७ जेठ, काठमाडौँ ।
यसपटकको मनसुनमा उच्च पहाडी र हिमाली भेगमा वर्षाको मात्रा धेरै हुने भएको छ ।
उच्च भेगमा सरदर भन्दा बढी वर्षाको प्रक्षेपण गरिएको हो । उपल्लो भेगमा हुने वर्षाको असर चुरे, मधेश र तराईका भू–भागमा देखिने छ ।
उपल्लो र तल्लो तटीय भेगमा हुने वर्षाको दोहोरो चापले बाढी, पहिरो र डुवानका घटना बढाउने विज्ञहरूको चिन्ता छ । हिम पहिरो खस्ने, हिमताल विस्फोटका घटना हुनसक्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को ठहर छ ।
१३ जुनदेखि २ अक्टोबर नेपालको मौसमी क्यालेण्डर हो ।
जल तथा मौसम विज्ञान विभागले बुधबार (७ जेठमा) औपचारिक रूपमा यो वर्षको मनसुन भविष्यवाणी सार्वजनिक गरेको हो । यही १८ जेठदेखि १४ असोजसम्म बढी वर्षा हुने क्षेत्रहरू धेरैजसो उच्च पहाडी र हिमाली क्षेत्रलाई औँल्याइएको छ ।
मनसुन अगावै (प्रि–मनसुनमा) सरदरभन्दा बढी वर्षा भइरहँदा पहिरो जाने, भिराला खोला र खहरेहरूमा गेग्रान बहाव थुप्रिएर सडक आवागमन अवरूद्ध भइरहँदा मध्य वर्खामा यस्ता घटना झनै बढ्ने विज्ञहरूको ठहर छ ।
मनसुनका बेला गण्डकी प्रदेशका अधिकांश भूभाग, कर्णालीको पूर्वी भेग र लुम्बिनी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको दक्षिणी भेग, लुम्बिनीको पश्चिम भेग, गण्डकी प्रदेशको उत्तर–पूर्वी क्षेत्र, वाग्मती र कोशी प्रदेशका उत्तरी भेगहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको ठहर छ ।
मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूेगमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहने विभागको आकलन छ । अन्य भेगमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको मौसमविद् पोखरेलले बताइन् ।
मौसमविद्हरू सरदर वर्षाको ९० देखि ११० प्रतिशतलाई औसत वर्षा मान्ने गर्छन् । सो भन्दा माथिको वर्षालाई औसत भन्दा माथि मान्ने गरिन्छ ।
गत वर्षको मनसुनमा पनि नेपालमा औसतभन्दा बढी वर्षा हुँदा जधनको क्षति भएको थियो । गत वर्ष भारी वर्षा, पहिरो र बाढीजन्य घटनाबाट ३ सय ५१ जनाको निधन भएको थियो । विगतका वर्षहरूको तुलनामा गत वर्ष मानवीय क्षति तीन गुणाले वृद्धि भएको गृह मन्त्रालयको तथ्यांक छ ।