Friday, February 27, 2026

शुक्लाफाँटामा २३ फागुनदेखि बाघ गणना

१३ फागुन, कञ्चनपुर।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यही २३ फागुनदेखि बाघ गणनाको तयारी गरिएको छ ।

निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको उनले बताए ।

वाग्लेले भने, ‘२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् ।’ राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई २ गुणा २ किलोमिटरका २ सय ६० ग्रिडमा विभाजन गरिएको निकुञ्जले जनाएको छ ।

बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रिडमा १–१ जोडी स्वचालित क्यामेरा जडान गरिनेछ । सन् २०२२ को गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ अभिलेख गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा थप ८ बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

निकुञ्जको क्षेत्र सानो क्षेत्रफल भए पनि यहाँ बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले बाघको संख्या बढेको संरक्षण अधिकृतहरू बताउँछन् । शुक्लाफाँटामा आहारा प्रजातिको घनत्व १ एक सय ४६ प्रति वर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा निकुञ्ज ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार