११ माघ, काभ्रे
जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसो (८ माघ)देखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार (१० माघमा) सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।
आगलागी पश्चात बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।
आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् । ‘हामीले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ’, उनले भने ।
खानीखोला गाउँपालिका–१ थामलेकडाँडास्थित सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले त्यसतर्फ पठाइएको नसेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।
डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी सुरू भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयले जनाउँदै आएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न गएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालय प्रमुख कृष्णबहादुर थापाले बताए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकले वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासंघसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानूनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले नेपाली सेना तथा प्रहरीका विभिन्न युनिटको टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए । ‘उहाँहरूले सोहीअनुसार कार्य गरिरहनुभएको छ, आगलागी थप फैलिरहेको भन्ने सूचना आएको छ, सुरक्षा निकायसहित हामी त्यसप्रति संवेदशील छौँ’, उनले भने ।
आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि अन्य सरोकारवाला निकाय (गृह मन्त्रालय)सँग थप समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए ।
पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जंगली जनावरको बासस्थान रहेको महाभारत जंगलमा आगलागी भइरहेको हो । बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउको माथिल्लो क्षेत्रमा लागेको आगलागी मानवबस्तीबाट करिब ४ किलोमिटरको दूरीमा रहेको जनाइएको छ ।
रासस