२३ चैत, काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएपछि सरोकारवालाहरूले नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
वातावरणका क्षेत्रमा क्रियाशील विज्ञ र संघ/संस्थाले प्रदूषण बढाउने कारणहरू पहिचान भइसकेको उल्लेख गर्दै यसबारेमा गम्भीर बन्न अपिल गरेका हुन् । वातावरणविद् भूषण तुलाधर, अभ्नी भेन्चर्सका निर्देशक सिलसिला आचार्य, प्रकृति रिसोर्सेज सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री, स्वच्छ ऊर्जा नेपालका महासचिव राजन पराजुली र नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई वायु प्रदूषण नियन्त्रणका उपाय सुझाएका छन् ।
वन डढेलोसँगै पुराना जीर्ण सवारी साधन, निर्माण क्षेत्र र कलकारखानाबाट निस्कने धुवाँधुलो प्रदूषण बढाउने प्रमुख कारण भएको उनीहरूको ठहर छ । ‘देशको राजधानीलगायत अन्य ठाउँको हावा सास फेर्न नहुने अवस्थामा पुगेको र नेपालको विद्यमान संविधानले मौलिक अधिकारअन्तर्गत स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेकाले नेपाल सरकारले वायुप्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि तत्काल कदम चाल्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
एक सातायता काठमाडौंसहित देशका धेरै ठाउँको वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ३ सय भन्दा माथि छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम मानिन्छ ।
एक्युआई ३ सय आसपास वा त्योभन्दा बढी भएको अवस्थामा सरकारले ‘वातावरणीय आपतकाल’ घोषणा गर्नुपर्ने, वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गरी आवश्यक स्रोतसाधनको व्यवस्था गर्न विज्ञहरूले सुझाएका छन् ।
अन्धाधुन्ध धुवाँ फाल्ने सवारीलाई तत्काल रोक लगाउने, धुलो लिएर उपत्यकामा भित्रिने सवारीलाई रोक लगाउँदै समुदायस्तरमा व्यापक सडक सफाइ गर्ने कार्य अविलम्ब कार्यान्वयन गर्नुपर्ने उनीहरूको ठहर छ । वायुप्रदूषण सुधार नहुञ्जेलसम्मका लागि उपत्यकाका विद्यालय बन्द गर्न, अहिलेको प्रदूषण अवस्था नियन्त्रण गर्न सवारीसाधन जोर–बिजोर प्रणाली लागू गर्ने विकल्पमा जान यी संघ/संस्थाले सामूहिक अपिल गरेका हुन् ।
‘फोहोरमैला तथा कृषिजन्य अवशेष जलाउने कार्यमा तत्काल रोक लगाइयोस् । स्वास्थ्य जोखिमबाट जोगिनका लागि सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गरियोस्’, विज्ञप्तिमा भनिएको छ ।