१७ पुस, मकवानपुर
मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको छ ।
४ वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रूम्बा आइतबार राति करिब १० बजे घर नजिकैको बारीमा मृत भेटिएकी थिइन् ।
बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । यी दुई घटनापछि वसन्तपुरवासी त्रसित बनेका थिए । मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार पुस १५ गते सोमबार दिउँसो २ बजेबाट बाघको खोजीका लागि निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका–३ लामिटार वेसबाट नेपाली सेना र ४ वटा हात्ती सहितको टोली खटिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो । घटना भएको क्षेत्रमै बाघ रहेको पाइएको छ । बाघलाई खोजी गर्ने क्रममा मंगलबार साँझ ७ बजेको समयमा मनहरी–५ वसन्तपुरस्थित सुकौराखोलामा डार्ट प्रविधिद्वारा नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए ।
बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिएको छ । मनहरीमा बाघ, हात्तीलगायतका वन्यजन्तुको आतंक विगतदेखि नै छ । चार महिनाअघि मात्रै मनहरी–६ प्रतापुरमा भैंसीले बाघ मारेको थियो । गत भदौ ५ गते मनहरी–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीको प्रतिकारमा परी बाघ मरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वीक्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ । मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ ।
मनहरी गाउँपालिकाको हेटौंडा उपमहानगरसँग सीमा जोडिएको पूर्वीक्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौंडाको १२, १३, १४ नम्बर वडामा आतंक मच्याउँदै आएका छन् ।
रासस