२४ असार, काठमाडौँ ।
रसुवास्थित रसुवागढी क्षेत्र र आसपासका भेगमा बाढीले निम्त्याएको क्षतिको ठोस कारण वर्षा नभएर हिमपात विष्फोटको आशंका गरिएको छ ।
सोमबारदेखि सदरमुकाम धुन्चे र आसपासका भेगमा छिटफुट मात्रै वर्षा भएकाले भारी वर्षाले यस्तो घटना नभएको जल तथा मौसम विज्ञान विभागको ठहर छ । नेपाल–चीन सीमाको ल्हेन्दे खोलामा बाढी आएको र बाढी वर्षाका कारणले नभएको विभागका अधिकारी बताउँछन् ।
आज बिहान (मंगलबार बिहान) ३ बजे आसपासमा भोटेकोशी नदीको बाढीलाई विभागको बाढी पूर्वानुमान महाशाखाले यस्तो बताएको हो । भोटेकोशी नदीको उपल्लो क्षेत्र (चीनको तिब्बततर्फ) साना–ठूला हिमपाल रहेकाले सो क्षेत्रमा हिमताल विष्फोट भएको हुनसक्ने महाशाखा अधिकारीहरूको ठहर छ ।
‘भोटेकोशी जलाधार क्षेत्रमा बाढी आउनु एकदिन अघिसम्म भारी वर्षा भएको देखिँदैन’, महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले भने, ‘भोटेकोशी नदीमा तिब्बत तर्फबाट एक्कासि ठूलो बाढी नेपालतर्फ प्रवेश गरेको छ ।’ नेपालतर्फकै हिमताल विष्फोट भए/नभएको तथ्य बुझ्ने काम भइरहेको उनले बताए ।
बिहान सबेरैको बाढीमा परेर नेपाली र चिनियाँसहित १८ जना बेपत्ता भएका छन् । रसुवागढी नाकाको भन्सार यार्डमा कार्यरत ९ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेका ३ जना प्रहरी र ६ जना चिनियाँ सम्पर्कविहीन भएका रसुवा प्रहरीले जनाएको छ ।
रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । उद्धार गरिएकामा ४ महिलासहित ४६ जना पुरूष छन् ।