Tuesday, March 18, 2025

बजेट अभावमा रोकियो गैँडा गणना

१ चैत, काठमाडौं
हरेक हरेक ५/५ वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ ।

दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि गणनाकार्य प्रभावित बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए ।

सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोस्टमार्फत संकेतका आधारमा एक–एक गैँडाको अवस्था पहिचान गरिने उनले बताए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भव भएसम्म गणना गरिने कँडेलको भनाइ छ ।

उनले भने, ‘गणनाजस्तै गरी यकिन संख्या सार्वजनिक नभए पनि सूक्ष्म रूपमा एक–एक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ ।’ विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर गैँडा गणना गर्दै आएको थियो ।

चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छन् । गणनाले सबैभन्दा बढी संख्या चितवनमा रहेका देखाएको थियो । उक्त गणनाअनुसार त्यसबेला ७ सय ५२ गैँडा थिए । चितवन निकुञ्जमा ६ सय ९४ एकसिंगे गैँडा थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा ३ वटा गैँडाको तथ्यांक छ ।

नेपालमा सन् १९५० मा ८ सय, १९५५ मा ४ सय, १९६० मा ३ सय , १९६५ मा १ सय , १९७० मा १ सय ८, १९७५ मा १ सय ४७, १९८० मा ३ सय १०, १९८५ मा ३ सय १०, १९९० मा ३ सय ५८, १९९५ मा ४ सय ६६ गैँडा रहेको विभागले जनाएको छ ।

यसैगरी, सन् २००० मा ६ सय १२, २००५ मा ४ सय ९, २०१० मा ४ सय ३५ र सन् २०१५ मा ६ सय ४५ गैँडा थिए । यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार