Sunday, January 5, 2025

बिसीएन अध्यक्षमा थापा निर्वाचित

१६ पुस, काठमाडौं
नेपाल पक्षी संरक्षण संघ (बिसीएन)को अध्यक्षमा विमलकुमार थापा निर्वाचित भएका छन् ।

संघको ४२औँ साधारण सभाले उनलाई आगामी ३ वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसअघि प्राध्यापक करणबहादुर शाह यो संस्थाका अध्यक्ष थिए । पर्यटन क्षेत्रमा आवद्ध थापा यसअघि बिसीएन उपाध्यक्ष थिए ।

शनिबार (१३ पुसमा) सम्पन्न साधरणसभाले थापासहित अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरू निर्विरोध चयन गरेको छ । उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सह–सचिवमा क्रमशः सरिता ज्ञवाली, अशोक मल्ल, सुदर्शन कार्की र प्रेमबहादुर बुढा छन् ।

त्यसैगरी, जयनाथ भण्डारी, दीपक श्रेष्ठ, दीकपाल कर्मचार्य, गंगा गुरूङ, महेश पाण्डे र प्रेम थापा कार्यसमिति सदस्य चयन भएका छन् । यो संस्थाका १ हजार बढी सदस्य छन् ।

नेपालका पक्षीका प्रजाति, विचरणको अवस्था, बासस्थान र संख्या सुधार लगायतका क्षेत्रमा अध्ययन/अनुसन्धान गर्ने उद्धेश्यका साथ सन् १९८२मा बिसीएन स्थापना भएको थियो । बिसीएनका प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार नेपालका ३० भन्दा बढी जिल्लाहरूमा संघले आफ्ना गतिविधि गर्दै आएको छ ।

लोपोन्मुख सूचीमा रहेको खरमुजुर र गिद्धका प्रजातिका संख्या सुधार गर्न बिसीएनले विशेष कार्यक्रम गर्दै आएको छ । यी प्रजातिको संख्या र बासस्थान सुरक्षित गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्ययोजना तय गरेको छ ।

दक्षिण एसियामा गिद्धका प्रजातिको संख्या घटिरहेका बेला नेपालमा अभ्यास गरिएका गिद्ध प्रजनन केन्द्र, ‘गिद्ध रेष्टुरेन्ट’ लगायतका संरक्षण पहलले गिद्धका धेरै प्रजातिको संख्या सुधार भइरहेको सरकारी अभिलेख छ ।

गिद्ध लगायत पक्षीका अन्य प्रजाति लक्षित कार्यक्रम संरक्षित वन क्षेत्रहरूमा समेत केन्द्रित रहेको थापाले बताइन् । ‘समुदायको जिविकोपार्जन सहितको संरक्षण अभ्यास गुल्मीको मैदाने र रेसुङा क्षेत्रमा भइरहेको छ’, उनले भनिन् ।

ताजा समाचार

सम्बन्धित समाचार