Saturday, March 22, 2025

मेरूङमा भेटियो दुर्लभ रेडपाण्डा

७ चैत, खोटाङ
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् ।

रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरूङ सामुदायिक वनमा रेडपाण्डा भेटेका हुन् । नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर यही १ चैतदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौँथो दिन रेडपाण्डा भेटेको हो ।

रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वको टोली मेरूङ पुगेका छन् । २ हजार ७ सय ८१ मिटरको उचाइमा रेडपाण्डा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रूखमा सुतिरहेको अवस्थामा यो जन्तु भेटिएको हो ।

करिब २ वर्ष ६ महिनाको भाले भेटिएको सो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिए । उक्त वनमा करिब ५ वटा रेडपाण्डा हुनसक्ने उनको अनुमान छ । आकार र तौलको आधारमा रेडपाण्डालाई ५ प्रकारमा विभाजन गरिने बताउँदै वनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सक्ने सम्भावना रहेको रेडपाण्डा हेरालु पुष्पलाल गिरीले बताए ।

नगरपालिकाको कोप्चेसहित अन्य वनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन् । रेडपाण्डाले विशेष गरी मालिंगो बाँसको टुसा खान मन पराउने हुनाले मालिंगो भएको क्षेत्रमा बढी भेटिने स्थानीय बताउँछन् । रेडपाण्डा खोजीका लागि टोली संयोजक राईसहित महोत्सव संयोजक, दिक्तेल रूपाकोट मझुवागढ–१० का वडाध्यक्ष मुगाधन राई, १२ नं का वडाध्यक्ष दानबहादुर राईलगायतको टोली वन क्षेत्रमा पुगेर अनुसन्धान थालेको वन उपभोक्ता समूहका अध्यक्ष राईले उल्लेख गरे ।

यसअघि क्यामेरा ट्यापमार्फत फेला पर्नु तथा स्थानीयले प्रत्यक्ष भेटिरहेको कुरा सुनाउनुले समेत जिल्लाका केपिलासगढी गाउँपालिकाका फेदीसहित माथिल्लो भेगका वन क्षेत्रमा रेडपाण्डा रहेका पुष्टि हुन्छ’, उनले भने । जिल्लामा सामुदायिक वन समूहको सक्रियता तथा वनसम्बन्धी विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिएको छ ।

विशेषगरी फेदी क्षेत्रका विभिन्न सामुदायिक वन समूहमा आवद्ध स्थानीय रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका छन् । फेदीवासीले वन क्षेत्रमा रेडपाण्डा संरक्षण तथा प्रचारप्रसारसम्बन्धी होर्डिङ बोर्ड राख्नका साथै फोटो खिचेर उपलब्ध गराउनेलाई नगद पुरस्कार दिने गरेका छन् ।

नगरपालिकाले गर्ने रेडपाण्डा तथा थार महोत्सवले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना सफल बनाउन मद्दत पुग्ने जनाइएको छ । भ्रमण वर्षअन्तर्गत खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा संघसंस्थाले विभिन्न महोत्सव आयोजना गर्ने योजना अनुरूप दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव गर्ने तयारी गरेको जनाएको हो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार