९ फागुन, चितवन
वन्यजन्तुका लागि पानीको सहज उपलब्धताका लागि चितवन राष्ट्रिय निकुञ्जले सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्जका विभिन्न ९ वटा क्षेत्रमा बोरिङ जडान गरिएका छन् ।
यसवर्ष निकञ्जको भिम्लेमा एउटा बोरिङ जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको संख्या बढी भएका र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको हो ।
घडियाल गोही प्रजनन केन्द्रमा १, हात्ती सार क्षेत्रमा १, भिम्लेमा २, कसरामा २, पुरानो पदमपुर क्षेत्रमा १, डुमरिया क्षेत्रमा १ र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।
चरन क्षेत्रसँगै यहाँका जनावरलाई पानीको अभावमा बाहिर निस्कनु नपरोस् भनेर सुक्खा क्षेत्रमा बोरिङ जडान गरिएको हो । थापा मगरका अनुसार १० लाख रूपैयाँको लागतमा नियमित पानी सञ्चालन हुने गरी सोलार बोरिङ जडान गरिँदै आएको छ ।
यसवर्ष निकुञ्ज र तराई भू–परिधि कार्यक्रम (ताल)ले संयुक्त रूपमा पानीको मुहान संरक्षण र पोखरी मर्मतका लागि २१ लाख रूपैयाँ खर्च गर्ने गरी काम भइरहेको उनले बताए । निकुञ्जको नियमित बजेटबाट ६ लाख र ताल कार्यक्रमको १५ लाख रूपैयाँको बजेटबाट पानीको मुहान संरक्षण र पोखरी मर्मत तथा सरसफाइ गर्न लागिएको हो ।
विशेषगरी लामिताल, थपलिया ताल, देवीताल क्षेत्रमा मिचाहा प्रजातिका झारहरुले पोखरी सुक्खा बनाउन थालेपछि ती ताललाई सरसफाइ गरिएको छ । थप २ वटा पोखरी नयाँ निर्माण गरिएको थापा मगरले जानकारी दिए । उनले भने, ‘ताल कार्यक्रमले पोखरी निर्माणसँगै मर्मतको काम गरिरहेको छ । हामीले सरसफाइ र निर्माणको काम गरेका छौँ ।’
रासस