Thursday, July 17, 2025

वन्यजन्तुले दुःख दिएपछि स्थानीयले रोजे टिमुरखेती

३२ असार, पाल्पा ।

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । बाँदर र बँदेलले मकै, कोदोलगायतका अन्नबाली सखाप पार्न थालेपछि किसानले विकल्प रोजेका हुन् ।

टिमुरखेतीमा यस्ता जिवजन्तुले क्षति नगर्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घर्तीले बताइन् । उनका अनुसार प्रायजसो धेरैले बारीभरी टिमुर लगाएका छन् ।

‘यहाँका किसानले बारी र बाँझो जमिनमा टिमुर लगाएका छन्, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुरखेती बनेको छ’, घर्तीले भनिन् । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाइ छ । पहिले मकैखेती लगाएका बारीमा घर्तीले ५० बोट टिमुरका बिरूवा लगाएकी छिन् ।

अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि यहाँका अधिकांश स्थानीयले अन्नबाली छाडेर टिमुुरखेती गर्न थालेका हुन् । यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली वन्यजन्तुले सखापै बनाउने गरेको छ । रिब्दीकोट गाउँपालिका ठिमुरे ढुस्टुङका वुद्धबहादुर राना पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्यो त्यसपछि अरूले पनि टिमुर लगाउन थालेका उनी बताउँछन् ।

बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुरखेतीले जिल्लाका २ हजारभन्दा बढी किसानलाई फाइदा पुगेको छ । असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर बिक्री गरेर यहाँका किसानले वार्षिक १ लाखदेखि ३ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । टिमुरबाट वार्षिक २ लाख रूपैयाँ आम्दानी गरेका रिब्दीकोट–६, ठिमुरेका शिवबहादुर जिसी भन्छन्, ‘४ वर्षअघि बाँझो जग्गामा लगाइएको टिमुरका बोटले अहिले राम्रो फाइदा दिएको छ ।’

पछिल्लो समय अर्गानिक र औषधिजन्य जडीबुटीको प्रयोगकर्ता बढेका कारण सहरी क्षेत्रमा टिमुरको माग अत्यधिक छ । बजारमा अचार बनाउन, तरकारी पकाउँदा तथा मसला बनाउन र औषधि बनाउन टिमुरको प्रयोग हुँदै आएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बस्ने मानिसहरूले टिमुरको प्रयोग बढाएकाले टिमुरले राम्रो मूल्य पाएको किसानको भनाइ छ ।

अग्लो र ओसिलो स्थानमा यसको खेती गर्न सकिने भएकाले पाल्पाको अधिकांश स्थानमा टिमुरको खेती गर्न सकिने किसानको भनाइ छ । बाँदरले अन्य खेतीमा आक्रमण गरिरहेका बेला टिमुरखेती किसानका लागि फाइदाजनक र सुरक्षित भएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए ।

उनले भने, ‘अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ ।’ एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौसम्म फाइदा लिन सकिने भट्टराईको भनाइ छ । टिमुरको पकेट क्षेत्र बनाउन कार्यालयबाट बिरूवासमेत वितरण हुने गरेको उनले बताए । जिल्लाका पूर्वखोला र निस्दी गाउँपालिकाका विभिन्न स्थानमा टिमुरखेती हुने गरेको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार