Wednesday, July 9, 2025

‘जलवायु परिवर्तन एक वैश्विक आपत्’

२ जेठ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनलाई एक वैश्विक आपत् भएको उल्लेख गर्दै कुनै एक्लो देशले यस्तो समस्या हल गर्न नसक्ने बताएका छन् ।

यसको समाधान पनि वैश्विक हुनुपर्ने, यस्तो उपाय न्यायमा आधारित, उत्तरदायित्वमा आधारित, ऐक्यबद्धताबाट उत्प्रेरित हुनुपर्ने उनको तर्क छ । काठमाडौँमा आज शुक्रबारबाट सुरू भएको सगरमाथा संवादको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘आउनुहोस्, हामी हातेमालो गरौँ, साहस र संवेदनाका साथ अगाडि बढौँ, न्यायपूर्ण भविष्यका लागि, दिगो पृथ्वीका लागि ।’ हिमाली मुलुक भएकाले जलवायु प्रभाव नेपालका लागि नौलो नभएको बताएका ओलीले यो विश्वकै साझा चिन्ताको विषय बनेको धारणा राखे ।

पृथ्वीका जलभण्डार हिमालहरू अहिले भयंकर संकटमा भएकाले तिनिहरूको नाजुकता सबैको साझा तर असुरक्षित अवस्था बनेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने, ‘यसले सबै थोकलाई लपेट्छ, हाम्रो पृथ्वी, हाम्रा जनता र हाम्रो साझा समृद्धि । कुनै पनि राष्ट्र यसबाट अछुतो छैन, कुनै पनि समाज पूर्ण सुरक्षित छैन ।’

यस्तै साझा समस्यामा हातेमालो गर्न, साहस र संवेदनाका साथ अगाडि बढ्न नेपालले सगरमाथा संवाद आयोजना गरेको उनले प्रष्ट्याए । ‘हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्, अलग रहने भनेर होइन, अझै माथि उठ्न सकिन्छ भनेर । हामीलाई चाहिन्छ नवीन संकल्प, साहसी विचार, नयाँ लगानी, क्षेत्रीय र विश्वव्यापीस्तरमा गहन सहकार्य’, ओलीले भने ।

३ दिने अन्तर्राष्ट्रिय जमघट जलवायु परिवर्तनले गराएको क्षति, सम्भावित जोखिम रोक्ने र जलवायुजन्य जोखिममा अन्तर्राष्ट्रिय न्याय माग्न संवाद केन्द्रित छ । हिमालदेखि टापु राष्ट्र (हाइल्याण्ड टु आइल्याण्ड) का मुद्दा एउटै जमघटमा आदान प्रदान गर्न, सहकार्यका उपाय खोज्न २० भन्दा बढी मुलुकका प्रतिनिधि काठमाडौँ आएका छन् ।

संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा केन्द्रित छ । जलवायु परिवर्तनको जोखिम घटाउन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्र प्राथमिकता, जलवायुजन्य हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधन गर्ने उपाय खोज्न संवाद केन्द्रित हुने संवाद सचिवालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री डा.भूपेन्द्र यादवले वातावरणीय संकटको ठूलो हिस्सा हिमालयले बहन गर्नुपरेको बताए । भारतको वातावरणीय भविष्य हिमालयसँगै जोडिएको उल्लेख गर्दै उनले भारत सरकार पहाडी र हिमाली क्षेत्रका जनताले भोग्नुपर्ने असरबारेमा सचेत रहेको धारणा राखे ।

साथै मन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि हिमाली संकटको लागि भारतले निभाउने भूमिकामा कमी नहुने गरी काम गर्न तयार रहेको बताए । जलवायु संकट न्यूनीकरण गर्न योगदान दिन आफ्नो देश प्रतिबद्ध रहेको उनले प्रष्ट्याए ।

संवादमा भारत, चीनसहित विभिन्न १२ देशबाट मन्त्रीस्तरीय प्रतिनिधिमण्डल नेतृत्वको टोली काठमाडौँ आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार