२७ असार, धनुषा।
वर्षौंदेखि नीलगाई, बाँदर र बँदेल जस्ता वन्यजन्तुबाट हैरान मधेसका किसानका लागि जैविक गन्धयुक्त औषधिको सफल परीक्षण गरिएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिकामा अवस्थित मिथिला ‘वाइल्ड लाइफ’ ट्रष्टले यस्ता वन्यजन्तु नियन्त्रण गर्न जैविक गन्धयुक्त औषधिको परीक्षण गरेको ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए । यसका लागि करिब ६ महिना लागेको उनले बताए ।
मण्डलका अनुसार गत पुसदेखि सुरू भएको अनुसन्धान धनुषाधाम नगरपालिका, कमला नगरपालिका, बटेश्वर गाउँपालिका, जनकनन्दिनी गाउँपालिकाको ३/३ जना किसानको खेतबारीमा केन्द्रित थियो । अनुसन्धान पश्चात औषधि तयार पारिएको हो । भारतको तामिलनाडु कृषि विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक गरेका सिरहाका सुमित झाको नेतृत्वमा ७ जना प्राविधिक टोलीले औषधि तयार गरेको हो ।
झासहित यस अनुसन्धानमा वातावरण विज्ञानका सचिनकुमार सिंह, वन्यजन्तु अनुसन्धान प्राविधिक अमरनाथ यादव, रविनन्दन ठाकुर, चालक–प्राविधिक सन्तोष महतो, प्राविधिक प्रदीप राम, गौतमराज मण्डल र सहजकर्ताका रूपमा अध्यक्ष मण्डलले सहयोग गरेका छन् ।
उक्त परीक्षणले खेतबारीमा नीलगाई प्रवेश न्यूनीकरण गर्न सकिने पुष्टि भएको अध्यक्ष मण्डलले बताए । यस्तो औषधि लसुन, माछाको फोहर, छाछ, असुरो, निर्गुण्डी, अकौन, बकाइन, धतुरा, बङ्गरेरा र गाईको गोबरजस्ता जैविक पदार्थबाट बनाइएको हो । औषधिमा गौमूत्र मिसाएर परीक्षणका क्रममा औषधि छरिएका खेतमा नीलगाई १२ देखि २८ दिनसम्म नदेखिएको वा देखिए पनि बाली नखाएको अध्यक्ष मण्डलको दाबी छ ।
परीक्षणका क्रममा खेतमा स्वचालित क्यामेरा ट्र्याप जडान गरी वन्यजन्तुको गतिविधि निगरानी गरिएको छ भने प्रत्यक्ष रूपमा किसान तथा टोलीका सदस्यले नियमित अनुगमन गरेको अध्यक्ष मण्डल बताउँछन् । यो औषधि पहिलोपटक सन् २०१६ मा तयार गरिएको बताउँदै अध्यक्ष मण्डलले भने, ‘तर त्यसबेला नीलगाईलाई हामीले १७ दिनसम्म मात्र रोक्न सफल भएका थियौँ र पछि स्रोत र साधनको अभावमा परीक्षण रोकिएको थियो ।’
यसपटक भने पीपल ट्री, लालोमलिना र लिली लिभ्सको प्राविधिक सहयोगमा परीक्षण गरिएको उनको भनाइ छ । ट्रस्टका अध्यक्ष मण्डलले यो विधिलाई सामुदायिक प्रयोगका लागि खुला राखिने बताए । अनुसन्धानको अन्तिम प्रतिवेदन चाँडै सार्वजनिक गर्ने उनको भनाइ छ । शोधकर्ताले यो प्रयासले मधेसका किसानलाई ठूलो राहत दिने र कृषि क्षेत्रलाई वन्यजन्तुबाट सुरक्षित राख्न योगदान पुग्ने अध्यक्ष मण्डलको विश्वास छ ।
रासस