१२ वैशाख, काठमाडौँ ।
वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।
त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले बुधबार (११ वैशाखमा) सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव संकलन गरेको छ । साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ ।
वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग साझा धारणा बनाई अघि बढ्ने बताए । ‘मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्नेगरी अघि बढ्छौँ । साथै हात्तीबाट हुने क्षतिमा राहत दिने कार्यविधिलाई पनि अझ सहज र सरल बनाउँदैछौँ,’ उनले भने ।
सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट नेपालमा ३ सय ४५ जनाको मृत्यु भएको छ । मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ वटा हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ ।
वन राज्यमन्त्री रुपा विकले हात्तीको क्षतिबाट गरिब समुदाय बढी प्रभावित हुने गरेको उल्लेख गर्दै मानव–हात्ती द्वन्द्व न्यूनीकरणको विषय अब वन मन्त्रालयको मात्र नभई अन्य मन्त्रालय र सबै तहका सरकारको चासोको विषय बन्नुपर्ने उल्लेख गरिन् ।
मन्त्रालयका सह–सचिव बुद्धिसागर पौडेलले पछिल्लो समय मानव–हात्ती द्वन्द्व भयावह बन्दै गएको उल्लेख गर्दै समाधानका लागि शिक्षा र चेतनाका साथै स्थानीय जनताले वैकल्पिक खेतीबारेमा समेत सोच्नुपर्नेमा जोड दिए । उनले प्रभावित मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाइने जानकारी दिए ।
पछिल्लो तथ्यांकनुसार हाल नेपालमा २ सय ३० जंगली हात्ती र सरकारी तथा निजी रूपमा पालिएका १ सय ८० हात्ती छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपालका राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रमानबाबु प्रधानले सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने बतए । ‘मानिसको व्यवहार परिवर्तन गर्न सकिन्छ तर हात्तीको व्यवहार परिवर्तन गर्न सकिँदैन,’ उनले भने ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङले भारतीय सीमाबाट आउने हात्तीका कारण पनि क्षति हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा भारतसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिए । ‘मानव–हात्ती द्वन्द्व समाधानको विषयलाई दिगो र प्रभावकारी बनाउन वन मन्त्रालयको मात्र नभई राजनीतिक एजेन्डा बनाउनुपर्छ,’ उनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. नरेश सुवेदीले हात्तीको आक्रमणबाट बच्न पछिल्लो समय सुरू गरिएको फेन्सिङ तार प्रविधि प्रभावकारी बनेको उल्लेख गर्दै स्थलमा खटिने कर्मचारीलाई स्रोत र सवारीसाधनले चुस्त बनाउनुपर्ने सुझाव दिए ।
द जिओलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) नेपालका राष्ट्रिय प्रतिनिधि डा. भगवान दाहालले हात्तीको रुट पहिचान गरी सो क्षेत्रमा हुने मानवीय क्षति कम गर्न सकिने भनाइ राखे । उनले प्रविधिको प्रयोग गरेर तथा वैकल्पिक खेती गरेर हात्तीबाट हुने क्षति कम गर्न सकिने सुझावसमेत दिए ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नेपालका जलवायु परिवर्तन विज्ञ डा. शालु अधिकारीले आफूहरूले कृषकलाई बीमा सुविधा दिने कार्यमा सहयोग गर्दै आएको अवगत गराउँदै यसबाट दिगो वन्यजन्तु व्यवस्थापनका लागि काम गर्न सकिने बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले मानव–हात्ती द्वन्द्वसम्बन्धी प्रस्तुति गर्दै नेपालका पूर्वी तराई क्षेत्रमा भाले हात्तीको संख्या धेरै भएकाले तुलनात्मक बढी क्षति हुने गरेको जानकारी गरए । बर्दिया क्षेत्रमा पोथी हात्तीको संख्या धेरै भएकाले तुलनात्मक कम क्षति हुने गरेको उनको भनाइ थियो ।
मानव–हात्ती द्वन्द्वबाट हुने क्षतिको अवस्था हेर्दा संरक्षण क्षेत्र भित्र र बाहिर बराबरी देखिन्छ भने मुख्य भित्री क्षेत्रमा खासै क्षति भएको देखिँदैन । मन्त्रालयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हालसम्म क्षति पु-याउने हात्तीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, फेन्सिङ तारबार, मृतकका परिवारलाई रोजगार र छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको छ ।
भीष्मराज ओझा/रासस