Tuesday, January 7, 2025

पक्षीका प्रजातिको अभिलेख राख्नेमा श्रेष्ठ उत्कृष्ट

१८ पुस, काठमाडौं
विगत एक वर्षको अवधिमा नेपालका पक्षी र पक्षीका प्रजातिको अभिलेख राख्ने शीर्ष स्थानमा भक्तपुरका सञ्जय था श्रेष्ठ रहेका छन् ।

सन् २०२४ मा उनले काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगहरूमा ६ सय ३३ प्रजातिका पक्षीको अभिलेख गरेका छन् । चराहरूको तथ्यांक अध्यावधिक गर्दै सार्वजनिक गर्ने अनलाइन सञ्जाल इ–बर्ड नेपालले श्रेष्ठसहित १० उत्कृष्ट पक्षी अनुसन्धाता एवं अवलोकनकर्ताहरूको नाम र उनीहरूले अभिलेख गरेका पक्षीका प्रजातिको संख्या सार्वजनिक गरेको हो ।

इ–बर्ड विश्वभरका पक्षीहरूको तथ्यांक अध्यावधिक तथा भण्डारण गर्दै सरोकारवाला माझ सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म हो । यो प्लेटफर्ममार्फत चरा अवलोकनकर्ता र नागरिक वैज्ञानिकहरूले आफूले देखेर, सुनेर वा तस्बिर खिचेर पहिचान गरेका चराहरूको तथ्यांक सार्वजनिक हुने गर्छ ।

इ–बर्डमा हरेक दिन प्रयोगकर्ताले आफूले देखेका/पहिचान गरेका पक्षीहरूको तथ्यांक अध्यावधिक गर्दछन् । जसलाई समीक्षकहरूले तथ्य परीक्षण गर्दै सार्वजनिक गर्छन् ।

गत वर्ष (सन् २०२३ मा) चितवनका चरा विज्ञ शंकर तिवारी यस्तो अभिलेख राख्ने शीर्ष स्थानमा थिए । उनले गत वर्ष ६ सय २४ प्रजातिका पक्षीहरूको अभिलेख गरेका थिए ।

यसपटक शीर्ष १० स्थानमा श्रेष्ठ, तिवारीसँगै क्रमशः दीपक बुढाथोकी, युविन श्रेष्ठ, विष्णु थापा, प्रताप गुरूङ, मनशान्त घिमिरे, राजेन्द्र गुरूङ, संयम रूम्बा र प्रसन श्रेष्ठ रहेका इ–बर्ड नेपालले जनाएको छ ।

उनीहरूले क्रमशः ६ सय १७, ५ सय ६७, ५ सय २७, ५ सय १६, ४ सय ८८, ४ सय ८१, ४ सय ७७, ४ सय १९ र ४ सय १७ प्रजातिका चराहरू अपडेट गरेका इ–बर्ड नेपाल राष्ट्रिय संयोजक मनशान्त घिमिरेले जानकारी दिए । उनका अनुसार प्रयोगकर्ताहरूले नेपालका विभिन्न भेगका विवरण अध्यावधिक गरेका छन् ।

इ–बर्ड एप प्रयोगकर्ताले संसारको जुनसुकै कुनाबाट पक्षीको संख्या, प्रजाति, विचरण क्षेत्र लगायतका विभिन्न विवरणबारे जानकारी लिन सक्छन् । नेपालमा इ–बर्डको प्रयोग भएदेखि हालसम्म प्रयोगकर्ताहरूले ८ सय ३९ प्रजातिका पक्षीको विवरण अध्यावधिक गराएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार