Tuesday, January 14, 2025

हात्तीको आक्रमणमा २ दिनमा २ महिलाको निधन

१७ पुस, काठमाडौं
जंगली हात्तीको आक्रमणमा २ दिनको अन्तरमा २ जना महिलाले ज्यान गुमाएका छन् ।

उस्तै प्रकृतिका घटनामा झापा र मोरङमा महिलाको निधन भएको हो । आज दिउँसो झापाको कचनकबल–७ की ३४ वर्षीया केलावती राजवंशीको मृत्यु भएको छ । दिउँसो १२ बजेतिर हात्तीले लखेटेपछि जंगलमै हराइरहेकी उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पतालमा लगिएकोमा उपचारका क्रममा निधन भएको हो ।

राजवंशी स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी थिइन् । हात्तीले लखेटेर उनी बेपत्ता भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जंगलबाट घाइते अवस्थामा उद्धार गरेको थियो ।

उद्धार लगत्तै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पु-याइएको र स्वास्थ्य स्थिति जटिल भएपछि थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार आक्रमणकारी हात्ती अहिले पनि जंगलभित्रै रहेकाले इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थलमा पुगेको छ ।

यही सोमबार मोरङको सुन्दरहरैँचा–५ डिपुमा स्थानीय ६० वर्षीया चन्द्रकला लिम्बूको पनि हात्तीको आक्रमणमा मृत्यु भएको थियो । सोमबार दिउँसो दाउरा लिन घर नजिकैको जंगलमा गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि स्थानीयले खोजी गर्दा मंगलबार विहान जंगलमा मृत भेटिएकी थिइन् ।

ताजा समाचार

सम्बन्धित समाचार