Tuesday, July 1, 2025

वृक्षरोपणको महत्वाकांक्षी कार्यक्रम घोषणा

१३ असार, काठमाडौैँ।
वन तथा वातावरण मन्त्रालयले वृक्षरोपणबारेको महत्वाकांक्षी योजना घोषणा गरेको छ ।

हरेक वर्ष देशभर ३ करोड बिरूवा रोप्ने मन्त्रालयको लक्ष्य छ । २० वर्षभित्र ६० करोड बिरूवा रोप्न मन्त्रालयले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा गरेको हो । महाअभियानका लागि ‘अबको अभियानः हरियाली बढाऔँ, हिमालय जोगाऔँ’ नारा तय गरिएको छ ।

हरेक वर्ष १४ असारदेखि १५ साउनलाई महाअभियानका रूपमा अघि बढाइने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले बताए । यसबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पु-याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेको छ, त्यो लक्ष्यमा पुग्न वृक्षरोपण जस्ता अभियान अपरिहार्य छ ।’

महाअभियानमा संघीय मन्त्रालय/निकाय, प्रदेश, स्थानीय तह र सबै प्रकारका वन समूह तथा अन्य सरोकारवाला सहभागी बन्ने मन्त्री शाहीको भनाइ छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा सामुदायिक वन तथा राजमार्ग किनार, खोला किनार, पर्ती जग्गा, सार्वजनिक तथा निजी जग्गामा फलफूल, जडिबुटी तथा उच्च मूल्यका वनस्पति वृक्षरोपण गर्ने कार्यक्रम समेटिएको छ ।

सो कार्यक्रमलाई सफल बनाउन वन मन्त्रीस्तरीय निर्णयबाट महाअभियान घोषणा गरिएको हो । अभियानले वनबाट समृद्धी, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्न योगदान पु-याउने वन मन्त्रालयले जनाएको छ । हरित र समृद्ध वातावरणको निर्माण गर्ने उद्देश्यलाई पनि महाअभियानले समेट्ने वन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर पौडेलले बताए । ‘यो अभियानले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने, हिमालय जोगाउने र स्वच्छ भविष्य सुनिश्चित गर्ने लक्ष्य हासिल गर्नेछ’, उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार