१८ वैशाख, काठमाडौँ ।
यस वर्षको मनसुनमा वर्षाको मात्रा औसत भन्दा बढी हुने भएको छ ।
मध्य नेपालमा औसतभन्दा केही बढी र सुदूरपश्चिम प्रदेश र आसपास भेगमा औसतभन्दा धेरै वर्षा हुने देखिएको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले यस्तो प्रक्षेपण गरेको हो ।
भारतको पुणेमा भएको मौसमविद्हरूको फोरमले यस्तो ठहर गरेको हो । सास्कोपको ३१औँ बैठक यही सोमबारदेखि बुधबारसम्म भएको थियो ।
आगामी मनसुनमा नेपालसहित अन्य दक्षिण एसियाली देशहरूमा तापक्रम पनि सरदर भन्दा बढी हुने मौसमविद्हरूको विश्लेषण छ । सास्कोपमा सार्कका सबै देश देश र म्यानमार सदस्य छन् । विश्व मौसम संगठन (डब्लुएमओ) का विज्ञहरू पनि यो बैठकमा सहभागी हुन्छन् ।
१३ जुनदेखि २ अक्टोबर नेपालको मौसमी क्यालेण्डर हो ।
मनसुन अवधिमा नेपालको औसत वर्षा १ हजार ५ सय ३० मिलिलिटर र काठमाडौँको वार्षिक औसत वर्षा १ हजार ४ सय ५४ दशमलव ८ मिलिलिटर हो । ४ महिनाको अवधिमा नेपालमा वार्षिक वर्षा भन्दा ८० प्रतिशत हाराहारी पानी पर्ने गर्छ ।
मौसमविद्हरू सरदर वर्षाको ९० देखि ११० प्रतिशतलाई औसत वर्षा मान्ने गर्छन् । सो भन्दा माथिको वर्षालाई औसत भन्दा माथि मान्ने गरिन्छ । गत वर्षको मनसुनमा पनि नेपालमा औसतभन्दा बढी वर्षा भएको थियो ।