Tuesday, April 29, 2025

चट्याङबाट ६ वर्षमा १२ जनाको मृत्यु

१५ वैशाख, ओखलढुंगा ।

चट्याङ लागेर जिल्लाका विभिन्न भेगमा १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्ममा चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यस अवधिमा लाखौँको क्षति भएको छ ।

पछिल्लो २ वर्षमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । १० जनामा घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । चालु आवको साउनदेखि चैत मसान्तसम्म चट्याङले ३ जना मानिस घाइते भएका छन् ।

यस अवधिमा १० वटा चौपायाको मृत्यु भएको छ । विभिन्न विद्युतीय उपकरणमा समेत क्षति भएको छ । गत आव २०८०/८१ मा ६ स्थानमा चट्याङ पर्दा २ जनाको मृत्यु र ७ जना घाइते भएका थिए । यस्तै तीन घर प्रभावित भएका थिए भने ५ वटा चौपाया मरेका जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

अन्य विपद् जस्तो चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले त्यति ध्यान दिएको देखिँदैन । चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि ‘अर्थिङ’ लगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन ।

जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार