१३ माघ, काठमाडौं
उपत्यकाका विभिन्न सडक किनारमा ५ वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् ।
फायर हाइड्रेन्टलाई अहिलेसम्म मेलम्चीको पानी वितरण प्रणालीमा समेत जडान गर्न सकिएको छैन । मेलम्ची पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौं उपत्यकाभित्रका सडक किनारमा फायर हाइड्रेन्ट ठड्याइएको थियो ।
दमकलमा पानी भर्न मिल्ने भएका कारण यो उपकरण २०७७ चैतमा काठमाडौंमा मेलम्चीको पानी ल्याउनुभन्दा अघि नै जडान गरिएको थियो । फायर हाइड्रेन्ट राखेसँगै कुनै स्थानमा आगलागीको घटना भयो भने दमकललाई पानीका लागि भण्डारण केन्द्र र खोलातिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको थियो ।
फुटपाथमा बटुवा ठोक्किने गरी जडित फायर हाइड्रेन्ट मुख बन्द गरेर राखिनुपर्नेमा खुलै राख्दा यसका मुखमा चाउचाउ, जुस, खैनी, पानपरागका खोल कोचिएको देखिन्छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अहिलेसम्म चक्रपथभित्र सिंहदरबार, बबरमहल, अनामनगर, रामशाहपथ, पुतली सडकलगायत राजधानीका घनाबस्ती भएका क्षेत्रको २ सय ५० स्थानमा फायर हाइड्रेन्ट जडान भइसकेका छन् ।
मेलम्ची पाइपलाइन जडान हुने ठाउँको प्रत्येक ५/५ सय मिटरको दूरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ । चक्रपथभित्र थप २ सय ५० स्थानमा फायर हाइड्रेन्ट जडान गर्ने योजना छ ।
उपत्यकामा अन्य स्थानको तुलनामा चक्रपथभित्र घनाबस्ती र आवादी भएको हुनाले पहिलो चरणमा यस क्षेत्रमा मात्र फायर हाइड्रेन्ट जडान गर्न लागिएको हो । थप माग र आवश्यकताका आधारमा अन्य स्थानमा जडान गरिने निर्देशनालयको भनाइ छ ।
निर्देशनालय निर्देशक टीकाबहादुर चौधरीले आगलागीको जोखिमलाई मध्यनजर गर्दै पानी वितरण सञ्जालको निर्माणसँगै फायर हाइड्रेन्ट स्थापनाको कार्यलाई अगाडि बढाइएको बताउँदै फायर हाइड्रेन्टलाई छिट्टै सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
फायर हाइड्रेन्टलाई मेलम्चीको वितरण प्रणालीसँग छिट्टै जडान गरेर, परीक्षण र सञ्चालन गरिने उनले बताए । मेलम्चीको पानी नियमित हुन नसक्दा फायर हाइड्रेन्ट खानेपानीको पाइपलाइनसँग जोड्न नसकिएको चौधरीको भनाइ छ ।
हिउँदमा मेलम्चीको पानी वितरण गरिए पनि पानीको आवश्यक तह पुग्न नसक्दा फायर हाइड्रेन्ट खानेपानी पाइपलाइनमा जडान हुन नसकेको हो । पाइपभरि पानी आएका बेलामा मात्र‘फायर हाइड्रेन्टमा पानी पुग्न सक्छ । आवश्यक तहभन्दा अलिकति पनि पानी कम भएको अवस्थामा फायर हाइड्रेन्टमा पुग्न सक्दैन ।
‘फायर हाइड्रेन्ट’ अन्तर्राष्ट्रिय अभ्यास
सहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि फायर हाइड्रेन्ट प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी रहेको बताए ।
तापमानमा भइरहेको वृद्धि र आगलागीको जोखिम बढ्दै गइरहेको अहिलेको अवस्थामा काठमाडौँ जस्तो घनाबस्ती रहेको सहरमा फायर हाइड्रेन्ट यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
सापकोटाले भने, ‘फायर हाइड्रेन्टबाट दमकलका लागि सहज रूपमा पानी निकाल्न सकिने हुँदा बजार क्षेत्रमा कुनै आगलागीका घटना भए समयमै निभाउन सकिन्छ । बजार क्षेत्रको नजिक कमै मात्र खुला पानीका स्रोत हुन्छन् । यसकारण फायर हाइड्रेन्ट जडान गर्नु अति आवश्यक हुन्छ ।’
उनका अनुसार आगलागीलगायतका विपत् व्यवस्थापनका लागि मात्रै उपयोग गरिने फायर हाइड्रेन्ट आगलागी नियन्त्रण गर्न प्रयोग गर्न मिल्ने विशेष संरचना हो । ‘सहरी क्षेत्रमा फायर हाइड्रेन्ट निकै आवश्यक प्रविधि मानिन्छ । सहरका सबैजसो भागमा यस्तो प्रविधि जोड्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ’, सापकोटाले भने ।
गोरखापत्र दैनिक