६ माघ, बाँके
राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना सुरूआत गरिएको छ ।
मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ती नदीबाट गणना सुरू गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।उनका अनुसार प्रत्येक वर्षझैँ यसपटक पनि राप्ती नदीबाटै जलचराको गणना थालिएको हो । ‘यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन्’, कँडेलले भने ।
गणनाका क्रममा पहिलो दिनमै (शनिबार) विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् । चरा गणनाका लागि राप्तीमा पुगेका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै गइरहेको बताए ।
नदी, सिमसार क्षेत्र तथा जलासयमा मानवबाट हुने गतिविधिले गर्दा चराको बासस्थान लोप हुन पुगेको उनको भनाइ छ । ‘खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले चराको बासस्थान लोप हुँदै गइरहेको छ’, उनले भने ।
विगत ३ वर्षदेखि हरेक हिउँद याममा चरा गणना गरिँदै आएकामा यस वर्ष पनि यो कार्यलाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताए । उनका अनुसार बाँकेका नदी, सिमसार क्षेत्र तथा जलाशयमा समेत आगन्तुक चराको बासस्थान पाइएको छ ।
चराको बासस्थानमा निर्माणकार्य, जथाभावी विषादीको प्रयोग, मानिसको बढ्दो आवतजावतले चराको बासस्थान लोप भएर संख्या घट्दो रहेको संरक्षणकर्मी चौधरीले बताए । ‘मानवीय गतिविधिका कारण चरको बासस्थानमा धेरै नै अवरोध हुँदै गइरहेको छ’, उनले भने, ‘हामी संरक्षण गर्नेहरू मात्र नभई स्थानीय र नदी वरपर बस्ने रैथाने पनि सजग हुन आवश्यक देखिन्छ ।’
चराविज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी, सुरक्षाकर्मीलगायत टोली राप्ती नदीमा चरा गणनाका लागि परिचालित छ । उक्त टोलीले बाँकेमा बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र तथा जलाशयमा पुगेर चरा गणना गर्ने छ ।
गणनाका क्रममा नेपालगञ्जस्थित कान्ति ताल, बैजनाथको सुतैया ताल, बर्दियाका सीमाक्षेत्र मानखोलालगायत स्थानको अवलोकन हुने चराविद् शाहीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित कान्ति तालमा संरक्षित पक्षी सारसको समेत बासस्थान छ ।
रासस