१ चैत, मोरङ
लेटाङ नगरपालिका–९ जाँतेस्थित जंगली हात्तीको आक्रमणबाट गत २५ फागुनमा एक जनाको मृत्यु भयो ।
४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूलाई घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
बेलबारी–११स्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत २४ फागुनमा गते हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल उनको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।
डिभिजन वन कार्यालय मोरङको तथ्यांकअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा ९ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिए । जसमध्ये ४ वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट २ वटा, गोली हानेर एउटा, बेवारिसे एउटा र करेन्ट लागेर अर्को एक हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।
गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । ‘हरेक राति जंगली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ’, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र भन्छन् ।
दिउँसो जंगलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेका उनले बताए । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको मिश्रको भनाइ छ ।
हात्ती मानव बस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक सामुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न वन क्षेत्रमा करिब १ सय ५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरूवा रोपिएको सो कार्यालयले जनाएको छ । फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएका कार्यालयका अधिकारीहरू बताउँछन् ।
रासस