१६ असार, कैलाली ।
आइतबार (१५ असार) रातिदेखिको अविरल वर्षाले धनगढी बजारको मुख्य क्षेत्रसहित आसपासका भेग जलमग्न भएका छन् ।
धनगढी उप–महानगरका विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत जलमग्न छन् । सयौँ घरमा पानी पसेको छ । अधिकांश पसल डुबानमा परेका छन् ।
भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको छ । अव्यवस्थित तथा पुराना नालीमा पानी निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो समस्या दोहोरिने गर्छ । पुराना खोलानाला अतिक्रमण भएपछि वर्षैपिच्छे यहाँका बस्ती डुबानमा पर्ने गरेका स्थानीयको भनाइ छ । ढलको व्यवस्थापन नभई सडक पिच हुँदा पनि बस्ती डुबानमा पर्ने गरेका स्थानीय अगुवा शिवराज जोशीले बताए ।
पानी निकास हुने पुराना खोलानाला मासिएकाले पनि डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष धर्मराज ओझाकोे भनाइ छ । धनगढीका विभिन्न स्थान जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डुवान डुवानमा परेकाको उद्धार
यसैबीच, हिजो रातिदेखिको अविरल वर्षाले डुबानमा परेका कृष्णपुर नगरपालिका–५, पवित्राबस्तीका आरती विकसहित ४ जनालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकैको पवित्र आधारभूत विद्यालयमा सारिएको हो ।
धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका ४ जनालाई पनि उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ । धनगढी–७ बेली गाउँका सिताराम रानाको कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो ।
वर्षाले विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित रूपमा विद्यालयमा सारिएको बोहराले बताए । ‘वर्षा हुने क्रम निरन्तर जारी रहेकाले खोला नालामा माछा मार्न हिँहडुल गर्न तथा जथाभाबी घर बाहिर नजान आग्रह गरेका छौँ’, उनले भने । बोहोराका अनुसार महाकाली नदीमा पानीको बहाव ६५ हजार चारसय ९० क्युसेक छ ।
मोहना, चौधर, स्याली, सुनवोरालगायत नदीमा पानीको बहाव उच्च छ । मानवीय र चौपाया क्षति भने अहिलेसम्म भएको छैन । यसैबीच जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा थप वर्षा हुन सक्ने जनाउँदै नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भू–भागमा बाढीको जोखिम औंल्याएको छ ।
रासस