४ माघ, चितवन
राप्ती र नारायणी नदीमा ३ सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा २ सय ६ र नारायणी नदीमा १ सय ४६ वटा गोही भेटिएका हुन् ।
गत पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो संख्यामा गोही भेटिएका निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । गणनामा निकुञ्जका ९ कर्मचारी र माझीहरू सहभागी भएका थिए ।
गत वर्षको सर्वेक्षणमा राप्तीमा १ सय ५२ र नारायणीमा १ सय १३ वटा गोही भेटिएका थिए । त्यसबेला राप्ती र नारायणीमा ३/३ वटा भाले भेटिएकामा यस वर्ष राप्तीमा २ र नारायणीमा ३ सहित ५ वटा भाले भेटिएका छन् ।
यस वर्ष एउटा भाले नभेटिए पनि समग्रमा संख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि संख्या बढेको सूचना अधिकारी थापामगरले बताए । निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो ।
गत आर्थिक वर्षमा १ सय ५ वटा गोही प्राकृतिक बासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ ।
हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा २ हजार १८ गोही छाडिसकिएका छन् । हाल प्रजनन केन्द्रमा ७ सय ३९ गोही छन् ।
घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।
सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको थियो । सन् १९७० मा त्यसको २ प्रतिशत मात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यसबेला देशभर एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो ।
नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए । साथै, बाढी आउँदासमेत गोही बगेर भारततर्फ जाने गरेका छन् ।
रासस