१८ चैत, झापा ।
गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो ।
उनी आफ्नो घरदेखि ४ किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा ज्यान गुमाउनु भयो ।
यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी ४ जनाले ज्यान गुमाए । जिल्लामा हात्तीको आक्रमणबाट मानवीय क्षति बढ्दो छ । बितेका १४ वर्षमा झापामा हात्तीको आक्रमणमा परी ६४ जनाले ज्यान गुमाएका डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए ।
सोही अवधीमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको संख्या ८ छ । वि.स. २०६२ देखि हालसम्म झापामा २२ वटा जंगली हात्तीको मृत्यु भएको भालले बताए । उनका अनुसार हात्तीको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यवहारिक रूपमा कठिन छ ।
तत्कालका लागि सामुदायमा जनचेतना फैलाउन सके मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उनले बताए । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा हात्ती पीडित ५ सय १० जनालाई राहत वितरण गरिएको छ । जसमध्ये २ जना घाइतेलाई २ लाख ६१ हजार १ सय २० रूपैयाँ र घर गोठ क्षति भएका १ सय ४८ घरपरिवारलाई २३ लाख रूपैयाँ प्रदान गरिएको छ ।
भण्डारण गरेको अन्न क्षति भएका १ सय २७ परिवारलाई ९ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका ३ सय ७१ परिवारलाई ३४ लाख ५३ हजार ४ सय रूपैयाँ राहत वितरण गरिएको छ ।
कार्यालयका अनुसार चालु आवमा मन्त्रालयबाट ४ जना मृतकका परिवारलाई जनही १० लाख रूपैयाँका दरले ४० लाख र ३३ जना पीडितलाई ५२ लाख ९९ हजार ९ सय २८ रूपैयाँ राहत वितरण गरिएको छ । पशुचिकित्सक डा. भालका अनुसार मृतकका परिवारलाई जनही १० लाख, घाइतेको अवस्था अनुसार २ लाखसम्म र जीवनभर अशक्त भएको अवस्थामा ५ लाख रूपैयाँसम्म प्रदान गरिएको छ ।
अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम २० हजार रूपैयाँसम्म डिभिजन वनले राहत रकम उपलब्ध गराउँदै आएको छ ।
रासस