Wednesday, May 28, 2025

मनसुनमा २० लाख नागरिक प्रभावित हुने प्रक्षेपण

११ जेठ, काठमाडौँ ।
यस वर्षको मनसुनबाट नेपालमा ४ लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा यस्तो अनुमान गरेको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा सबै विषयवस्तुको विश्लेषण प्राधिकरणले यस्तो प्रक्षेपण गरेको गरी तयार पारेको हो ।

प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । यो वर्षको मनसुनमा सबै प्रदेशमा २० लाख मानिस प्रभावित हुने आँकलन गरिएकाले त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको उनले बताए । ‘मौज्दात सामग्री के छ ? कति थप आवश्यक पर्दछ? भन्ने सबै विषय आँकलन गरेर कार्ययोजना तयार पारेका हौँ’, केसीले भने ।

यही बुधबार (१४ जेठमा) गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उक्त राष्ट्रिय कार्ययोजना पेस गर्ने तयारी गरिएको छ । सोही बैठकबाट पारित भएपछि कार्ययोजना कार्यान्वयनमा जाने प्रवक्ता केसीले जानकारी दिए । कार्ययोजनाले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म कार्य जिम्मेवारी तोकेको छ ।

प्रस्तावित कार्ययोजनामा हरेक एक/एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्यांकन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए । गत साता नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ । मौसम विज्ञान विभागले सार्वजनकि गरेको आँकलनमा वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम पनि बढी हुने जनाएको छ ।

सोही पूर्वानुमानका आधारमा प्राधिकरणले सबै सरोकार भएका निकायका वाला प्रतिनिधि तथा संघसंस्थासँग सुझाव लिएर विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारेको हो । मौसम विज्ञान विभागले विभागले कर्णाली प्रदेशको पूर्वीभूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ ।

यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना विभागले औँल्याएको छ । साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।

उहाँका अनुसार यस मनसुनमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, वाग्मती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

साथै मधेसका पूर्वी तथा दक्षिणी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार