९ असार, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जभित्र यही १५ असारदेखि जिप सफारी बन्द हुने भएको छ ।
वर्षा सक्रिय भएसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएपछि सफारी बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्छ ।
चाडपर्व सुरू हुँदै गर्दा असोजको तेस्रो सातातिर सफारी खुल्ने गर्छ । वर्षा लम्बिँदा सोहीअनुसार खुल्ने समय पनि पछाडि सार्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत वर्ष १६ असारदेखि बन्द भएको सफारी २४ असोज (फूलपाती) देखि पुनःसञ्चालनमा आएको थियो ।
उनका अनुसार वर्षाले बिगारेको सडक मर्मत सम्भार गरेर जिप सफारी खुला गरिन्छ । मध्यवर्ती सामुदायिक वनमा भने जिप सफारी सञ्चालन हुने थापामगरले बताए । निकुञ्जभित्र पैदलयात्रा, घडियाल प्रजनन् केन्द्र अवलोकन लगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुनेछन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार विश्वभरका निकुञ्जमा हरेक वर्ष केही महिना सर्वसाधारणका लागि बन्द गर्ने गरिन्छ । सफारी र मानवीय क्रियाकलाप घट्दा निकुञ्जभित्रका वन्यजन्तुलाई बाधा नपुग्ने र जीपनयापन सहज हुने उनको भनाइ छ ।
वर्षायाममा बाढी आउने र खोला खोल्सा बढ्ने, रूख ढल्ने, बाटोसमेत चिप्लो र हिलो हुने, घाँस र झाँडी बढेर जंगली जनावरसमेत नदेखिने पन्तले बताए । निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसाराबाट १०, मेघौलीबाट ७ र अमलटारीबाट ५ वटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् ।
रासस