६ चैत, बाँके
जिल्लाका विभिन्न सामुदायिक तथा चक्ला वनमा सालका रूख जोगाउन वन संवर्धन प्रणाली लागु गरिएको छ ।
सालका रूख घट्दै गएका र कुकाठका रूखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा साल, अस्नालगायत प्रजातिका रूख संरक्षण गर्न थालेको हो ।
शमशेरगञ्ज माथेबस चक्ला वनको २ हजार ५ सय ७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका ५ हजार ८ सय २५ हेक्टर क्षेत्रफलमा वन संवर्धन प्रणाली लागु गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । सालका रूखका साथै अन्य रूख बढाउने काम भइरहेको कार्यालय बाँकेका सूचना अधिकारी टंकबहादुर गुरूङले बताए ।
कार्यालयले २ हजार २ सय हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको जनाउँदै उनले वन संवर्धन प्रणाली लागु गरेपछि सालका रूखको संरक्षण हुन थालेको बताए । सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै गुरूङले काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताए ।
यस प्रणालीबाट कतिपय ठूला सामुदायिक वनले त वर्षमा एक करोड रूपियाँ हाराहारीमा आम्दानी गरिरहेका पनि उनको भनाइ छ । सो प्रणालीबाट पिपल, वर, बेल र चराका वासस्थान (गुँड) हुने प्रजातिका रूखको समेत संरक्षण गरिएको छ ।
८० प्रतिशत सालका रूख र २० प्रतिशत अन्य रूखको संरक्षणमा जोड दिइएको वन कार्यालयले जनाएको छ । २ वर्षअघिबाट मात्र बाँकेमा वन संवर्धन प्रणाली सुरू भएको थियो । कार्यालयका अनुसार जिल्लामा १ सय १९ वटा सामुदायिक, चार धार्मिक, १ सय ४ निजी र एउटा चक्ला वन छन् ।
बाँकेको माथेबास शमशेरगञ्ज चक्ला वन देशकै सबैभन्दा ठूलो चक्ला वन हो । सो वनका कारण वन संरक्षण तथा राजस्व संकलनमा उल्लेख्य कार्य भइरहेकाले चक्ला वनलाई देशभरि विस्तार गर्ने योजना अगाडि बढेको पनि डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
गोरखापत्र दैनिक