२१ माघ, दैलेख।
नारायण नगरपालिका–८, सिमडाका प्रेमबहादुर रावल अचेल टोलाउँदै नजिकैको जंगलतिर हेर्छन् । कुनै समय हरियो गलैँचा बिछ्याएझैँ मनमोहक देखिने सालको जंगल अहिले कसैले डढेलो लगाएर छोडेकोझैँ खैरो र उजाड छ । न त्यहाँ घाँस छ, न त पशुलाई ओछ्याउने स्याउला नै छ ।
गाई–भैँसीका लागि आहार, गोठका लागि स्याउला सोत्तर र खेतबारीका लागि मल र सबैका लागि सालका पात किसानको जीवनसँग गाँसिएका थिए । तर, यो वर्ष नारायण नगरपालिका–७ र ८ अन्तर्गत पर्ने सिमडा आसपासका जंगलहरू नांगा छन् । सालका रूख छन्, तर पात छैनन् । अज्ञात झुसिलकीरा (पुतली प्रजातिको लार्भा) ले सालका पात खाइदिँदा वन उजाड बनेको छ र यसको सिधा असर किसानको दैनिकी र जीविकोपार्जनमा परेको छ ।
‘घर नजिकैको वनहुँदा बस्तुभाउ पाल्न सजिलो थियो, सालकापातले पशुको आहार र मलदुवै पुग्थ्यो,’ रावल भन्छन्, ‘तर अहिले त वनभरिका रूखहरू नांगामात्र देखिन्छन् । जंगल पस्नै नसकिने गरी नांगोे भएको छ । अब पशु कसरी पाल्ने ? के खुवाउने ?’
यो समस्या प्रेमबहादुरको मात्र होइन, नारायण नगरपालिका–७ र ८ का जगमती विक, भावना रोकाया, मनसरा रावतलगायत सयौँ किसानको साझा व्यथा हो । पछिल्लो ३ वर्षदेखि यो क्षेत्रको सालको जंगलमा ‘डिफोलिएटर’ भनिने झुसिलकीराको प्रकोप फैलिएको छ, जसले सिंगोे वनलाई नै संकटमा पारेको छ ।
वन विनाशको मौन महामारी
प्रकृतिको नियमअनुसार वसन्त ऋतुमा वन हराभरा हुनुपर्ने हो । तर, दैलेखका किमुगाउँ, चुप्रा, कोटिला, श्रीस्थान र बेलपाटालगायतका क्षेत्रमा उजाड दृश्य मात्रै देखिन्छ ।
यहाँ ‘डिफोलिएटर’ भनिने झुसिलकीराले पात खान थालेपछि सालका रुखलाई एकसरो नांगोे बनाइदिएको स्थानीय उपभोक्ता जकमती विक बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो वनमा यस्तो रोग कहिल्यै देखेका थिएनौँ । एउटा पात पनि बाँकी छैन । वन नै उजाड भएपछि खेतीपाती र पशुपालन गर्न मुस्किल भएको छ ।’
वनभित्र पस्दा आजकल हरियालीको सट्टा कुरूप दृश्य देखिन्छ । पातविहीन रूख, जमिनभरि लार्भाका अवशेष र जालो । यस्तो दृश्यले स्थानीयलाई थप चिन्तित बनाएको छ । नारायण–८ की भवानी रोकाय भन्छिन्, ‘जंगल हाम्रो जीवनको आधार हो । तर यस्तो दयनीय अवस्था हुँदा पनि सम्बन्धित निकायले वास्ता गरेको देखिँदैन ।’
डिभिजन वन कार्यालय प्रमुख अमरप्रसाद साह भने केन्द्रबाट विज्ञ टोली आएर अनुसन्धान गरेको बताउँछन् । यो पटक विज्ञ टोलीले लार्भा नभाएको र फेरि फागुनतिर तापक्रम बढेपछि कीरा देखिन सक्ने भएकाले त्यतिबेला नमुना संकलन गरेर पठाउन भनिएको उनले जानकारी दिए ।
यदि जीवित लार्भा भेटिए त्यसलाई ल्यावमा पठाएर मात्रै कुन प्रजातिको ‘मथ’ (पुतली) हो भनेर यकिन गर्न सकिने उनी बताउँछन् ।
अचम्मको कुरा त के छ भने यी कीराले सालसँगै रहेका सल्लाका रूखलाई भने छोएका पनि छैनन् । विशेषज्ञहरूका अनुसार यो प्रजाति विशेषगरी सालको पातमा मात्र निर्भर रहन्छन् । गर्मी मौसम सुरू हुनासाथ यसको सक्रियता पुनः बढ्ने र जंगलभरी माकुराको जालो जस्तो जालो र झुसिलकीराको साम्राज्य फैलिने बताउँछन् ।
के भन्छन् विज्ञहरू ?
वनमा देखिएको प्रकोप ‘डिफोलिएटर’ अर्थात् पात खाने कीरा भएको वन विज्ञहरूको भनाइ छ । वन तथा वातावरण मन्त्रालय अन्तगतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा कार्यरत वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलकको संयोजकत्वमा गठित विज्ञ टोलीले कर्णाली प्रदेशका विभिन्न सामुदायिक वनहरू, किमुगाउँ, चुप्रा, कोटिला, श्रीस्थान, बेलपाटालगायत क्षेत्रमा अध्ययन गरेको थियो ।
लामो समयको खडेरी र हिउँदे वर्षा नहुनु यो महामारी फैलिनुको सहायक कारण रहेको उलक बताउँछिन् । विशेषगरी दक्षिण र पश्चिम फर्किएका पहाडी क्षेत्रका साल वनमा यसको असर बढी देखिएको छ । चैत–वैशाखतिर वयस्क पुतली निस्केर पातमा अन्डा पार्छन् र त्यसबाट निस्किएका लार्भाले व्यापक क्षति पु-याउँछन् ।
लामो समयको खडेरी र हिउँदे वर्षा नहुनु नै यो महामारी फैलिनुको मुख्य कारण हो । ‘यी कीराका वयस्क पुतलीले चैत–वैशाखमा सालको पातमा अन्डा पार्छन् र त्यसबाट निस्किएका लार्भाले ५–६ पटक काँचुली फेर्दै पात खाएर रूखलाई नांगो बनाउँछन्,’ उलकले भनिन् ।
त्यहाँ जंगलमा पुग्दा कीराका काँचुली र प्युपाका अवशेषहरू प्रशस्त भेटिएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा कार्यरत अनुसन्धान अधिकृत प्रतीक पाण्डे बताउँछन् । चिसो मौसममा केही कम देखिए पनि फागुन–चैतपछि यी कीरा पुनः सक्रिय हुने र यसले वनको पारिस्थितिकीय प्रणालीमै गम्भीर धक्का पु-याउने उनको भनाइ छ ।
उनका अनुसार यो पुतली प्रजातिको लार्भा हो, जसले ५–६ पटक काँचुली फेर्दै सालका पात खाइदिन्छ । ‘सालका पात खाने किराहरू सयौँ प्रजातिका हुन्छन्,’ उनी भन्छन्, ‘तर यसरी वनै नांगो बनाउने प्रकोप ल्याउने चाहिँ थोरै प्रजातिमात्र हुन्छन् ।’
नेपालमा सालका पात खाने तीन सयभन्दा बढी प्रजातिका कीरा रहेको र ती सबैको हालसम्म दस्तावेजीकरण नभएको उनको भनाइ छ । ‘नेपालका सालका पात खाने कीरा ३ सयभन्दा बढी प्रजातिका कीरा दस्तावेजीकरण भएमात्र कुन कीरा बढी हानिकारक छ भन्ने जानकारी हुन्छ,’ पाण्डेले भने ।
वन केवल घाँस–दाउराको स्रोत मात्र होइन, यो यहाँको ग्रामीण अर्थतन्त्रको खम्बा पनि हो । वनबाट ल्याइने स्याउला कुहाएर बनाइने मलले बारीमा अन्न फल्थ्यो । यो पटक न त पशुलाई आहार छ, न बारीलाई मलनै बनाउन सकिएको स्थानीय भावना रोकाया बताउँछिन् ।
यसको असर सांस्कृतिक कार्यमा समेत परेको छ । सालको पात शुद्ध र अशुद्ध दुवै कार्यमा दुना–टपरीका रूपमा प्रयोग गरिन्छ । तर, अहिले एउटै पात भेट्न पनि मुस्किल भएपछि स्थानीयहरू चिन्तित छन् । ‘कुनै पूजा–आजा वा काजकिरियामा पात चाहिन्छ, तर जंगलमा एउटा पनि सग्लो पात छैन,’ स्थानीय नरेन्द्र मल्ल भन्छन् ।
यस्तो वातावरणीय संकटका बीच गैरसरकारी संस्था सोसेक नेपालले सरकार र सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरेको छ । सोसेकले वनमा फैलिएको यो संक्रमणका साथै जथाभाबी ‘चुत्रो’ को जरा निकासी गर्दा जैविक विविधतामा परिरहेको असरप्रति पनि चिन्ता व्यक्त गरेको छ । उनीहरूले वातावरण जोगाउन र किसानको समस्या समाधान गर्न एकीकृत पहलको माग गरेका छन् ।
नारायण नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर शाहीले यो प्रकोपले सबैभन्दा बढी मार किसानलाई पारेको बताउँदै यसको पहिचान र नियन्त्रणका लागि नगरपालिका र वन कार्यालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । प्रकोप नियन्त्रण र भविष्यमा हुने क्षति न्यूनीकरणका लागि विज्ञ टोलीले केही महत्वपूर्ण प्राविधिक सिफारिस गरेको छ ।
सालको वनमा भदौ–असोजतिरै रूखका हाँगा–बिँगा काँटछाँट गर्ने र वन सफा गरे कीरा संख्या घटाउन सकिने विज्ञ टोलीले बताएको छ । माटोमा लुकेर बसेका कीराका अवशेष नष्ट गर्न निश्चित क्षेत्रमा नियन्त्रण गरी आगो लगाएर अनुसन्धान गर्ने विधिलाई पनि विकल्पका रूपमा हेरिएको छ ।
‘आगामी फागुन–चैततिर तापक्रम बढ्न थालेपछि कीराहरू फेरि सक्रिय हुन सक्ने भएकाले डिभिजन वन कार्यालयहरूलाई लाइट ट्याप प्रयोग गर्न र समुदायलाई पूर्वसूचना दिन आग्रह गरिएको छ,’ उप–सचिव उलकले भनिन् । सोही ठाउँमा यसअघि २०२१ मा पनि यस्तो समस्या देखिएको त्यहाँका स्थानीयले बताएको उनले बताइन् ।
‘यसअघि पनि यस्तो समस्या देखिएको त्यहाँका स्थानीयले जानकारी गराएका छन्,’ उनले भनिन्, ‘त्यसबेला विशेष कारणवश स्थलगत रूपमा त्यहाँ पुग्न सकिएन तर, पनि फोटोग्राफरको सहयोगमा विज्ञहरूलाई त्यहाँको फोटो पठाएर सहजीकरण गरेकी थिएँ, अहिले पुनः दोहोरिएछ ।’
नेपालमा वन जैविक विविधता उच्च भए पनि त्यसको वैज्ञानिक अध्ययन र उचित दस्तावेजीकरण कमजोर नै छ । अन्य विकसित देशहरूको वन मन्त्रालय अन्तर्गत रोग, कीरा र वन्यजन्तुसम्बन्धी विज्ञहरूको छुट्टै संयन्त्र हुन्छ । तर नेपालका जिल्ला वन कार्यालयहरूमा यस्ता विज्ञ र आवश्यक जनशक्ति समेत नभएको पाण्डे बताउँछन् ।
उनका अनुसार प्रभावित क्षेत्रमा कीरा प्रकोपको नियमित अनुगमन, अध्ययन र तथ्यांक संकलनका लागि पर्याप्त जनशक्तिकोे अभाव छ । ‘दस्तावेजीकरण बिना समस्या बुझ्न र समाधान खोज्न गाह्रो हुन्छ । कीरा विज्ञ र अनुसन्धानकर्ताको उपस्थिति अनिवार्य छ । त्यसो भएमात्र विभिन्न विज्ञबीच समन्वय गरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ,’ पाण्डेले भने ।
कीराको प्रकोपले स्थानीयस्तरमा दैनिक जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ । जंगलमा घाँस, दाउरा र अन्य वन उपजमा निर्भर स्थानीयको जीवनशैली प्रभावित हुन्छ । गाई वस्तुले संक्रमित पात खाँदा पशु स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले यसबाट स्थानीय सचेत हुन उनको आग्रह छ ।
यस्तै, मानिसमा पनि कीरा वा झुसको नजिक पुगे चिलाउने, एलर्जी जस्ता स्वास्थ्य समस्या देखिन सक्ने पाण्डेको भनाइ छ । यस्ता प्रकोपका बेला अन्य कीराहरूको पनि अस्वाभाविक उपस्थिति देखिन्छ, जसले दीर्घकालमा जैविक पारिस्थितिक प्रणालीमै असर पार्न सक्ने उनी बताउँछन् । ‘एउटा किरा बढ्दा अरू उपयोगी कीरा हराउने जोखिम हुन्छ, जसले वनको जैविक सन्तुलन बिगार्छ,’ पाण्डेले बताए ।
पाण्डेका अनुसार प्रभावित क्षेत्रमा कीरा प्रकोपको नियमित अनुगमन, अध्ययन र तथ्यांक संकलनका लागि पर्याप्त जनशक्तिको अभाव छ । ‘दस्तावेजीकरण बिना समस्या बुझ्न र समाधान खोज्न गाह्रो हुन्छ । कीराविज्ञ र अनुसन्धानकर्ताको उपस्थिति अनिवार्य छ । त्यसो भए मात्र विभिन्न विज्ञबीच समन्वय गरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ,’ उनले जोड दिए ।
जितेन्द्र थापा/राजधानी दैनिक





