कृष्ण मल्ल
३१ साउन, पाल्पा।
उराठलाग्दो डाँडा रमाइलो र हरियाली बन्ला भनेर सोचेकी थिइनन् पाल्पा निस्दी गाउँपालिका–३, की यमकुमारी सिंहले । डाँडामा दिनभर गोठालो बस्दा पनि घाँस नभएर गाई–गो भोकै फर्किन्थे । अहिले स्थानीय भारीका भारी घाँस लिएर फर्किन्छन् ।
१ दशक अगाडि र अहिले धेरै परिवर्तन आएको छ । ‘अहिले डाँडा हरियाली भएको छ, मिलीजुली कबुलियती वन समूहकी कोषाध्यक्ष समेत रहेकी उनले खुशी साटिन् ‘हाम्रा खल्ती पनि खाली छैनन्, अम्रिसोले त हाम्रो गाउँलाई नै चिनायो ।’
अम्रिसो हुर्किएर उजाड डाँडा हरियाली भएपछि जीवनस्तर सहज भएको निस्दी–३ को मजुवाडाँडा कबुलियती वन समूहका अध्यक्ष वीरबहादुर पाटा सुनाउँछन् । उनले भने, ‘अम्रिसोले डाँडा हरियाली मात्रै होइन, घरघरमा हरिया नोट पनि दिएको छ, सानो पैसाका लागि अरूको मुख ताक्नु पर्दैन ।’
उनका अनुसार ‘अम्रिसो बेचेर पैसा कमाइ हुन थालेको छ । सँगै गाईवस्तु पाल्न घाँस प्रशस्त हुँदा मलको समस्या छैन, त्यसबाट खेतीमा सहयोग पुगको छ । भैंसी पाल्नेले दूध, बाख्रा पाल्नेले खसी–बोकाबाट पनि आम्दानी गरिरहेका छन् ।’
१ महिना झाडी फाँडेर खनजोत गर्न र १ महिना बिरूवा रोप्न समय खर्चेका उनी रोपेको २ वर्षसम्म थप गोडमेल गरेको सम्झिन्छन् । अहिले भने अम्रिसोको फूल (कुचो) बाट नियमित पैसा आइरहेको पाटाले सुनाए । ‘त्यो बेलाको दुःख अहिले पेन्सन जस्तै भएको छ’, उनी भन्छन् ।

१३ वर्षअघि गाईवस्तु चर्ने पाल्पाको निस्दी–३ को खुइले (उजाड) देखिने त्यो काउलेडाँडा अहिले अम्रिसोको घारीले ढाकेर लोभलाग्दो भएको छ । जुन डाँडामा अहिले आन्तरिक पर्यटक रमाउँदै गरेका भेटिन्छन् । अम्रिसो खेतीअघि यसलाई गाउँलेहरूले चरिचरन क्षेत्रको रूपमा प्रयोग गर्दै आएका थिए ।
झिरूवासमा २०६७ मा ९ वटा कबुलियती वन समूहका १ सय ३ घर परिवारबाट शुरू भएको अम्रिसो खेतीले अहिले ‘हरित क्रान्ति’ नै ल्याएको डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख नारायणदेव भट्टराई बताउँछन् । ‘त्यतिबेला म वन अधिकृतको रूपमा त्यस क्षेत्रमा खटिएको थिएँ’ विगत स्मरण गर्दै उनले भने, ‘समुदाय जाग्ने हो भने उजाड डाँडा हरियाली देखाउन र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिंदो रहेछ ।’
सो क्षेत्रमा ९ वटा समूहबाट शुरू भएको अम्रिसो खेतीमा समूहको संख्या बढेर अहिले १९ पुगेको छ । जहाँ २ सय ३९ घरपरिवारले २ सय ५६ हेक्टर क्षेत्रफलमा ७ लाख ४२ हजार ५ सय अम्रिसोका बिरूवा रोपेका छन् । अम्रिसोका बिरूवा किसानका खेतबारीका कान्ला र पाखोसम्म फैलिएका छन् । निस्दी गाउँपालिकामा मात्रै झिरूबास, मित्याल, ज्यामिरे र अर्चले गरी अम्रिसोका ४ वटा पकेट क्षेत्र छन् ।
ती ४ क्षेत्रमा ७१ वटा समूहमा ७ सय ६ घरपरिवार कबुलियती वन समूहका सदस्य छन् । ती घरपरिवारले कबुलियती वनको ७ सय १२.३३ हेक्टर क्षेत्रमा अम्रिसो लगाएका छन् ।

काउलेडाँडा अन्तर समूहका अध्यक्ष दमन पाटा मगर अम्रिसोको कुचो बिक्री गरी प्रति घरपरिवारले वार्षिक एक लाख रूपैयाँ हाराहारीमा आम्दानी गर्ने गरेको बताउँछन् । उनका अनुसार मगर जातिको बाहुल्य रहेको पाल्पाका ग्रामीण क्षेत्रमा अम्रिसो मुख्य आम्दानी बनिरहेको छ । सो क्षेत्रका उपभोक्ता समूहले विगत ३ वर्षको अवधिमा मात्रै ३ करोड २६ लाख ११ हजार ४ सय ७७ रूपैयाँ आम्दानी गरेका छन् ।
हरियाली वृद्धिको सामुदायिक अभ्यास
यहाँका स्थानीयले कबुलियती वनमा मात्रै नभई बारीका कान्ला र पाखो पखेरोमा समेत अम्रिसो रोपेका छन् । पाखो डाँडामा अहिले हरियाली छ । इलामको चिया बगान जस्तै यहाँ अम्रिसोको बगानले पर्यटनको अभ्यास शुरू भएको छ । हरियाली प्रवद्र्धन र भूक्षय रोकथामको अभ्यास सिक्न खोज्नेहरू यहाँ आउने गरेको अध्यक्ष पाटा मगरले बताए । उनले भने, ‘डाँडामा हरियाली भएका कारण पानीको स्रोत संरक्षणमा समेत निकै फाइदा पुगेको छ ।’

निस्दी सब–डिभिजन कार्यालय, मित्यालका प्रमुख नन्द अधिकारी भूक्षय रोकथाम, हरियाली प्रवद्र्धन र पाखो क्षेत्रबाट आम्दानी लिन अम्रिसो खेती निकै फलदायी देखिएको बताउँछन् । अधिकारीले अम्रिसो खेती प्रविधि, फेरिएको वातावरणीय पक्ष, हुर्किंदै गरेको पर्यटन विकास, जमिनको उपयोगिता, सामूहिक कार्य, स्थानीयको आम्दानी र बजारीकरणका अभ्यास अरू ठाउँका लागि पनि अनुकरणीय भएको बताए ।
‘यो हरित वृद्धि र जलवायु उत्थानशीलता बढावा दिने कार्यको स्थानीय सामुदायिक अभ्यासको उदाहरण हो’, उनले भने । निस्दी गाउँपालिकाको झिरुबास, मित्याल, ज्यामिरे र अर्चले मुख्य पकेट क्षेत्र निस्दी सब–डिभिजन कार्यालय, मित्यालको कार्यक्षेत्रमा पर्छ ।
२०६७ सालबाट शुरू भएको अम्रिसो खेती अहिले पाल्पाका धेरैजसो गाउँमा विस्तार भएको छ । यसरी हरियाली प्रवद्र्धन हुँदा पाल्पाको अम्रिसोले निकै ठूलो चर्चा पाएको छ । कबुलियती वनमा पहिलो वर्ष (२०६७ सालमा) १ सय २ हेक्टरमा अम्रिसो रोपण गरिएको थियो ।

जिल्लामा बर्सेनि अम्रिसो रोपण अभियान जारी हुँदा यसको क्षेत्रफल बढेको छ । पाल्पामा अम्रिसो रोपण २०७० सालमा वृद्धि भएर ४ सय ११.३१ हेक्टर, २०७५ सालसम्म ८ सय ७६.८१ हेक्टर र २०८१ सम्ममा १ हजार ३ सय ९८.२७ हेक्टर क्षेत्रफल पुगेको छ । ९ वटा समूहबाट शुरू भएको अम्रिसो खेतीमा अहिले १ सय ५३ समूहका १ हजार ९ सय २० घरधुरीका १३ हजार ७५ जना सदस्य आवद्ध छन् ।
अम्रिसो अभियन्ताको रूपमा चिनिएका दमन पाटा मगरका अनुसार शुरुआती चरणमा यो खेतीका लागि एक घरले एक महिना निरन्तर काम गरे । एक महिनाको अवधिमा एक घरले तीन हजार अम्रिसोका गाँज रोपे । अम्रिसोले हरियाली बढेपछि डाँडामुनिका खोल्सामा पानीका मुहान नसुकेको उनको भनाइ छ ।
अम्रिसोले पूर्वी पाल्पाको चिनारी नै बदलिएको र काउलेडाँडा एशियाकै सबैभन्दा ठूलो अम्रिसो खेती क्षेत्रको रूपमा विकास भएको पाटा दाबी गर्छन् । हरियाली प्रवद्र्धनमा उदाहरणीय काम गरेको भन्दै यहाँको कबुलियती वन समूहलाई २०६९ सालमा संघीय वन तथा वातावरण मन्त्रालयले २ लाख रूपैयाँ राशि सहित परिवर्तित विकास पुरस्कार प्रदान गरेको थियो ।

झिरूबास क्षेत्र पाल्पा जिल्लाको मात्रै नभई अन्यत्रका लागि पनि सिकाइको केन्द्र बनिरहेको छ । यहाँको सफल उदाहरण हेर्न, सिक्न र आफ्नो गाउँ–ठाउँमा अनुसरण गर्न धेरै ठाउँबाट अम्रिसोका बिरुवा लिन मानिस आउने गरेका छन् ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारू भन्छन्, ‘अम्रिसोले हरित क्रान्ति नै ल्याइदिएको छ, त्यो भनेको वातावरणीय अनुकूलन, गाउँलेको घरघरसम्म हरियो नोट र यहाँको अभ्यास सिक्दै अरू ठाउँमा विस्तार हो ।’ जलवायु परिवर्तनलाई पनि सबैले आ–आफ्नो ठाउँबाट काम गर्दा अनुकूलनमा सहयोग पुग्ने उनको बुझाइ छ । ‘अम्रिसोबाट स्थानीय रूपमै आयआर्जन पनि हुन्छ भन्ने सन्देश दिन हामी सफल भएका छौं’, उनी भन्छन् ।
भूक्षय र पहिरो रोकथाम
भू–तथा जलाधार व्यवस्थापन कार्यालय, पाल्पाले अम्रिसो रोपण गरी क्षत–विक्षत गल्छी, सडक, खेलमैदान, पहिरोको ‘बायो इञ्जिनियरिङ’मार्फत भूसंरक्षणको अभ्यास गरिरहेको छ । बायो इन्जिनियरिङमा बिरूवा रोपेर माटोको संरक्षण गरिन्छ । जिल्लाका दर्जन ठाउँमा गरिएको यो अभ्यास प्रभावकारी देखिएको कार्यालयका इञ्जिनियर बालकृष्ण कार्की बताउँछन् ।
तानसेन नगरपालिका–९ को सडक जोगाउन गरिएको पहिरो रोकथाम त्यसमध्येको एक हो । खुत्रुके चौर जाने ग्रामीण सडकमा पहिरो गएपछि उक्त ठाउँमा बोटलिङ प्रविधि (भूसंरक्षण गर्ने स्थानीय प्रविधि) अपनाई अम्रिसो, बाँस र नेपियर घाँस लगाइएको थियो । आर्थिक वर्ष २०७९/८० मा करिब २ रोपनीको पहिरोमा लगाइएको बिरुवाले पहिरो रोकेको छ ।
बगनासकाली गाउँपालिका–३ मा रहेको नारायण प्राविको खेल मैदानको माटोलाई लगाइएको छेकबार, बगनासकाली ७, देउराली र ३ नायर गाउँको पहिरोबाट बस्ती जोगाउन अपनाइएका अभ्यास सफल भएका छन् । कम खर्चिलो, स्थानीय स्रोत–साधनको प्रयोग र वातावरणीय हिसाबले पनि यो प्रविधि उपयुक्त रहेको इञ्जिनियर कार्की बताउँछन् ।
चालु आवमा पनि कार्यालयले पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका लगायत पहिरोमा जलाधार कार्यालयले ‘बोटलिङ’ प्रविधिको प्रयोगबाट पहिरो रोकथाम गर्दैछ ।

इञ्जिनियर कार्कीका अनुसार जीवित रूखका मोटा हाँगा वा बाँसका पोलहरूलाई लाइन मिलाएर गाड्ने र सो गाडिएका पोलहरूमा लामा मसिना हाँगाहरू भित्र बाहिर बुनेर बार जस्तो संरचना बनाई भू–संरक्षण गरिने प्रविधिलाई बोटलिङ भनिन्छ । यस्ता संरचना समुच्च रेखामा भिरालो जमिनको क्षेत्र अनुसार १२ मिटरको फरकमा आवश्यकता अनुसार बनाउन सकिन्छ ।
त्यसो त निस्दीको रूप्से भञ्ज्याङदेखि रि भञ्ज्याङसम्मको ९.९ किलोमिटर मोटरबाटोमा पहिरो देख्न पाइँदैन । उक्त मोटरबाटोको तल माथि अम्रिसो ढकमक्क छ । अम्रिसोले माटो बग्न नदिँदा पहिरो नगएको निस्दी ४ का वडाअध्यक्ष सन्तवीर सुनारी बताउँछन् ।
‘अम्रिसो हामीलाई बरदान नै भएको छ’ उनले भने, ‘भूक्षय रोक्न, हरियाली बढाउन, पर्यटन तान्न, स्वरोजगार हुन र गाउँघरमा पैसा ल्याउन पाएका छौँ । अम्रिसो नहुँदो हो त यो दुर्गम ठाउँमा को आउँदो हो ?’
बहुआयामिक आम्दानीको स्रोत
अम्रिसो स्थानीय रूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस हो । २ वर्षमै तयार हुने अम्रिसोबाट एकपटक लगाएपछि १० देखि १५ वर्षसम्म पनि हरियो घाँस र फूलको उत्पादन लिन सकिन्छ । यसको गाना नयाँ ठाउँमा रोप्नका लागि बीउको रूपमा प्रयोग हुन्छ । फूलको झुप्पाबाट कुचो बनाइन्छ । पात गाईबस्तुको आहारको रूपमा प्रयोग गरिन्छ । साथै पशुले नखाने डाँठबाट उच्च कोटिको कागज अनि कुचो बनाउने सहायक सामग्री र बाँकी दाउराको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

स्थानीयका अनुसार अम्रिसोको जराको प्रति गानाको मूल्य ५ रूपैयाँ डाठको प्रति किलो ४ र फूलको प्रतिकिलो ९० देखि १ सय २० रूपैयाँ सम्ममा बिक्री हुने गरेको छ । यहाँको अम्रिसोको गाना पाल्पाकै विभिन्न ठाउँमा र रोल्पा, प्यूठान, तनहुँ, धादिङ, भक्तपुर डडेलधुरासम्म लगिएको छ ।
अम्रिसो खेती भएका गाउँमा सबैजसो किसानले घरमा पशुचौपाया पालेका छन् । त्यसमध्ये कबुलियती वनमा आबद्ध निस्दी गाउँपालिका ३ का ६० घरपरिवार व्यावसायिक बाख्रापालनमा जोडिएर राम्रो आम्दानी गरिरहेका छन् । अम्रिसोको घाँस प्रशस्त भएपछि लुम्बिनी प्रदेश सरकारले २०७७/७८ बाट काउलेडाँडा स्मार्ट बाख्रा पालन समिति बनाएर कार्यक्रम शुरू गरेको छ ।
५ वर्षअघि यो कार्यक्रम शुरू गर्दा स्थानीय ६० घरपरिवारमा १ हजार ३ सय बाख्रा र पाठापाठी थिए । अहिले बाख्रा र पाठापाठीको संख्या बढेर २७ सय हाराहारी पुगेको छ । तीमध्ये ८० भन्दा बढी बाख्रा पाल्ने किसानको संख्या १५ भन्दा बढी छ । ५ वर्षअघि ४ वटा बाख्राबाट शुरू गरेका समितिका अध्यक्ष घनबहादुर साठीघरे मगरको घरमा अहिले ८० भन्दा बढी बाख्रा पुगेका छन् ।
आव २०७९/८० मा समूहबाट २ सय ५२ वटा खसीबोका बिक्री भएका थिए । निस्दी गाउँपालिकाका पशु सेवा संयोजक ओमबहादुर मस्राङ्गी अम्रिसोबाट नियमित आम्दानी गरिरहेका किसानले बाख्रापालन गरी थप आम्दानी लिइरहेको बताए ।
निस्दी गाउँपालिका ४ मित्यालकी मनमाया सोमै यसको एउटा उदाहरण हुन् । अहिले उनको गोठमा २ भैंसी, २ गोरू र २१ बाख्रा छन् । त्यस्तै स्थानीय वमकुमारी गाहाको गोठमा ३ भैंसी, २ गोरु र १७ बाख्रा छन् । गाहा भन्छिन्, ‘पहिले चर्न जाने पशुचौपाया अहिले गोठमा घाँस खान्छन् । खेती लगाउन मल जम्मा भएको छ । दिनभर गोठालो जाने समय बचेको छ ।’
अम्रिसोले शुरू गरायो पर्यटन
पाल्पाको पर्यटन क्षेत्रमा काउलेडाँडाको अम्रिसो बगानको पनि अब चर्चा हुन थालेको छ । निस्दी ३ का वडाअध्यक्ष नवीन थापा सोती अम्रिसोको बगानले निस्दीमा पर्यटन शुरू भएको बताउँछन् । उनका अनुसार अम्रिसो बगान हेर्ने पर्यटकको वृद्धिसँगै काउलेडाँडामा ‘होम स्टे’ खुलेका छन् ।
भर्खरै खुलेका यी १५ होम स्टेमा आवासीय सुविधा छ । यहाँ स्थानीय परिकारको स्वाद लिंदै मगर संस्कृति जान्न र बुझ्न सकिन्छ । मगर संस्कृतिको ठूलो नाच, करूवा, झाम्रे नाच तथा मारुनी नाच होम स्टेमा रात बिताउने पर्यटकका लागि देखाउने गरिएको छ ।

निस्दी क्षेत्रमा २ खालका पर्यटक आउने गरेका छन् । पहिलो हेर्न रमाइलो गर्न, पिकनिक खान र दोस्रो खेर गएको जमिनको सदुपयोगको ‘अम्रिसो मोडेल’ सिक्ने । अम्रिसो बगानमा भेटिएकी स्याङ्जा वालिङकी गीता पराजुलीले यहाँ आइपुग्दा ‘मिनी इलाम’ जस्तै लागेको सुनाइन् । डाँडाका सबै थुम्काहरू नै अम्रिसोले भरिएको, ‘नेचुरल्ली ब्यूटी’ ठाउँ रहेछ ।
टिकटकमा देखिएको सानो भिडियोले यहाँसम्म तानेको र काउले डाँडाको अवलोकनपछि मन चंगा बनेको उनले बताइन् । काउलेडाँडा अवलोकन गर्न पर्यटकका लागि शुल्क तोकिएको छ । वडाअध्यक्ष सोतीका अनुसार एक व्यक्तिको ५० रूपैयाँ, मोटरसाइकलको ५०, जीपको १ सय, बसको ५ सय र पिकनिकको ५ सय रूपैयाँ शुल्क तोकिएको छ ।
विद्यालय चलाउन अम्रिसोको भर
विद्यालय सञ्चालनमा समेत अम्रिसो खेतीले सहयोग पु-याएको छ । २०६७/६८ तिर जिल्ला वन कार्यालय, पाल्पासँग सहयोगको माग गर्दा वन कार्यालयले आर्थिक सहयोग गर्न नसक्ने तर जमिन दिएर त्यसको आम्दानी विद्यालयले प्रयोग गर्न भनेर ५ हेक्टर जमिन दिएको निस्दी ४ का वडा अध्यक्ष सन्तवीर सुनारी बताउँछन् ।
उनले जिल्ला वनबाट जमिनको व्यवस्थापन भएको र त्यहाँ जनश्रमदान गरी अम्रिसो लगाएको बताए । उक्त क्षेत्र अहिले भोटेगौरी सामुदायिक वनको रूपमा विकास भएको र त्यसको आम्दानी गौरीशंकर माविले लिने गरेको छ ।

निस्दी ३ मा रहेको जनक आधारभूत विद्यालयलाई पनि अम्रिसो खेतीको आम्दानी विद्यालय चलाउन सहयोगी बनेको छ । विद्यालयसँगैको रहेको करिब २ हेक्टर जमिनमा २०७० सालमा लगाएको अम्रिसोले २०७२ सालदेखि आम्दानी दिइरहेको छ । अम्रिसोबाट आउने वार्षिक ५० हजार बढी आम्दानीबाट विद्यालयमा एक जना निजी शिक्षक राखिएको प्रधानाध्यापक भीमबहादुर रानाले बताए ।
अम्रिसोले विद्यालय सञ्चालनमा प्रत्यक्ष रूपमा सहयोग पु-याए जस्तै अप्रत्यक्ष रूपमा यस क्षेत्रका सयौं बालबालिकाको पठनपाठनमा सहयोग गरेको छ । कुनै बेला विद्यालयका प्रधानाध्यापक रहेका दमन पाटा मगर अम्रिसोले जमिनमा हरियाली थपे झैं बालबालिकालाई शिक्षा लिनमा पनि उत्तिकै सहयोग गरेको बताउँछन् ।
उनका अनुसार, अम्रिसो खेती शुरू नहुँदा विद्यार्थी स्कूल छाड्ने, कापी कलम नहुने, घाँस काट्न जाने, बाबुआमा घाँस काटेर फर्किंदा ढिलो भई खाना खान नदिने हुँदा स्कूल नियमित नआउने र छाड्ने हुन्थ्यो । अहिले त्यो अवस्था घटेर कम्तीमा पैसाका कारण विद्यालय छाड्नुपर्ने अवस्था नरहेको पाटा बताउँछन् ।
पाल्पाका ग्रामीण क्षेत्रमा कूल १ सय ५३ वटा कबुलियती वन समूह छन् । ती समूहमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मुख्य पदको रूपमा राखिएको छ । यसरी हेर्दा ४ सय ५९ जनाले सामुदायिकस्तरमा नेतृत्व सीपको अभ्यास गरिरहेका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेको वनका अधिकारीहरू बताउँछन् ।
समूहको क्रियाकलापले सामाजिकीकरण हुनमा सहयोग पुगेको निस्दी सब–डिभिजन कार्यालयका प्रमुख नन्द अधिकारी बताउँछन् । यहाँका समूहहरू मासिक रूपमा बैठक बस्ने र छलफल गर्ने गर्दछन् । अधिकारीका अनुसार, समूहमा काम गर्दा नेतृत्व सीपको विकास भएको छ । वल्लो गाउँ पल्लो गाउँ चिनजान नहुने अवस्था थियो । अहिले २ सय ३९ घर एउटै परिवार जस्तो भएको छ । प्रत्येक घरले मासिक ५० रूपैयाँ बचत गरिरहेका छन् ।
मूल्य तलमाथि तर चिन्ता छैन बजारको
यहाँको अम्रिसोको फूल (कुचो) बिक्रीको समस्या नभएको समूहका अगुवाहरू बताउँछन् । व्यापारीहरू गाउँसम्मै पुगरे अम्रिसो थोक मूल्यमा खरिद गर्ने गरेको डिभिजन वन कार्यालय पाल्पाका वन प्राविधिक रामचरण चौधरी बताउँछन् । उनका अनुसार उत्पादित अम्रिसोको ५५ प्रतिशत बुटवल, भैरहवा, २५ प्रतिशत दाङ, १० प्रतिशत नवलपरासी (अरुण खोला) र १० प्रतिशत स्थानीय तथा अन्य ठाउँमा निकासी हुने गरेको छ ।

डिभिजन वन कार्यालय, पाल्पामा १३९८.२७ हेक्टर कबुलियती वन र २०० हेक्टर निजी जग्गा गरी १५९८.२७ हेक्टरमा अम्रिसो खेती छ । आ.व. २०८०/८१ मा यहाँका किसानले ६ करोड ८० लाख ६२ हजार ५ सय रूपैयाँको अम्रिसो बिक्री गरेका छन् । त्यसमध्ये कबुलियती वन समूहको बिक्री १ करोड ६० लाखभन्दा बढी रहेको छ ।
तर अम्रिसोको मूल्य भने घटबढ भइरहेको वन कार्यालयको तथ्यांकबाट देखिन्छ । उक्त तथ्यांकमा २०६९ मा प्रतिकिलो ३० रूपैयाँ, २०७० मा ३५, २०७१ मा ४०, २०७२ मा ६४, २०७३ मा ५५, २०७४ मा २४, २०७५ मा ६०, २०७६ मा ८०, २०७७ मा ९०, २०७८ मा १ सय २०, २०७९ मा १ सय २५ र २०८० मा ८० रूपैयाँ मूल्य कायम भएको देखिन्छ ।
अम्रिसोसँगै घाँस पर्याप्त भएपछि धेरैजसोको घरमा पशुपालन छ । यसले मल हुँदा कृषि उत्पादनमा समेत सहयोग पुगेको छ । अम्रिसो र पशुपालनबाट सबैजसो घरमा आम्दानी हुँदा सानोतिनो पैसाका लागि घरको मूलीसँग मात्रै आश्रित हुनुपर्ने बाध्यता हटेर गएको छ । खाद्यान्नकै लागि मजदुरी गर्न गाउँ छाड्नुपर्ने बाध्यता पनि कम भएको छ ।
गाउँमा बसाइँसराइ पनि निकै कम रहेको वडा नंं. ३ का अध्यक्ष नवीन थापा सोती बताउँछन् । पालिकाले पनि आयमूलक शीर्षकमा कार्यक्रम राख्ने गरेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर गाहा बताउँछन् । किसानले माग गरे अनुसार रोप्नका लागि बजेट छुट्याउँदै आएको बताउँदै उनले भने, ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नारा लिएर पालिकाले अम्रिसोको प्रवद्र्धन गरिरहेको छ ।

गौचरनका रूपमा रहेको ठाउँमा अम्रिसो रोप्ने कुरा चलाउँदा शुरूका दिनमा गाउँलेबाट विरोध आएको मौलादेवी कबुलियती वन समूहका अध्यक्ष ओमलाल थापा बताउँछन् । उनले भने, ‘गौचरनमा अम्रिसो रोपेपछि हामीले गाई–बाख्रा कहाँ चराउने भनेर गाउँलेले औंला ठड्याए । किनकि गाउँलेहरू पहिले त्यहाँ गाईवस्तु चराउँथे, कतै नांगो त कतै वनमाराको झाडी थियो ।’
यहाँका किसानलाई अम्रिसो लगाउन उत्प्रेरित गर्नमा पाल्पाका पूर्व डिएफओ रामबाबु पौडेलको योगदान छ । पौडेलले इलाममा किसानले खाली ठाउँमा अम्रिसो रोपेर आम्दानी लिएको अभ्यास पाल्पामा सिकाइको रूपमा कार्यान्वयनमा ल्याएका थिए । ‘अम्रिसो रोपणले जंगल जोगिने र गरिबीलाई सम्बोधन गर्न सक्ने भएकोले कार्यक्रम शुरू ग-यौं’, पौडेलले भने ।
अम्रिसोले अहिले न्यूनतम रूपमा छोराछोरी पढाउन र अन्न किनेर खान पुग्ने पैसा जुटाउन निकै ठूलो सहयोग पुगेको आफूले पाएको पौडेलले बताए । उनले भने, ‘हरित क्षेत्र वृद्धिसँगै गरिबी कम र स्वरोजगारीको अवसर प्रदान गर्ने एकीकृत मोडेलको यो एउटा गतिलो उदाहरण हो ।’
गत १९ वैशाखमा अनलाइनखबर पोर्टलमा प्रकाशित । यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।





