१५ माघ, काठमाडौं
यस वर्षको ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ यही माघ २५देखि धनुषाको मिथिला बिहारी नगरपालिकामा हुने भएको छ ।
जैविक विविधताका क्षेत्रमा क्रियाशील संस्था ‘प्रकृतिका साथीहरू’ (एफओएन) र मिथिला वाइल्डलाइफ ट्रष्टको आयोजनामा २ दिने उत्सव तय भएको हो ।
‘किसानहरूको साथी’ कहलिएको लाटोकोसेरो तथा हुचिलबारेको यो १२औँ सचेतना उत्सव हो ।
१२औँ उत्सवअघि धनुषाका विभिन्न विद्यालयहरूमा लाटोकोसेरो संरक्षणबारे सचेतना कक्षा, चित्रकला, निबन्ध लेखन, कविता प्रतियोगिता, अनुशिक्षण लगायतका गतिविधि सञ्चालन भइरहेका एफओएनका निर्देशक राजु आचार्यले बताए । उत्सवका अवसरमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीयस्तरका खेल, सांस्कृतिक गीत तथा नृत्य प्रर्दशनीसँगै लाटोकोसेरो सम्बन्धी जानकारी र तस्बिरहरूको प्रदर्शनी गरिने छ ।
पोखरास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरूले लाटोकोसेरो संरक्षण सम्बन्धी नृत्य तथा सचेतना नाटकको प्रदर्शन गर्नेछन् । उत्सवलाई स्मरणीय बनाउन लाटोकोसेरो तथा हुचीलको अस्थाई संग्रहालय निर्माण तथा प्रदर्शनीस्थल तयार गरिएको छ । गहुँको छ्वाली, चुरा, ढुंगा, स्टीलका पाता, लप्सीका दाना, काठ र माटोको प्रयोग गरी बनाइएका लाटोकासेरा प्रदर्शनीमा राखिने छन् ।
त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयमा रहेका लाटोकोसेरोहरूका नमूना पनि प्रदर्शनीमा राखिने आचार्यले जानकारी दिए । विषयविज्ञ, यसबारेका अनुसन्धाताले लाटोकोसेरोबारेका कार्यपत्र प्रस्तुत गर्ने छन् ।
अवैध शिकार बढेपछि सचेतना उत्सव
नेपालमा अन्य ठूला जिवजन्तु सरह लाटोकोसेरो तथा हुचिलको अवैध शिकार तथा अवैध व्यापार हुन थालेपछि संरक्षणमा चासो लिएको एफओएनले सचेतना कार्यक्रम गर्न थालेको हो । यो संस्थाले डेढ दशकअघि नेपालका विभिन्न ४६ वटा जिल्लाको नमूना अध्ययन गर्दा नेपालबाट वार्षिक २ हजार हाराहारी लाटोकोसेरा तथा हुचिलहरू मारिने र अवैध रूपमा विभिन्न मुलुक पठाइने गरेको पाइएको थियो ।
अहिले पनि वार्षिक एक हजार पाँच सय हाराहारी यस्ता पक्षीको अवैध चोरी शिकारी हुने एफओएनको ठहर छ ।
विश्वमा २ सय ६० प्रजाति हाराहारीका लाटोकोसेराहरू पहिचान भएकामा नेपालमा २३ प्रजाति अभिलेख भएका छन् । २३ मध्ये ८ प्रजातीहरू नेपालमा दुर्लभ मानिन्छन् । खेतबारी र घरवस्ती आसपासका मुसाको संख्या नियन्त्रण गर्न सहयोग गर्ने भएकोले लाटोकोसेरोहरूलाई किसानको साथी भनिन्छ । पर्यावरणलाई सन्तुलित राख्न यस्ता पक्षीको भूमिका महत्वपूर्ण रहन्छ ।
४ जनालाई संरक्षण पुरस्कार
यो उत्सवमा जैविक विविधताका क्षेत्रमा क्रियाशील ४ जनालाई यस क्षेत्रमा पु-याएको योगदानलाई कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’को घोषणा गरिएको छ । त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्रका सह–प्राध्यापक डा. हरिप्रसाद शर्मा, संरक्षणकर्मी हेमन्त ढकाल, वातावरण पत्रकार अभयराज जोशी र वातावरण अभियन्ता भूमिरमण नेपाललाई जनही २५ हजार रूपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएका छन् ।
त्यसैगरी समयदेखि रेडपाण्डाको बासस्थान सुधार्दै पक्षी तथा वन्यजन्तु संरक्षणमा क्रियाशील इलामका महिलाहरूको समूह ‘जौबारी रेस्टोरेसन समिति’ले संस्थागत सम्मान प्राप्त गर्ने छ । यस अवसरमा धनुषाका संरक्षणकर्मी र अभियन्ता पनि सम्मानित हुँदैछन् ।