५ साउन, इस्लामाबाद।
भारी मनसुनी वर्षाले पाकिस्तानमा मृत्यु हुनेको संख्या २ सय १६ पुगेको छ । यस वर्षको मनसुन सुरू भएदेखि १ सय १ जना बालबालिकाको मृत्यु भएको छ ।
गत २६ जुनदेखिको वर्षामा ५ सय ८० जना घाइते भएका पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ । पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तीमा १३ जनाको मृत्यु भएकोे बताइएको छ ।
निरन्तर वर्षासँगै बाढी र डुबान हुँदा धेरै मानवीय हताहती भएको हो । सबैभन्दा बढी मृत्यु बाढी र पहिरोले घर भत्किएर वा डुबानमा परेर भएको बताइएको छ भने केहीको निधन चट्याङ र अन्य मौसमी विपत्तिका कारण भएको हो ।
पाकिस्तानको विपद् व्यवस्थापन निगरानी निकाय (एनडिएमए) ले पछिल्लो २४ घण्टामा पन्जाबमा १२ र खैबर पख्तुनख्वामा एक जनाको मृत्यु भएको जनाएको छ । पीडितमध्ये ४ बालबालिका र ३ महिला थिए । एनडिएमएका अनुसार वर्षा सुरू भएदेखि करिब ८ सय घर ध्वस्त भएका छन् भने लगभग २ सय जनावरको मृत्यु भएको छ ।
युएन न्यूजको हालैको रिपोर्ट अनुसार खैबर पख्तुनख्वा र गिलगिट बाल्टिस्तान क्षेत्रमा पनि हिमनदीको तालबाट बाढी आउने डर छ ।
सन् २०२२ मा पाकिस्तानमा मनसुनी बाढीले १ हजार ७ सय भन्दा बढी व्यक्तिको निधन भएको थियो । लाखौँ व्यक्ति विस्थापित हुँदा लगभग ४० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।
रासस