Wednesday, May 28, 2025

चट्याङबाट ४ वर्षमा २३७ जनाको मृत्यु

६ जेठ, काठमाडौँ ।
नेपालमा पछिल्लो ४ वर्षमा चट्याङबाट २ सय ३७ जनाको मृत्यु भएको छ । यो अवधिमा ९ सय ८ जना घाइते भएका छन् ।

झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर चट्याङको जोखिममा रहेको जानकारी दिइन् ।

उनका अनुसार १ साउन, २०७८ देखि ५ जेठ, २०८२ जेठमा चट्याङका १ हजार १ सय १८ वटा घटना भएका छन् भने १ हजार ६ सय ७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल ५ औँ स्थानमा पर्ने उनले उल्लेख गरिन् ।

‘घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्,’ प्राधिकरणकी सह–सचिव श्रेष्ठले भनिन् ।

विगत ४ वर्षमा कोशी प्रदेशमा चट्याङका २ सय ९५ वटा घटना हुँदा ३ सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उनले जानकारी दिइन् । कोशीमा चट्याङका कारण १ करोड ६० लाख ४५ हजार ५ सय रूपैैयाँ बराबरको धनमालको क्षति भएको छ भने ४ सय २० वटा चौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा ४ वर्षमा १ सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ । ३ करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा २ सय ७६ परिवार चट्याङबाट प्रभावित, १ सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका प्राधिकरणकी सह–सचिव श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा २ सय ७, सुदूरपश्चिममा १ सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।

नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह–प्राध्यापक मदन सिग्देलले जानकारी दिए । गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनले बताए ।

सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले उल्लेख गरे ।

चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सिग्देलको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए ।

‘विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव हो,’ जलवायु विज्ञ सिग्देलले भने, ‘हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाएका छौँ, त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ ।’

मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईवस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको उनले बताए । त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतःन्यूनीकरण हुने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् ।

ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रबारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले जानकारी दिए । उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उनले बताए ।

घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उनले बताए । स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायकाबारेमा वडा र टोलसम्म पर्याप्तमात्रामा सचेतना पु¥याउनुपर्नेमा उनले जोड दिए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार