१० असोज, चितवन।
चितवन राष्ट्रिय निकुञ्जले दसैंअघि निकुञ्जमा जिप सफारी सुरू गर्ने भएको छ ।
वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जंगलमा भएका स–साना खोलाखोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जंगल सफारीमा रोक लगाएको थियो । गत १६ असारदेखि जिप सफारी बन्द गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिनेगरी काम भइरहेको छ । असोज १२ वा १३ गतेदेखि व्यवसायिक जिप सफारीका लागि अनुमति दिने तयारी गरिएको छ ।
त्यसका लागि जिप दर्ता गर्न थालिएको पन्तले जानकारी दिए । गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ । गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याउन भनिएको छ ।
गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरू गरिएको थियो । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट ९ वटा जिप सञ्चालन हुने गर्छन् । त्यस्तै उजौलीबाट २, अमलटारीबाट ५ र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्छन् ।
रासस