ड्रोनमार्फत वनलाई पुनःजीवन दिइँदै

१६ चैत, रसुवा।

डढेलोका कारण उजाड बनेको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ ।

यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५ मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो ।

डिभिजन वन कार्यालय प्रमुख शम्भु तामाङले भौगोलिक असहज भएपछि डढेलोका कारण उजाड बनेका गतलाङका वन क्षेत्रमा ड्रोनबाट वनस्पतिका बीउ छर्न लागिएको जानकारी दिए । उनले भने, ‘स्थानीय हावापानी सुहाउँदा वनस्पतिका बीउ संकलन अहिले तीव्र रूपमा भइरहेको छ । आगामी जेठको अन्तिम सातादेखि ड्रोन प्रयोग गरी बीउ छर्ने कार्य सुरू गरिने छ ।’

यसका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वन विज्ञान अध्ययन संस्थान र डिभिजन वन कार्यालयबीच त्रिपक्षीय साझेदारी समेत भएको छ । डढेलोले प्रभावित ४ सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा एक सय हेक्टर जमिनमा बीउ छर्ने तालिका तय गरिएको छ ।

आगलागीबाट गतलाङ जंगलमा करिब १६ हजार गोब्रे सल्ला, ठिउरे सल्ला, लालीगुराँस तथा अन्य बहुमूल्य प्रजातिका रूख नष्ट भएको जनाइएको छ । आर्थिक वर्ष २०७९/८० देखि व्यवस्थापन कार्य सुरू भए पनि डढेका रूखको उचित व्यवस्थापन गर्न नसक्दा जंगल लामो समयसम्म पुनर्जीवन पाउन सकेको छैन ।

वन पुनःस्थापनाअन्तर्गत हालसम्म ३० हजारभन्दा बढी सल्लाका बिरूवा रोपिसकिएको छ । तीमध्ये करिब २५ हजार बिरूवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको वन कार्यालयले जनाएको छ ।

जिल्ला वन कार्यालयको कार्यक्षेत्र समयक्रमसँगै परिवर्तन हुँदै आएको छ । २०५६ मा लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा धेरै आधार इलाका रूपान्तरण भएपछि वन कार्यालयको कार्यक्षेत्र घटेर अहिले ८ हजार ३ सय २१ हेक्टरमा सीमित भएको छ ।

हाल आमाछोदिङ्मो गाउँपालिकाको ५ वटा वडा, गोसाइँकुण्ड गाउँपालिका– १ तथा उत्तरगया गाउँपालिकाका–१, २ र ३ समेत ९ वटा वडा छन् । हाल गठित ६८ वटा सामुदायिक वन यसअन्तर्गत संरक्षणको काम अगाडि बढिरहेको छ ।

वन कार्यालयले डढेलो नियन्त्रणका चेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । जिल्लाको भिरालो भूगोल, चैत–वैशाखको हुरीबतास र दुर्गम वनक्षेत्रका कारण आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्ने छ ।

त्रिशूली नदीपारिको पश्चिमी रसुवामा रहेको यो वनक्षेत्र मालागढीदेखि अधेरी खोलासम्म फैलिएको छ । थुमन, तातोपानी, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, नेसिङ, करूम्राङ, कटुन्जे, डाँडागाउँलगायत गाउँ वनसँग प्रत्यक्ष रूपमा जोडिएको वन प्राविधिकहरूले जनाएका छन् ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार