२२ माघ, काठमाडौँ।
हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको संख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा बर्सेनि जलपक्षीको प्रजाति र संख्या घट्दो देखिन्छ । गत वर्ष सन् २०२५ को जलपक्षी गणनाबाट प्राप्त तथ्यांकअनुसार नेपालमा ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपक्षी अभिलेखिकरण भएको थियो ।
सन् २०२६ को गणनाबाट ८९ प्रजातिका ९० हजार ६ सय ८८ वटा जलपक्षी अभिलेख भएका छन् । त्यस भन्दा पनि अघिका गणनामा १ लाख बढी नै प्रजाति अभिलेख भएका थिए ।
वाटरल्याण्ड इन्टरनेसनलको सहकार्यमा भारतीय महाद्वीपमा एसियास्तरीय जलपक्षी गणना सन् १९८७ देखि सुरू गरिएको हो । गणनालाई सहयोग पु-याउन नेपालले सन् १९८७ देखि जलपक्षी गणनामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।
अत्यधिक चिसो हुने रूस, उत्तरी चीन, मंगोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । चिसो क्षेत्रबाट हजारौँको संख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किँदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।
जलपक्षी गणनाको मुख्य उद्देश्य बसाइँ सराई गर्ने र पानीमा बस्ने चराको प्रजनन नहुने समयमा गणना तथा अनुगमन गरी संख्यासहित सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउनु, पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी तथा जानकारी गराउनु रहेको छ ।
यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा नेपाल पक्षीविद् संघको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा साना क्षेत्रमा जलपक्षी गणना गरिएको पक्षीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए ।
गणनामा ४ सय ११ स्वयंसेवक गणक (कर्मचारी, चराविद, प्रकृतिप्रेमी, स्वयंसेवी, नागरिक वैज्ञानिक) बाट पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्यांक संकलन गरी विश्व सिमसार दिवस (२ फेब्रुअरी)मा सार्वजनिक गरिएको थियो ।
सिमसार अतिक्रमणले जलपक्षीको आहारामा कमी
पौडेलले भने, ‘जलपक्षीको संख्या विश्वमै कम देखिएको छ । नेपालमा पनि सिमसार क्षेत्रमा मानवीय गतिविधि बढेको, पूर्वाधार निर्माण बढेको, मिचाहा प्रजातिले ताल ढाकेको, कृषिमा रसायनिक मल र विषादीको प्रयोग बढेका कारण पनि जलपक्षी यहाँ कम समय व्यतित गर्ने गरेका हुन सक्छन् ।’
विगतका वर्षमाझैँ यस वर्ष पनि कोशीटप्पु वन्यजन्तु आरक्ष र आसपास, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज र सो वरपर, धनुषाधामका ताल–तलैया र कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजर्भवायरलगायतका क्षेत्रमा जलपक्षी गणना गरिएको पौडेलले बताए ।
जलपक्षी गणनामा विभिन्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय तथा संघ संस्थाको सक्रिय सहभागिता थियो । निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले नदीनाला, तालतलैया र सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि तथा बढ्दो विषादी प्रयोगका कारण जलपक्षीको आहारमा कमी आएको बताए । ‘सुरक्षित बासस्थान र आहाराको खोजी जलपक्षीले नयाँ स्थान खोज्ने गरेको हुन सक्छ’, उनले भने ।
आचार्यका अनुसार नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले सिमसार क्षेत्रको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरूवाका लागि महत्वपूर्ण बासस्थान हो ।
सिमसार क्षेत्रमा अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसंख्या, बढ्दो प्रदूषण, फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिलगायत चुनौती थपिएको छ । यसले जलपक्षीको बासस्थानको विनाश हुने गरेको पक्षी संरक्षणकर्मी हिरूलाल डगौराले बताए ।
‘कृषि बालीनाली अत्यधिक रसायनिक मल र विषादीको प्रयोग तथा माछा मार्न हुने विषादीको प्रयोगले जलपक्षीका आहार कमी आएको छ । आहाराको खोजीमा जलपक्षी अन्यत्र जान सक्छन्’, उनले भने । पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्, पर्यटन प्रवद्र्धनका नाममा ताल/तलैयामा डुंगा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोजजस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका पक्षी संरक्षणकर्मी डगौराको भनाइ छ ।
चराविद्का अनुसार यी जलपक्षी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर क–याङकुरूङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ ।
चैतसम्म भने प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाइँसरी आउने पानी चरामा हाँस, जलेवा, गंगा चील आदि प्रजाति पर्छन् ।
भीष्मराज ओझा/रासस





