउन आवश्यक छ ।’

प्रदेश वन निर्देशनालय धनगढीका वन निर्देशक हेमराज बिष्टका अनुसार डढेलोले जंगल मासिनुका साथै त्यहाँ रहेका बहुमूल्य जडिबुटी पनि मासिने गरेका छन् । सुदूरपश्चिममा थुप्रै जडिबुटी रहेको बताउँदै उनले भने, ‘सुदूरपश्चिममा तमामौ जडिबुटी छ, जंगलमा डढेलो लाग्नाले हुर्केका जडिबुटी नासिन्छन् ।’

जडिबुटी नासिनुको प्रमुख कारण डढेलो भए पनि जडिबुटी संकलनकर्ताहरूका कारण पनि समस्या रहेको उनी बताउँछन् । उनले भने, ‘जडिबुटी संकलन गर्दा जरैबाट निकालिदिने र हाँगाविँगा भाँचेर संकलन गर्ने गर्नाले पनि जडिबुटी नासिने गरेको छ ।’

छैन जडीबुटी नीति/ऐन

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मूल्यवान जडिबुटीको संरक्षण, समबद्र्धन तथा व्यवस्थापनका लागि छुट्टै नीति र ऐन भने ल्याउन सकेको छैन । मन्त्रालयले सुदूरपश्चिम प्रदेश वन नियमावली, २०७८ र वन ऐन २०७७ ल्याएको छ ।

उक्त ऐन र नियमावलीमा सुदूरपश्चिममा भएका मूल्यवान जडिबुटी संरक्षण, सम्बद्र्धन तथा व्यस्थापनको जिम्मेवारी डिभिजन वन कार्यालयलाई दिइएको छ । मन्त्रालयका उप–सचिव भरत श्रेष्ठले मन्त्रालयले भइरहेको जडिबुटी संरक्षण गरी उत्पादन बढाउने र जडिबुटी खेती गरेर बढाउने काम गरिरहेको बताए ।

उनले प्रदेशभर जडिबुटी खेती विस्तारका लागि आव २०८१/०८२ मा संघ सरकारबाट २ करोड ३० लाख र प्रदेश सरकारबाट ६० लाख रूपैयाँ बजेट विनियोजन भइ गत आवमा ३५ हेक्टर क्षेत्रफलमा जडिबुटी खेती विस्तारको काम भएको श्रेष्ठले जानकारी दिए । जडिबुटी खेती विस्तारका लागि चालु आर्थिक वर्षमा संघबाट १ करोड ८१ लाख र प्रदेश सरकारबाट ५२ लाख रूपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम जडिबुटीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले यसको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनका लागि दीर्घकालिन नीति आवश्यक भएको बताए । उनले प्रदेश सरकारले यस वर्ष गर्ने भनेको लगानी सम्मेलनमा सुदूरपश्चिममा जडिबुटीको सम्भाव्यताबारे जानकारी लिने उद्देश्य राखिएको भए पनि विशेष परिस्थितिका कारण सम्मेलन रोकिन पुगेको तर्क गरे ।

सचिव कोइरालाले जडिबुटीको गन्तव्य भारत र चीन भएकोले बजारको प्रचुर सम्भावना रहेको बताए । प्राकृतिक रूपमा रहेका जडिबुुटीलाई खुला चरिचरन, वन डढेलो र चोरी पैठारी रोक्न डिभिजन वन कार्यालय क्रियाशिल रहेको उनको भनाइ छ ।

सुदूरपश्चिममा जडिबुटी संकलन गरी जस्ताको त्यस्तै निकासी गर्नुभन्दा एक तह प्रशोधन गरेर विक्री गर्दा लाभ लिन सकिने कोइरालाले बताए । मूल्यवान जडिबुटीको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनका लागि छुट्टै नीति र ऐन ल्याउनका लागि छलफल सुरू गरिएको उनले जानकारी दिए ।

सुदूरपश्चिमका जडिबुटीको महत्व

जडिबुटी एवं गैरकाष्ठ वन पैदावर विकास नीति २०६१ का अनुसार नेपालमा पाइने ३३ प्रजातिका जडिबुटीमध्ये सुदूरपश्चिममा ३१ प्रजातिका जडीबुटी पाइन्छन् । दार्चुलाको अपि हिमाल र साइपालमा कुटकी, जटामसी, झ्याउ, पाँचऔंले, विष, यार्सागुम्बा, सतुवा जस्ता बहुमूल्य प्रकारका जडिबुटी पाइने वनस्पती अनुसन्धान केन्द्र कैलालीका वरिष्ठ वैज्ञानिक अधिकृत गंगादत्त भट्टले बताए ।

हिमाली क्षेत्रमा पाइने कुटकी बहुवर्षीय झारपात वर्गको जडिबुटी हो । ३ हजार ५ सयदेखि ४ हजार ८ सय मिटरसम्मको उचाइको भिरालो चट्टान फुटेर बनेको बलौटे माटोमा पाइने कुटकी जथाभावी रूपमा संकलन भइरहेकाले यसको पुनरूत्पादन तथा पुनरूस्थानमा असर नपर्ने गरी संकलन गर्नुपर्ने भट्टको भनाइ छ । रक्तविकार, पित्त, पित्त ज्वरो, रूघाखोकी, अजिर्ण, मधुमेह आदि रोगको उपचारमा कुटकीको प्रयोग हुने गरेको उनले बताए ।

बहुवर्षीय वासनादार झारपात वर्गको प्रजातिका रूपमा चिनिने ३ हजार २ सयदेखि ५ हजार मिटरसम्मको उचाईमा पाइने वहुमूल्य जडिबुटी हो–जटामसी । यसको उपयोगी भाग जरा हो । जराबाट निस्कने तेलमा रक्तचाप घटाउने, हृदयघात नियन्त्रण गर्ने र तनाव घटाउने रसायनिक तत्व रहेका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहदै आएको छ ।

तराईका फाँटदेखि उच्च हिमाली क्षेत्रसम्म पाइने झ्याउमा औषधीय गुण रहेको हुन्छ । विभिन्न किसिमका औषधि, खाद्य सामाग्री र अत्तर एवं अन्य सुगन्ध प्रशोधनका सामाग्रीहरू उत्पादन गर्न यो प्रयोग गरिन्छ ।

असोज, कात्तिक महिनामा फूल झरीसकेपछि संकलन गरिँदै आएको पाँचऔँले २ हजार ८ सयदेखि ४ हजार मिटरसम्मको उचाइमा पाइन्छ । प्राकृतिक अवस्थामा यसको फैलावट एकदमै कम भएका कारण अस्तित्व संकटमा पर्ने गरी संकलन गर्न नहुने अधिकृत भट्टले बताए । आधिकारिक निकायबाट सर्वेक्षण गराएर यसको संकलन गर्नुपर्ने बताउँदै उनले भने, ‘पाँचऔंलेको जरा बलबर्धक/शक्तिबर्धक जडिबुटीको रूपमा प्रयोग गरिन्छ ।’

पाँचऔँले २ हजारदेखि ४ हजार ८० मिटर उचाइमा पाइने विष झारपात वर्गको वनस्पतीका रूपमा चिनिन्छ । यसको उपयोगी भाग गाना/जरा भएकोले औषधीको रूपमा प्रयोग गर्दा निकै सावधानी अपनाउनु पर्दछ ।

सुदूरपश्चिमका हिमाली दार्चुला र बझाङका हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा हिउँले ढाकिने ३ हजार ९ सय देखि ५ हजार १ सय मिटरसम्मका हिमाली घाँसे मैदानहरूमा पाइन्छ । स्रोत सर्वेक्षण गरेर मात्र संकलन गर्नुपर्ने यार्सागुम्बा यी जिल्लामा जथाभावी रूपमा संकलन हुँदै आएको छ ।

यौनवद्र्धक जडिबुटीका रूपमा समेत चिनिँदै आएको यार्सागुम्बा नेपालबाट चामल, चिया तथा रक्सीमा धुलो मिसाएर विदेश निर्यात हुँदै आइरहेको छ । वन नियमावली २०७९ अनुसार यार्सागुम्बाको राजश्व प्रति किलोग्राम ३१ हजार रूपैयाँ तोकिएको छ ।

बहुवर्षीय झारपात वर्गमा पर्ने अर्को महत्वपूर्ण जडिबुटी हो– सतुवा । यसको उपयोगी भाग जरा भएकोले यसको अत्यधिक मागका कारण यसको संख्या घट्दै गएको छ । घरेलु उपचार पद्धति र आयुर्वेदिकका रूपमा सतुवाको प्रयोग हुँदै आएको वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको मिनी स्वर्गका रूपमा चिनिने खप्तड क्षेत्रमा पाचऔँले र सतुवा पाइन्छ । खप्तड आसपासका वस्तीमा यस्ता वनस्पतीको प्रवद्र्धन गर्न सके रोजगारीसँगै आर्थिक लाभ मिल्ने देखिन्छ । सुदूरपश्चिमका पहाडी जिल्लामा पाइने चिराइतोले जडिबुटीको व्यापारमा प्रमुख स्थान ओगटेको छ ।

पहिलो वर्षमा हुर्कने र दोस्रो वर्षमा बढ्ने फूल र बीउ लाग्ने चिराइतोको सम्पूर्ण भाग औषधीयुक्त भएको हुँदा पूरै बिरूवा संकलन गरिँदै आएको बजुराका डिभिजन कार्यालयका वन अधिकृत सुरेशचन्द्र डिसीले बताए । बहुवर्षीय वनस्पतीका रूपमा चिनिने सुगन्धवालका जरा र काण्ड उपयोगी भाग हुन् । जराबाट निकालिएको तेल विभिन्न किसिमका सुगन्धित वस्तु बनाउन र विभिन्न किसिमका औषधि निर्माणमा प्रयोग हुने गरेको डिसीको भनाइ छ ।

३ हजार २ सयदेखि ४ हजार २ सय मिटरको उचाइमा पाइने पदमचालको काण्ड र जरा उपयोगी मानिन्छ । आयुर्वेदिक प्रणालीअनुसार यसको काण्ड र जरा जुलाफ लगाउने, कब्जियत हटाउने, शक्तिवर्धक पाचन, तागत दिने, पखाला लाग्ने रोगको औषधिमा प्रयोग हुने गरेको जनाइन्छ ।

बहुवर्षीय झारपात वर्गको जडीबुटी पाषाणभेद महाभारत श्रृंखलाको चट्टानयुक्त पाखाहरूमा पाइन्छ । आयुर्वेदिक चिकित्सा पद्धतिमा यसको काण्ड ज्वरो, तागत, पखाला, कफ, हृदयरोग, पेट दुखेको, आउँ आदिको औषधी निर्माण र पत्थरी रोगको उपचारमा प्रयोग गरिन्छ । रातो च्याउमा हाम्रो शरीरमा भएको विषाक्त पदार्थहरू बाहिर फाल्ने तत्व हुन्छ । प्रेसर, सुगर, कोलेस्टोरल, क्यान्सर रोगीहरूका लागि यो धेरै लाभदायी मानिन्छ ।

यसैगरी सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा भुइँ अमला, सर्पगन्धा, अस्वर्गगन्धा, हर्रो, बर्रो, अमला, वन हलेदो, असुरो, गुर्जो पिपली लगायतका जडिबुटी पाइन्छन् । भुइँ अमला, अमलाको औषधीय गुण पाइल्स र भिटामीन सी हुन्छ । सर्पगन्धा उच्च रक्तचाप, मानसिक तनाव, अस्वर्गगन्धाले शक्ति प्रदान, बर्रो, हर्रोको पेटसम्बन्धी, टिमुर मुखको रोग, ससुरोको ज्वरो र खोकी, पिपली दम खोकी, दालचीनी मसला तथा दम खोकीको औषधीय गुण पाइने गरेको सुदूरपश्चिम आयुर्वेदिक चिकित्सालय धनगढीका वैद्य निरीक्षक सुरेन्द्रबहादुर शाही बताउँछन् ।

व्यवसाय प्रबद्र्धन गर्न निःशुल्क बिरूवा

वनस्पती अनुसन्धान केन्द्र कैलालीले जडिबुटीका गुणस्तरीय बिरूवा उत्पादन गरी व्यवसायिक रूपमा जडिबुटी खेती गर्न चाहने सर्वसाधारण, कृषक, संघ/संस्थालाई औषधीजन्य प्रजातिका बिरूवा निःशुल्क वितरण गर्दै आएको छ । केन्द्रले कुरिलो, सर्पगन्धा, सितल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, गुर्जो, इमिली, सतिसाल, अर्जुनलगायतका प्रजाति उत्पादन गरी वितरण गर्दै आएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत गंगादत्त भट्टले बताए ।

केन्द्रले २०७८/०७९ मा १ लाख, २०७९/८० मा १ लाख ३० हजार, २०८०/०८१ मा ५२ हजार र २०८१/०८२ मा ५३ हजार औषधिजन्य बिरूवा सुदूरपश्चिम भर वितरण गरेको उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्राकृतिक वातावरणमा जडीबुटी पाइने स्थानको पहिचान गरी उक्त क्षेत्रमा समूह, सहकारी तथा इच्छुक व्यक्तिलाई जडीबुटी खेतीको दिगो व्यवस्थापनका लागि तालिम, दिगो संकलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र प्राविधिक सल्लाह प्रदान गरिँदै आइएको वनस्पति कार्यालयले जनाएको छ ।

जडिबुटी खेती विस्तारका लागि यहाँका समूह, सहकारीमा आबद्ध किसानलाई अनुदान उपलब्ध गराइने भट्टले बताए । पछिल्ला केही वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट रिठ्ठा, तेजपात, काउलो, पाषाणभेद, अमला, झ्याउ, सुनाखरी, चुत्रो, सतुवा, कुटकी, सगन्धवाल, चिराइतो, सतावरी, सेतक चिनी, टिकमुर, यार्सागुम्बा, जटामसी, बोझो स्वदेशी तथा विदेशी बजारमा गएको पाइएको वनस्पती अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा पाइने ५ सय २ प्रजातिका औषधीय गुण भएका वनस्पती प्रजातिहरूको अभिलेख तयार गर्ने काम सम्पन्न भएको केन्द्रका वरिष्ठ भट्टले जानकारी दिए । उनले बाँझो जग्गामा खेती विस्तार, जंगलका जडिबुटीलाई दिगो विकास, रोजगारी र आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गत ६ मंसिरमा कर्मचारी प्रेस अनलाइन पोर्टलमा प्रकाशित । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार