६ माघ मोरङ
सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा (बच्चा)सहित गाउँमा आएको थियो ।
सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतंकित नहुन र सकेसम्म हात्तीबाट सुरक्षित रहन आग्रह गरेका छन् । ‘हामी जंगल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ’, उनले भने, ‘नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।’
नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी हात्ती रहेकाले स्थानीयलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष खेम न्यौपानेले बताए । हात्तीको त्रासका कारण यहाँका स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपरेको उनले उल्लेख गरे ।
सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ । विगत ३ साताअघि सुन्दरहरैँचा–५ गुरूङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको वनमा दाउरा काटेर घर फर्कँदा हात्तीको आक्रमणबाट निधन भयो । एक महिनाअघि सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गंगा श्रेष्ठको पनि हात्तीको आक्रमणबाट निधन भएको थियो ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गरेको मोरङ डिभिजन वन कार्यालयले जनाएको छ । हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको प्रहरीले जनाएको छ ।
सबैभन्दा धेरै झापा र मोरङमा मानवीय, भौतिक एवं बालानालीमा क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा दैनिकजसो हात्तीको हुल देखिने गरेको छ । यसबीच मोरङमा एक वर्षमा २ वटा जंगली हात्ती मृत फेलापरेका छन् । एउटा हात्तीलाई विगत वर्षमा यहाँ गोली हानेर हत्या गरिएको थियो ।
रासस